लाज र डरले रोग लुकाउँदै महिला : प्रजनन स्वास्थ्यमा गम्भीर छैनन् स्थानीय सरकार


सिर्जना पन्त, बागलुङ
बागलुङ नगरपालिका–३ खहरेकी कमला कार्कीले १९ वर्षको उमेरमै एकसाथ चार सन्तानलाई जन्म दिनुभयो । शल्यक्रियाबिना एकैपटकमा चार सन्तानलाई जन्म दिने कमला नेपालमै पहिलो महिलासमेत हुनुहुन्छ ।
स्वास्थ्यकर्मीले पुस १४ गतेको समय दिएको भए पनि २०६७ साल मंसिर ३ गते काठमाडांैको थापाथलीस्थित प्रसूति गृहमा कमलाले दुई छोरी र दुई छोरालाई जन्म दिनुभएको थियो । चार सन्तानलाई जन्म दिएको भए पनि अहिले कमलाको साथमा दुई छोरी र एक छोरा मात्र छन् । कमलाले एक सन्तान भने जन्मिएको केही दिनमै गुमाउनुभएको थियो ।
अहिले कमलाका छोराछोरी ११ वर्षका भए, कमला ३० वर्ष । उनीहरुलाई गर्भमा बोकेदेखि जन्म दिँदासम्मका कैयन पीडा कमलाको मानसपटलमा विस्तारै धमिलो बन्दै छन् । तर, एकैपटकमा चार सन्तान जन्माउँदा र हुर्काउँदा थलिएको उहाँको शरीर अहिलेसम्म दरिएको छैन ।
छोराछोरी जन्मिएको एक वर्षसम्म कमलाले उनीहरुको हेरचाहसहित घरभित्रको काम गर्नुभयो । भान्छा, भकारा हुँदै मेलापात र घाँस दाउरा गर्न थालेपछि कमलाको पाठेघरमा समस्या देखिन थाल्यो । ‘अहिले पनि भारी बोक्दा, मेलापात गर्दा पाठेघर बाहिर निस्किए जस्तो हुन्छ’, कमला भन्नुहुन्छ– ‘हरेक साँझ कम्मरभन्दा तलको भाग तातोपानीमा डुबाएर बस्ने गरेको छु ।’
मिति ठ्याक्कै याद नभए पनि केही वर्ष पहिले कमलाले गाउँकै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीसँग आफ्नो समस्या सुनाउनुभएको थियो । स्वास्थ्यकर्मीले कमलाको पाठेघर खस्ने समस्या सेकेन्ड डिग्रीमा भएकाले व्यायाम र आरामले कम गर्न सकिने बताएका थिए । बिहान ४ बजेदेखि शुरु भएर राति ११ बजेसम्म चल्ने कमलाको दैनिकीमा आराम र व्यायामको लागि समय नै थिएन । पाठेघरको समस्या बढ्दै गए पनि त्यसयता कमलाले स्वास्थ्यकर्मीसँग परामर्श लिनुभएको छैन । ‘अस्पतालमा प्रायशः डाक्टरहरु पुरुष मात्र हुन्छन्, भन्न पनि लाज लाग्ने कुरा कसरी देखाउनु ? सुनाउनु ?’, कमला भन्नुहुन्छ– ‘महिला र यौनजन्य परामर्शका लागि स्वास्थ्य संस्थामा महिला नै हुनुपर्छ ।’
जिल्लाको पश्चिम निसीखोला गाउँपालिका–३ बोहोरागाउँकी ८३ वर्षीय टीका रेग्मी १७ वर्षको उमेरमा पहिलोपटक आमा बन्नुभएको थियो । पहिलो, दोस्रो हुँदै २५ वर्षको उमेरमा पाँच सन्तानको आमा बन्नुभयो । उमेर बढ्दै जाँदा पाठेघर खस्ने समस्या शुरु भयो । विगत ८ वर्षदेखि योनीको मुखमा डल्लो आउने समस्या झेल्दै आउनुभएकी उहाँले गाउँमै सञ्चालन भएको स्त्री तथा महिलासम्बन्धी स्वास्थ्य शिविरमा जचाउँदा पाठेघर खस्ने रोगको पहिचान भयो । र, हालसालै उपचार पाएपछि समस्या समाधान गर्न सहज भयो । स्वास्थ्य कार्यालय बागलुङले २०७५ सालमा निसिखोला गाउँपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा लाज र डर मान्दै पुगेकी रेग्मीलाई स्वास्थ्यकर्मीले रिङप्रेसरी राखिदिए । नियमित रिङ राख्ने र औषधी खाएपछि उहाँको पीडा आजभोलि कम हुँदै गएको छ ।
कमला र टीका मात्र होइन, बागलुङ जिल्लामा पाठेघर खस्ने समस्या झेलिरहेका महिलाको संख्या ठूलो छ । आर्थिक वर्ष २०७५÷०७६ स्वास्थ्य कार्यालय बागलुङद्वारा जिल्लाको बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६ सय महिलाको पाठेघरको परीक्षण गरिएको थियो । जसमध्ये ३७ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ र ४० जना महिलाको थ्रड डिग्रीसम्म पाठेघर खसेको हुँदा उनीहरुलाई रिङप्रेसरी राखिएको थियो ।
गत आर्थिक वर्षबाट प्रजनन स्वास्थ्यसम्बन्धी सम्पूर्ण बजेट सीधै स्थानीय तहमा गएको भन्दै स्वास्थ्य कार्यालयले कुनै पनि कार्यक्रम गरेन । त्यसयता आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाका १० स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले मात्र पाठेघर खस्ने, पाठेघरको क्यान्सर पहिचान र पाठेघर तथा अन्य रोगसम्बन्धी शिविर सम्पन्न गरे ।
बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले पाठेघर खस्ने र पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६ सय १२ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २२ जनालाई पाठेघरको क्यान्सर पोजेटिभ देखिएको थियो । ७ जना महिलामा क्यान्सरको लक्षण देखिएको थियो । ९१ जना महिलालाई पाठेघर खस्ने समस्या देखिएर रिङप्रेसरी राखिएको थियो । शिविरमा आएका ४० देखि ९१ वर्ष उमेर समूहका महिलामा पाठेघरको क्यान्सर, खाठेघर खस्ने, धमिलो पानी बग्ने र महिनावारी अनियमिति हुने समस्या बढी देखिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा बताउनुहुन्छ ।
क्यान्सर पोजेटिभ र लक्षण देखिएका महिलालाई शिविरमै क्यान्सरको उपचार हुने अस्पतालका बारेमा जानकारी दिइए पनि उनीहरु उपचार गराउन गए÷नगएको भने स्वास्थ्य संस्थासँग कुनै तथ्याङ्क छैन । ‘शिविरमा भीडभाड हुन्छ, सबैको सम्पर्क नम्बर राख्न सम्भव हुँदैन’, जैमिनी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स सुनीता चालिसेले भन्नुभयो– ‘सल्लाह र परामर्श दिन्छौं, फलोअप गर्ने गरेको छैन ।’
बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्न बजेट छुट्या ए पनि अघिल्लो आर्थिक वर्षमा कार्यक्रम गरेनन् । पाठेघर खस्ने र पाठेघरसम्बन्धी रोग पहिचानसम्बन्धी शिविर गर्न बरेङ गाउँपालिकाले छुट्याएको ६० हजार रुपियाँ फ्रिज भयो । त्यस्तै ताराखोला गाउँपालिकाले प्रजनन स्वास्थ्यसम्बन्धी ६ लाख ३० हजार रुपियाँ बजेट विनियोजन गरे पनि कोरोनाका कारण पाठेघरसम्बन्धी शिविर सञ्चालन गर्न नसकेको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताउनुभयो । निसीखोला गाउँपालिकामा पनि प्रजनन स्वास्थ्यका लागि ५ लाख रुपियाँ बजेट विनियोजन भएको थियो । तर, समयमै कार्यक्रम गर्न नसकेपछि कोरोना रोकथाम तथा व्यवस्थापनमा सोही बजेट खर्च गरिएको स्वास्थ्य शाखा प्रमुख टोपबहादुर चन्दले बताउनुभयो ।
जिल्लाको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाले प्रजनन स्वास्थ्यको क्षेत्रमा बजेट विनियोजन नै गरेनन् । कुनै कार्यक्रमको योजना पनि बनाएनन् । प्रजनन स्वास्थ्यसम्बन्धी विषय गम्भीर भए पनि यसका लागि बजेट विनियोजन गरेर कार्यक्रम नगरिएको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुन बताउनुहुन्छ । ‘यो संवेदनशील विषय हो, यसमा हामीले गम्भीरतापूर्वक काम गर्नुपर्नेछ’, उहाँले भन्नुभयो– ‘हाम्रो मात्र होइन, अरु स्थानीय तहका सरकारको पनि ध्यान पुगेको छैन, सामान्य डर र लाजका कारण रोग लुकाउने अवस्था अन्त्य गर्न सके पनि मातृ तथा शिशु मृत्युदर धेरै हदसम्म रोक्न सकिन्छ ।’
ग्रामीण क्षेत्रका महिलामा चेतना अभावले आङ खस्ने समस्या बढी रहेकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मी गम्भीर बन्नुपर्ने काठेखोला गाउँपालिकाका प्रमुख अमरबहादुर थापा बताउनुहुन्छ । आङ खस्ने कारण र यसबाट बच्ने उपायबारे जानकारी नहुँदा समस्या कायम रहेको भन्दै स्थानीय सरकारले स्वास्थ्यकर्मीसँग मिलेर स्वास्थ्य शिविरसँगै स्वास्थ्य जागरणका कार्यक्रम गर्नुपर्ने अध्यक्ष थापा बताउनुहुन्छ ।
सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउँदा, उमेर नपुग्दै बिहे गर्ने र धेरै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी अवस्थामा यौन सम्पर्क राखेका कारण महिलाहरुमा पाठेघर खस्ने समस्या हुने गरेको धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विषेशज्ञ डाक्टर केशव आचार्यको कथन छ ।
आफ्नो रोग परिवारले थाहा पाए हेंलामा परिने, श्रीमान्को डर र लाजका कारणले महिलाहरुले पीडा सहेर पनि लुकाउने गरेको उहाँको भनाइ छ । पछिल्लो समयमा केही महिला स्वास्थ्य संस्थामा आए पनि सरसफाइमा ध्यान नदिँदा पाठेघरको समस्या निको हुन समय लाग्ने गरेको डा. आचार्यले बताउनुभयो ।