तपाईंको ट्युनिङ कस्तो छ ?



डा. प्रेमराज ढुङ्गेल

परापूर्व कालदेखि वर्तमान समयसम्म शक्तिका लागि संघर्ष हरेक परिवार, समाज, संगठन र सरकारमा व्याप्त देखिएको छ । हरेक व्यक्ति कुनै न कुनै रुपमा सके एक्लै नसके समूह बाँधेर भए पनि अत्यधिक शक्ति आफ्नो पक्षमा सञ्चय गर्न चाहन्छ, सुरक्षित हुनका लागि । तर के अत्यधिक शक्ति सञ्चित भएको अवस्थामा सुरक्षित भइन्छ ? विज्ञानले वर्णन गर्ने प्रकृतिका आफ्नै नियम र अर्थ छन् शक्ति रुपान्तरण, सन्तुलन र सञ्चयबारे । यसलाई विभिन्न कोणबाट हेर्नका लागि फरक परिवेशका केही उदाहरणहरु लिऊँ ।

आफ्नै धुनमा कोठाभित्र छिर्दा त्यहाँ अप्रत्यासितरुपमा एउटा बिरालोले आफ्नो प्रकृतिअनुसारको उपद्रव मच्चाइरहेको देखेर ‘आम्मै बिरालो’ भनेर तपाईँ चिच्याउन सक्नुहुन्छ वा तँलाई आज म ठीक नपारी छोड्दिन भनेर रिसले त्यसमाथि जाइलाग्न सक्नुहुन्छ । पहिलो अवस्थामा बिरालो डराएर झ्यालबाट फुत्त भाग्न सक्छ । दोस्रो अवस्थामा सुरक्षितरुपमा भाग्ने कुनै उपाय नदेखेपछि ज्यान जोगाउन बिरालोले भित्रैदेखि यथाशक्य बल निकालेर तपाईँलाई आक्रमण गर्छ । तपाईँलाई सख्त घाइते पार्छ र तपाईँको ज्यान पनि जान सक्छ ।

तर एक–अर्कामाथि शक्तिको (दुरु)उपयोग गरेर हाबी हुनु नपर्ने तेस्रो अवस्था पनि सम्भव छ । यदि तपाईँलाई बिरालोको प्रकृति राम्रोसँग थाहा छ र यसको संगत गर्नुभएको छ भने त्यसलाई सुरी म्याउँ गर्दै फकाउने गरेर त्यसको राम्रोसँग व्यवस्थापन गर्न सक्नुहुन्छ । प्रकृतिको यस सुन्दर सृजनासँग खेल्ने र लुटुपुटु गर्ने मात्र होइन त्यसलाई मुसा तह लगाउन पनि प्रयोग गर्न सक्नुहुन्छ ।

अर्को अलि फरक उदाहरण लिऊँ । हामीलाई मन परेको रेडियो स्टेसन सुन्न मन लाग्यो भने त्यस स्टेसनले प्रसारण गर्ने फ्रिक्वेन्सी (आवृति) मा हामी आफ्नो रेडियोलाई ट्युनिङ गर्छौँ । ट्युनिङ भएपछि त्यो रेडियो स्टेसन सुन्छौँ । मेरो रेडियोले त्यो स्टेसन समात्यो भन्छौँ । ट्युनिङ हुँदा यहाँ त्यस्तो के भएको हुन्छ जुन बेलामा त्यो रेडियो स्टेसनबाट प्रसारण भएको कुरा प्रस्ट र ठूलो आवाजमा सुन्न सक्छौँ, अन्यथा केही पनि सुन्दैनौँ वा नबुझिने गरी झ्यार्र आवाज मात्र आउँछ ? हामी वरिपरि थुप्रै रेडियो स्टेसनबाट प्रसारित विभिन्न फ्रिक्वेन्सीका तरङ्गहरु छरिएका हुन्छन् । हाम्रो रेडियोभित्र पनि विभिन्न फ्रिक्वेन्सीका तरङ्गहरु उत्पन्न गर्ने यन्त्र हुन्छ ।

