स्याङजाका ६ स्थानीय तहमा विद्यालय सञ्चालन

0
Shares

अमृत अर्याल, स्याङजा ।

जिल्लाका ११ मध्ये ६ स्थानीय तहले बन्द रहेको विद्यालय पुनः सञ्चालन गरेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन शुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि हाल कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने तयारीमा जुटेका छन् । लामो समयको अन्तरालमा विद्यालय खुलेपछि विद्यार्थीमा कोरोना संक्रमणको जोखिम भने बढेको छ ।

भिरकोट नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आईतबारदेखि विद्यालय खुलाएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विधि, थर्मलगन चलाउने सीप, स्यानिटाइजर प्रयोग लगायतका बारेमा विद्यालयले तोकेका फोकल पर्सन (शिक्षक) लाई राखी तालिम दिएर विद्यालय सञ्चालनमा ल्याएको हो । ९ वडा रहेको नगरपालिकामा ३८ सामुदायिक र ६ संस्थागत विद्यालय सञ्चालनमा छन् । नगरपालिकाले बिहानको प्रार्थना नगर्ने, एउटा बेञ्चमा दुई जना विद्यार्थी मात्र राख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, टिफिन ब्रेक नगर्ने, भौतिक दूरी कायम गरेर बस्ने भन्दै प्रत्येक विद्यालयलाई सावधानीका साथ विद्यालय संचालन गर्न अनुरोध गरेको छ । यस्तै विद्यार्थीलाई ज्वरो आएमा निको नभएसम्म विद्यालय नआउने व्यवस्थाका लागि फोकल पर्सन तोक्ने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातावरण बनाउने, पाठ्यपुस्तक, कापीकलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिने लगायतका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिइएको नगरप्रमुख छायाराम खनालले बताउनुभयो ।

उता वालिङ नगरपालिकाले भने अहिलेसम्म अवरुद्ध विद्यालय पुनः सञ्चालन गराउने मिति तय गरेको छैन तर पठनपाठनलाई नियमित गराउन अन्तरिक तयारी गरिरहेको जनाएको छ । पठनपाठनलाई सुरक्षित तरिकाले सञ्चालन गराउन भौतिक तथा शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाई निर्देशन दिइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभएको छ । समुदाय स्तरमै कोरोना फैलिएको भन्दै वालिङले १ साताका लागि जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । वालिङमा ७५ सामुदायिक र १३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।

जिल्लाको अर्जुनचौंपारी गाउँपालिकाले कक्षामा न्यून सख्ंयामा विद्यार्थी राखेर यही मङ्सिर ७ गतेदेखि नै पठनपाठन सञ्चालन गराएको छ । पठनपाठनलाई थप प्रभावकारी बनाउन शिक्षा समितिको बैठक समेत बोलाएको थियो । अर्जुनचौंपारीमा ३२ सामुदायिक र ४ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । ३३ सामुदायिक, ४ संस्थागत र १ गुरुकुल विद्यालय रहेको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आँधिखोला गाउँपालिकाले हालसम्म विद्यालय संचालन गरेको छैन् । कक्षा र विद्यार्थीको रोल नम्बरलाई नै जोरबिजोर प्रणाली अपनाएर १० गतेदेखी मात्र पठनपाठन गराईने गाउँपालिका प्रमुख सुधिरकुमार पौंडेलले जानकारी दिनुभयो ।

कालीगण्डकी गाउँपालिकाले पनि एक हप्ताभित्र विद्यालय सञ्चालन गर्ने भएको छ । गाउँ शिक्षा समितिको निर्णयानुसार सबै विद्यालय खुलाउनका लागि प्रारम्भिक स्वास्थ्य मापदण्डलाई आधार बनाईएको गाउँपालिका प्रमुख खिमबहादुर थापाले बताउनुभयो । सो गाउँपालिकामा ३५ सामुदायिक र ४ संस्थागत विद्यालय छन् ।

भदौमा गाउँटोलमै सिकाइ सहजीकरण गरेको फेदीखोला गाउँपालिकाले पुनः असोज देखि निरन्तर पढाइ सञ्चालन गरिरहेको छ । हाल गाउँपालिकाभरका विद्यालयमा भौतिक दूरी कायम गरेर पठनपाठन भइरहेको तथा प्रथम त्रैमासिक परीक्षा संचालन भैरहेको गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताउनुभयो । उक्त गाउँपालिकामा २३ सामुदायिक र ४ संस्थागत विद्यालय छन् ।

बिरुवा गाउँपालिकाले सोमबारदेखि नै विद्यालय सञ्चालन गराएको छ । विद्यार्थीको चापका आधारमा सिफ्ट बनाएर भौतिक दूरी कायम गर्दै मास्क अनिवार्य लगाउने व्यवस्था मिलाएर पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख चुनप्रसाद शर्माले जानकारी दिनुभयो । बिरुवामा ३४ सामुदायिक र ३ संस्थागत विद्यालय छन् ।

हरीनास गाउँपालिकामा विद्यालय सञ्चालन गराउने विषयमा बैठक बोलाइएको छ । अवरुद्ध विद्यालयको पठनपाठन गर्ने या नगर्ने निर्णय कार्यपालिका बैठकबाट फुकाइने गाउँपालिका प्रमुख खिमनारायण मानन्धरले बताउनुभयो । हरीनासमा ३१ सामुदायिक र ५ संस्थागत विद्यालय सञ्चालनमा छन् ।

यस्तै पुतलीबजार नगरपालिकाले पनि पठनपाठन सञ्चालन गराउने तयारी गरिरहेको जनाइएको छ । वैकल्पिक सिकाइ सहजीकरणका लागि विद्यालयलाई कार्ययोजना पेश गर्न भनिएको तथा सोही कार्ययोजनाका आधारमा कक्षा चलाउने गरी तयारी भइरहेको नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षा अपनाउँदै नियमित कक्षा सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । पुतलीबजारमा ६८ सामुदायिक, १६ संस्थागत र १ गुरुकुल विद्यालय सञ्चालनमा छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने चापाकोट र गल्याङ नगरपालिकाले ७ मङ्सिरदेखि विद्यालयमा नियमित रुपमा पठनपाठन गराएको छ । कक्षा सञ्चालनका क्रममा भौतिक दूरी कायम गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि बन्द रहेको विद्यालयलाई पुनः नियमित पठनपाठन सञ्चालन गर्न स्थानीय तहले निर्देशन दिए पनि विद्यार्थी संख्या भने कम मात्र सहभागी हुने गरेको शिक्षकहरुले बताएका छन् । जिल्लाका कतिपय विद्यालयमा अध्ययनरत विद्यार्थी घर गएकाले पनि आउन बाँकी रहेको उनीहरुको भनाइ छ ।