मौरीमा व्यवसायीक बनाउने अभियान

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

मौरी पालन व्यवसायका लागि स्याङ्जा महत्वपूर्ण रहेको भन्दै किसानहरुलाई मौरीका गोला सहित आधुनिक घार अनुदानमा वितरण गर्न थालिएको छ । रेशम विकास कार्यक्रम अन्तर्गत स्याङ्जाका २ सय किसानलाई मौरीमा व्यवसायीक बनाउन अनुदानमा मौरी वितरण गरिएको हो । रेशम खेतीको अबधारणा सगै यो कार्यक्रमले मौरी र च्याउ खेतीमा किसानहरुलाई व्यवसायीकरण गराउन लागेपछि किसानहरुमा उत्साह थपिएको छ ।

यसैगरी जिल्लाको भीरकोट नगरपालिकाले पनि अनुदानमा मौरी घार वितरण गरेको छ । मौरी अनुशासित र कर्मशिल प्राणी हो । इमान्दार र लगनशिलतामा निर्भर रहने मौरीपालक किसानहरुका लागि भीरकोट नगरपालिका र रेशम बिकास कार्यक्रमले सुनौलो अवसर जुटाईदिएको छ । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने व्यवसाय मौरी पालन व्यवसाय हो ।

मौरीको संरक्षण गर्न मात्रै सकेमा यो व्यवसायबाट किसानको मुहार फेरिने कृषि विज्ञहरु बताउदै आएका छन् । स्याङ्जामा बाह्रै महिना मौरीका लागि चरनको उपलब्धता भएकाले यहाँ मौरी पालन व्यवसायलाई महत्वपूर्ण मानिएको छ रेशम विकास कार्यक्रम वालिङका प्रमुख विनोद हमालले बताउनुभयो । भीरकोटले भने यो अभ्यास धेरै पहिलेदेखि नै गर्दै आएको छ । अनुदानमा एक—एक घार दिएर मौरी पालनका लागि सिकाउदै छौ नगरप्रमुख छायाराम खनालले भन्नुभयो,‘मौरी व्यवसायमा किसानलाई आत्मनिर्भर बनाउन यो अभियानको शुरुवात गरिएको छ ।’ मौरीका लागि प्राकृतिक हावापानी राम्रो भएकोले मौरी व्यवसाय फस्टाउन सक्ने सम्भावना देखेर यो कार्यक्रम अगाडी सारेको खनाल बताउनुहुन्छ ।

रेशम विकासले वितरण गरेको मौरी घारमा ५० प्रतिशत नेपाल सरकार र ५० प्रतिशत किसानले व्यहोर्ने गरी वितरण गरिएको छ । पहिलो चरणमा स्याङ्जामा ९६ मौरीका आधुनिक घार सहित शेरना जातको मौरी वितरण गरिएको छ । यो जातको मौरी नेपालको हिमाल, पहाड र तराईमा काम गर्न सक्ने जात भएकाले स्याङ्जामा पनि वितरण गरेको कार्यलयले जनाएको छ । पराग सेचनमा अत्यन्तै छिटो काम गर्ने र धेरै मह उत्पादन गर्ने यो मौरी जाडो र घाम दुवै सहन सक्ने प्राणी हो ।

२०४२ सालबाट रेशम खेतीको मात्रै काम गर्दै आएको रेशम विकास कार्यक्रम कार्यालयले यो आर्थिक बर्षबाट च्याउ र मौरीमा पनि किसानलाई व्यवसायीक बनाउन लागेको हो । रेशम खेती सगै च्याउ र मौरी एक अर्काको परिपुरक व्यवसाय भएकाले यहाँका किसानलाई ३ ओटै उत्पादनमा जोड दिने गरी कार्यक्रम अगाडी बढाएको रेशम विकास कार्यक्रम कार्यालय वालिङ स्याङ्जाका प्रमुख हमाल बताउनुहुन्छ । यो कार्यालय गण्डकी प्रदेशका ११ ओटै जिल्ला हेर्नेगरी कृषि स्रोत विकास केन्द्रमा बिस्तार भएको छ हमालले भन्नुभयो,‘बिस्तारै गण्डकी प्रदेशलाई अन्नवालीको व्यवसायीकरणमा लाग्ने छौं ।’ जसले गर्दा स्याङ्जा लगायत प्रदेश नै कृषिमा आत्मनिर्भर हुने विश्वास गरिएको छ ।

मौरीका घारले आफूहरुलाई व्यवसायीकता तर्फ उन्मुख गर्नेमा ढुक्क रहेको किसानहरुले बताएका छन् । उता भीरकोट नगरपालिकाले मौरीको पकेट क्षेत्र नै निर्धारण गरी यो व्यवसाय प्रवद्र्धनमा लागिपरेको छ । मौरीको ज्ञान नहुदा यो व्यवसायको चासो थिएन स्थानीय कृषक नन्दलाल खनालले भन्नुभयो,‘अब यसको महत्व र उत्पादनबारे सिक्दै जानेछौं ।’ मौरी बालक देखि बृद्ध सम्मले पाल्न सक्ने र मौरीबाट उत्पादन हुने मह बालक देखि बृद्ध सम्म उपयोगी हुनाले पनि मौरी प्रति पछिल्लो समय आकर्षण बढ्दै जान थालेको छ । कृषि प्रति किसानलाई आकर्षण बढाउन भीरकोट नगरपालिका र रेशम बिकास कार्यक्रमले ल्याएको अनुदानको उपयोगिता हुनु जरुरी छ । सरकार र किसान विचको साझेदारी अभियानले पक्कै पनि व्यवसायमा अपनत्व हुन्छ भन्ने विश्वास लिइएको छ । यसको अधिकतम फाईदा उठाई किसानले लाभ लिने विश्वास कार्यालयको छ ।