तर हामी यिनलाई जुनसुकै अवस्थामा सुन्दैनौँ । जब हाम्रो रेडियोले उत्पन्न गर्ने फ्रिक्वेन्सी र कुनै रेडियो स्टेसनबाट आइरहेको फ्रिक्वेन्सी ठ्याक्कै मेल खान्छन् वा बराबर हुन्छन्, ठीक त्यस बेलामा मात्र आवाज प्रस्ट र ठूलो सुनिन्छ । यस अवस्थालाई रेजोनेन्स् (अनुनाद वा अनुध्वनि) भनिन्छ । जतिसुकै गतिलो रेडियो र जतिसुकै शक्तिशाली रेडियो स्टेसन भए पनि दुईवटा फ्रिक्वेन्सी मेल नखाएसम्म हामीले चाहेको रेडियोको आवाज सुन्न सकिँदैन । ती तरङ्गहरु रेजोनेटिङ फ्रिक्वेन्सी (अनुनाद आवृति) मा हुनु अनिवार्य छ ।

ब्रह्माण्डमा रहेका कुनै पनि वस्तुलाई ठोक्यौँ वा त्यसमा बल प्रयोग ग¥यौँ भने त्यो तरङ्गित हुन्छ । त्यो तरङ्गित हुने आफ्नै प्राकृतिक फ्रिक्वेन्सी (आवृति) हुन्छ, जुन त्यसको पिण्ड, आकार र प्रकारमा भर पर्छ । बाहिरबाट जतिसुकै फ्रिक्वेन्सीको तरङ्गले बलपूर्वक कुनै वस्तुलाई तरङ्गित गरे पनि त्यो वस्तु आफ्नै प्राकृतिक फ्रिक्वेन्सीमा कम्पन हुन्छ । तर महत्वपूर्ण कुरा के छ भने, बाहिरबाट त्यस वस्तुलाई तरङ्गित गर्न प्रयोग भएको फ्रिक्वेन्सी त्यसको प्राकृतिक फ्रिक्वेन्सीसँग ठ्याक्कै मेल खायो भने त्यो रेजोनेन्सको अर्थात् पूर्ण ट्युनिङ्को अवस्था हुनजान्छ । त्यस विशेष अवस्थामा त्यो वस्तु उच्च तीक्ष्णताले तरङ्गित हुन्छ र अन्य अवस्थामा सामान्य वा सानो तीक्ष्णताले । वस्तु त्यही हो । यदि त्यसले आफ्नो प्राकृतिक फ्रिक्वेन्सीमा कम्पन हुन पायो भने उच्च तीक्ष्णताका साथ तरङ्गित हुन्छ । तर अन्य अवस्थामा बलपूर्वक कम्पन गराउँदा पनि त्यो नतिजा प्राप्त हुँदैन ।

यही कुरा दुई व्यक्तिहरुमा पनि लागू हुन्छ । यदि मेरो प्राकृतिक रुचि, सोचाइ र व्यवहार अर्कोको स्वभावसँग मेल खायो भने हामी दुईजनाको कस्तो ट्युनिङ मिलेको भन्छौँ । यस अवस्थामा हामी दुईजना सँगै काम गर्दा आनन्द आउँछ र प्रतिफल पनि उच्च निस्कन्छ ।

वर्षाको मौसममा चट्याङ परेर मानिसहरु घाइते भएका र मरेका समाचारहरु आइरहेका हुन्छन् । यस्तो ज्यानमारा चट्याङ कसरी पर्छ त ? आकाशमा पानीका कणहरुबीच घर्षण हुँदा बादलमा ठूलो मात्रामा विद्युतीय चार्ज उत्पन्न हुन्छ र त्यहाँ उच्च भोल्टेज स्थापित हुन्छ । विद्युतीय चार्जको प्रकृति के हुन्छ भने, यो जहिले पनि उच्च भोल्टेजबाट कम वा शून्य भोल्टेजतिर बगेर तटस्थ हुन चाहन्छ । त्यसैले बादलमा रहेको विशाल मात्राको विद्युतीय चार्ज यथाशक्य जमिनमा आउन खोज्छ– भेटेसम्म सजिलो माध्यमबाट । उच्च शक्ति बोकेको यो विद्युतीय चार्जलाई सजिलै बग्न दिने सुचालक माध्यम (तामा, एल्युमिनियम, जिङ्कलगायतका धातु) मार्फत बग्न दिएर जमिनभित्र पु¥याइदिने हो भने यो शान्त हुन्छ र यसले कुनै नोक्सान गर्दैन । तर यस्तो सजिलो माध्यम पाएन भने यो जमिनमा आउने बाटोमा अन्य कुनै वस्तु (मानिस, पशु, घर आदि) जे परे पनि त्यसलाई ध्वस्त पारेर जान्छ ।

