रुसी कोरोना खोप ९५ प्रतिशत प्रभावकारी, मूल्य करिब १० डलर


मस्को (एजेन्सी) ।

कोरोना भाइरस विरुद्ध रुसले विकसित गरेको कोविड १९ खोप स्पुतनिक भीको पहिलो डोज परिक्षण गरेको ४२ दिनपछि ९५ प्रतिशत भन्दा बढी प्रभावकारी प्रमाणित भएको दावी गरिएको छ ।

रुसको राजधानी मस्को स्थित द गेमेलिया नेसनल सेन्टर अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले उक्त दावी गरेको हो । खोपको पहिलो डोज २८ दिन पछि स्पुतनिक भी क्लिनिकल परीक्षण डाटामा ९१ दशमलव ४ प्रतिशत प्रभावकारिता प्रमाणित भएको थियो । त्यसपछि ४२ दिनमा खोपको प्रभाव बढेर ९५ प्रतिशत भन्दा बढी देखिएको गेमेलियाले जनाएको छ ।

रुसी प्रत्यक्ष निवेश कोष  (आरडीआईएफ)का अनुसार खोपको मुल्य आगामी हप्ता सार्वजनिक गरिनेछ । सामुहिक अर्थात ठुलो परिमाणमा परीक्षण अघि नै स्पुतनिकलाई आधिकारिक रुपमा पन्जिकृत गरिएको यियो । रुस अगस्ट मा कोविड १९ खोपको नियमक स्विकृति दिने पहिलो देश बन्यो ।

रुसले अगस्टमा स्पुतनिक भीलाई मान्यता प्रदान गर्यो । यो खोपको डोज रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीले पनि लिएकी थिइन् । अन्य खोपको तुलनामा स्पुतनिक खोपको मुल्य कम हुने रुसले घोषणा गरेको छ । रुसले अर्को बर्ष सम्ममा आफनो र अन्य देशका लागि १ खर्ब डोज उत्पादनको लक्ष्य राखेको छ ।

यो खोपलाई गेमेलिया नेसनल रिसर्च सेन्टर र रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)ले संयुक्त रुपमा विकसित गरेको हो ।

मंगलबार यो खोपको अनुमानित मुल्य सार्वजनिक भएको छ । रुसका नागरिकलाई यो खोप निशुल्क उपलब्ध हुने बताइएको छ । विश्वका अन्य देशका लागि यो मुल्य करिब १० डलर पर्ने बताइएको छ । विदेशमा खोपको उत्पाडन र प्रवद्र्धनको काम हेरिरहेको आरडिआईएफका प्रमुख किरिल दिमित्रियवले स्पुतनिक भीको मुल्य अन्य खोपको तुलनामा निक्कै कम हुने बताए ।

आरडीआईएफ र त्यसका पार्टनर खोपको सुखा डोज तयार गरिरहेका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियस तपमानमा पनि सुरक्षित रहने बताइएको छ । यसको तुलनामा फाइजरले विकसित गरेको खोपलाई माइनस ७० डिग्री र मोडेर्नाको खोपलाई सामान्य फ्रिजको तापक्रममा सुरक्षित गर्नु पर्ने बताइएको छ । यसले स्पुतनिकलाई अन्तराष्ट्रिय बजारमा वितरणका लागि धेरै सहज हुने छ । यसमा गर्मी हुने तथा दुर्गम इलाकामा पनि सुरक्षित पुर्याउन सकिने छ ।

यो खोपको पहिलो डेलिभरी अर्को बर्षको जनवरीमा हुनेछ । अन्य जुन देशले यसका लागि आग्रह गरेका छन् ती देशमा पहिलो खेप सन् २०२१ मार्चको सुरुवाटमा उपलब्ध हुने छ ।

खोपको तेस्रो चरणको परीक्षणमा ४० हजार स्वयंसेवकले भाग लिएका छन् । २२ हजार स्वयंसेवकलाई पहिलो डोज दिइएको थियो । १९ हजार भन्दा धेरैलाई पहिलो र दोस्रो डोज दिइएको थियो । उनीहरुमा अहिलेसम्म खतराको कुनै लक्षण देखिएको छैन । स्वयंसेवकहरुमाथि निगरानी अहिले पनि जारी छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप कोभिसिल्ड ७० प्रतिसत प्रभावकारी रहेको बताइएको छ । तर यो ९० प्रतिशत सम्म पुग्न सक्ने बताइएको छ । अमेरिकी औषधी कम्पनी फाइजर र मोडेर्नाले पनि आफनो खोप ९० प्रतिशत भन्दा धेरै प्रभावकारी भएको दावी गरेको थियो ।

मुल्यको तुलना

फाइजरका अनुसार उसको खोपको एक डोजको मुल्य साढे १९ डलर हुनेछ ।

त्यसैगरी मोडेर्नाको मुल्य २५ देखि ३७ डलर हुनेछ र यसको दुई डोजको मुल्य ३९ र ५० देखि ७४ डलर हुने बताइएको छ । सबैभन्दा सस्तो भनिएको कोविसिल्ड एक डोजको मुल्य ७ देखि ८ डलर पर्न आउने बताइएको छ ।