प्रधानमन्त्री ओलीसँग पौठेजोरी नखेल्न विरोधीलाई सुझाव दिन्छु : श्रेष्ठ

0
Shares

हरिहर नेपाल, विराटनगर ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौठेजोरी नखेल्न विरोधीलाई सुझाव दिनुभएको छ । मन्त्री श्रेष्ठले ओली मरोस भन्ने जमात पार्टीभित्रै समेत बढ्दै गएको भन्दै बूढो बाघ निडर र साहसी भएकाले कसैको दाल नगल्ने धारणा राख्नुभयो ।

सुनसरीको इनरुवा नगरपालिकामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मुलुकमा संघीयताविरोधी तत्व सलबलाउन थालेको भन्दै राष्ट्रहितका लागि ओलीबाहेकको विकल्प नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आए मुलुकमा संघीयता धरापमा पर्ने दाबी गर्नुभयो ।

“संघीयतालाई कमजोर बनाउनेहरु अहिले प्रधानमन्त्री ओलीविरुद्ध लागेका छन्,” उहाँले भन्नुभयो, “यदि प्रधानमन्त्रीले राजीनामा दिने अवस्था आयो भने संघीयता धरापमा पर्छ ।” श्रेष्ठले प्रधानमन्त्री ओली समयसापेक्ष चल्न सक्ने नेता भएका कारण सहजै परास्त गर्छु भन्ने भ्रम नपाल्नसमेत विरोधी खेमालाई सुझाव दिनुभयो । “केपी शर्मा ओलीलाई सामान्य रुपमा नलिन म आग्रह गर्दछु,” उहाँले थप्नुभयो, “उहाँले देश र जनताका समस्या बुझ्नु भएको छ । जनताको मत पाएर प्रधानमन्त्री भएको व्यक्तिलाई राजीनामा दे भन्नेहरु जनविरोधी हुन् ।”

मन्त्री श्रेष्ठले प्रचण्डको आरोपपत्रको जवाफ ओलीले छिट्टै दिने बताउनु भयो । मन्त्री श्रेष्ठ शहरी बिकास मन्त्रालय अन्र्तगत संचालन भएको योजनाहरुको अनुगमनको क्रममा सुनसरीको इनरुवा आउनुभएको हो । टोलीले इनरुवामा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको थियो । मन्त्री श्रेष्ठले दुवै मृगौला फेल भएर उपचार गराइरहनुभएका पुराना कम्युनिष्ट मजदुर नेता ओम कोईरालालाई बरगाछी स्थित निवासमा पुगेर उहा भेट गर्नुभएको थियो ।