यदि कसैले म यसलाई कुचालकको माध्यमले रोक्छु वा छेक्छु भनेर प्रयास गर्छ भने त्यही कुचालकलाई नै यसले खरानी बनाइदिन्छ र वरिपरिका अन्य चीजलाई पनि ध्वस्त बनाइदिन्छ । यसरी विशाल शक्ति बोकेको प्रणालीलाई बल प्रयोग गरेर रोक्न खोज्नुभन्दा यसको प्रकृतिअनुसार प्राकृतिकरुपमा नै बगेर यसको शून्य अवस्थामा जान दिइयो भने कुनै जनधनको नोक्सानी व्यहोर्नुपर्दैन ।

अलि फरक मानवनिर्मित संरचनासँग सम्बन्धित उदाहरण लिऊँ । पुल, भवन, पर्खाललगायतका ठूला–ठूला संरचनाहरु बनाउँदा फलाम वा कंक्रिटका बिमहरु एउटै ढिक्का नबनाएर बीच–बीचमा खालि ठाउँ राखी खण्ड–खण्डमा बनाइएको हुन्छ । रेलगाडी कुद्ने लिक पनि फलामको एउटै लामो ढिक्का नबनाएर खालि ठाउँले छुट्याएर टुक्रा–टुक्रा राखिएका हुन्छन् । ठूला भवनहरु सँगै खडा गर्नुपर्दा ठ्याप्पै टाँसेर नबनाई थोेरै खालि ठाउँ राखेर बनाइन्छ । यी एक्सपान्सन ज्वाइन्ट (प्रसार जोर्नी) भनेर छुट्याइएका भाग खालि वा कुनै नरम तथा लचिलो पदार्थले भरेर राखिएका हुन्छन् । सामान्यरुपमा सोच्दा खण्डित गरेर बनाउनुभन्दा त एउटै ढिक्का बनाएमा त्यो संरचना मजबुत हुन्थ्यो होला नि ? तर होइन । यो त सम्भाव्य दुर्घटनाबाट बचाउनका लागि नियतवश नै गरिएको हो । कुनै कारणले ताप बढेर ती संरचना फुक्नुपर्ने वा दायाँ–बायाँ प्रसार हुनुपर्ने अवस्था आयो भने त्यसको लागि यो ठाउँ राखिएको हो । यदि त्यो फुक्ने ठाउँ प्राप्त भएन भने संरचना आफैँमा बाङ्गिने वा त्यसमा दरार उत्पन्न भएर कमजोर भई भत्किनेछ । यसले दुर्घटना निम्त्याई यसभित्र र वरिपरि रहेका मानिस, अन्य जीव र सम्पत्तिको नाश हुन जान्छ । अझ विनाशकारी भूकम्प आउँदा यी संरचनाहरुको खण्ड–खण्डले छुट्टाछुट्टै स्वतन्त्ररुपले कम्पन हुन पाउनुपर्छ, जसले गर्दा सजिलै फेरि आफ्नै अवस्थामा लचकताका साथ फर्किन सकून् । त्यसो नभएर सबै विशाल संरचनाहरु एकैचोटि कम्पन हुनुपर्छ भनेर बाध्यतापूर्वक एउटै ढिक्का बनायौँ भने स्वभावतः विभिन्न खण्डहरुले आ–आफ्नै दिशा र शैलीमा कम्पन हुनुपर्दा पूरै संरचना नै चिरा–चिरा परेर ध्वस्त हुन्छन् ।

अब यी माथिका उदाहरणमा शक्तिका लागि वा शक्तिका दम्भका कारणले हाल भइरहेको द्वन्द्वका सन्दर्भमा तिनका विभिन्न पात्र वा पक्षहरुलाई विभिन्न भूमिकाहरुमा राखेर विश्लेषण गरौँ । फेरि त्यही पात्रलाई फरक भूमिकामा पनि राखेर विश्लेषण गरौँ, किनकि विभिन्न कालखण्डमा तिनको भूमिका पनि फेरिँदै आएको छ । अनि पहिले घटित भएका र अहिले चलिरहेका घटनाहरुलाई केलाएर तिनबाट निस्किसकेका वा निस्कने नतिजाहरुलाई हेरौँ । के ती विभिन्न भूमिकामा रहेका पात्रहरुले माथिका उदाहरणहरुमा उल्लेख गरेअनुसार प्रकृतिका नियमानुसार शक्तिको सदुपयोग गरेर चलेका छन् वा त्यसको विपरीत गएर पटक–पटक दुर्घटना निम्त्याएका र निम्त्याउँदै छन् ?

ध्रुवसत्य कुरा के हो भने, कुनै पनि वस्तु, व्यक्ति वा प्रणाली प्रकृतिको नियमानुसार चल्यो भने कुनै पनि कार्य सहजरुपमा प्रभावकारिताका साथ सम्पन्न हुन्छ । मुढे बल प्रयोग गरेर त्यसबाट मोडिन वा त्यस विपरीत जानु भनेको क्षणिक सफलता देखिए पनि आफू र अन्य संलग्न सबैलाई विनाशको मार्गमा धकेल्नु हो । मानिस सामाजिक प्राणी भएकाले स्वभावैले उसमा शान्ति, सद्भाव, सहिष्णुता, सहअस्तित्व, करुणा, प्रेमजस्ता कुराहरु छन् । यिनै कुराहरुमा केन्द्रित भएर उसका सबै कार्य स्वाभाविकरुपमा प्रकृति अनुकूल भई सबैका हितका लागि मात्रै हुन्छन् ।

आफूले व्यवहार गरेका मानिसहरुलाई माथि उल्लिखित उदाहरणका सन्दर्भमा राखेर आफैँलाई प्रश्न गरौँ । के मैले आफ्नो मानवीय प्रकृतिअनुसार प्रकृतिको सुन्दर जीव बिरालोसँग उसको प्रकृतिअनुसारको व्यवहार गरेको छु ? के म आफ्नो प्राकृतिक फ्रिक्वेन्सीमा तरङ्गित भएको छु र अरुलाई पनि उसैको प्राकृतिक फ्रिक्वेन्सीमा तरङ्गित हुन दिएको छु ? के मैले अर्को व्यक्तिको प्राकृतिक फ्रिक्वेन्सीमा ट्युनिङ गरी उच्च प्रतिफलका लागि रेजोनेन्स (अनुनाद) को अवस्था सृजना गरेको छु ? या ट्युनिङ नभएर मेरो रेडियो झ्यार्र गरिरहन्छ ? के मैले मसँग सञ्चित क्षणिक बलको अहङ्कारमा बादलमा रहेको प्रचूर मात्राको विद्युतीय चार्जलाई कुचालकको माध्यमले रोक्छु र जमिनमा सहजरुपमा बग्न दिन्न भनेर निषेध गर्ने कोशिश त गरिरहेको छैन ? उच्च चाप, ताप वा विनाशकारी भूकम्प अवश्य आउँछन् भनेर त्यसबाट हुने सम्भाव्य विनाशबाट बच्न र बचाउन ठूला भौतिक संरचनाहरुमा जस्तै आफू र सँगैको अर्कोलाई पनि स्वतन्त्ररुपले कम्पन हुन पाउने गरी के मैले आवश्यक लचकता र खालि ठाउँ राखेको छु ? अथवा मैले दायाँ–बायाँ रहेका ठूला संरचनाहरुलाई आपसमा ठोक्किन नदिन आफ्नो प्रकृति र कर्तव्यअनुसार खुम्चिन र फुक्न सक्ने गरी एक्सपान्सन ज्वाइन्टको पूर्ण भूमिका निभाएको छु ?

कुनै पनि परिवार, संस्था, दल, सरकार वा राष्ट्रले सफलता प्राप्त गर्न त्यसका सबै सदस्यहरुले एउटा मजबुत टिमको रुपमा कार्य गर्नुपर्छ र त्यसको शक्ति रचनात्मकरुपमा प्रयोग हुनुपर्छ । कुनै पनि टिम सशक्त हुनका लागि महत्वपूर्ण कुरा हो– त्यसमा सबै अट्न सक्ने वातावरण । सबै एक–अर्काका लागि परिपूरक हुन्छन्, निषेधित होइन । सबै आवश्यक क्षमता एउटै व्यक्तिमा नहुने भएकोले नै टिम चाहिएको हो, जसमा हरेक सदस्यको भूमिका महत्वपूर्ण हुन्छ ।

त्यसमाथि पनि सबैभन्दा महत्वपूर्ण कुरा हो टिमका सदस्यहरुमा मनोवैज्ञानिक सुरक्षाको अनुभूति, अर्थात् म सुरक्षित छु भन्ने मनमा ढुक्कपना । भौतिकरुपमा जतिसुकै शक्तिशाली र सुरक्षित भए पनि मनोवैज्ञानिक सुरक्षा छैन भने, म सुरक्षित छैन भन्ने मनमा शङ्का वा डर छ भने, त्यो टिम ज्यादै कमजोर हुन्छ र त्यसले वास्तविक सफलता कदापि प्राप्त गर्न सक्दैन ।
(लेखक डा. ढुङ्गेल भौतिक विज्ञानको प्राध्यापन र अनुसन्धान तथा सामाजिक कार्यमा संलग्न हुुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्