सानालाई ऐन ठूला चयन: मन्त्रीले नै पालना गर्दैनन् कोरोना संहिता


भूपराज बस्याल, स्याङ्जा
कोभिड संक्रमणको उच्च जोखिम रहेको स्याङ्जा जिल्लामा यति बेला जिम्मेवार बहालवाला मन्त्री र पूर्वमन्त्रीले नै त्यसको बेवास्ता गर्दै ठाउँ–ठाउँमा कार्यक्रम गरी समुदायस्तरलाई कोरोना संक्रमणको उच्च जोखिममा पारेका छन् ।
कोरोना संक्रमणको उच्च जोखिम रहेको क्षेत्र काठमाडौंबाट दशैंमा घर आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य हुनुपर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले अहिले भने काठमाडौंबाटै जिल्लाका विभिन्न भागमा पुगेका मन्त्रीहरूको सुरक्षामा खटिएको छ । तिहार मनाउन गृह जिल्ला पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले अवलोकन तथा विभिन्न बहानामा गाउँ–गाउँमा पुगेर सभा गरेपछि शनिबार पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि जिल्लाका केही कार्यक्रममा सरिक हुनको लागि जिल्ला पुग्नुभएको थियो । कोभिड सङ्क्रमित बिरामीको संख्या अत्यधिकरूपमा बढ्दै गएको भन्दै बिहीबार वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको थियो । बिहीबार नगरपालिकाले यस्तो तथ्यांक सार्वजनिक गरे पनि मन्त्री अर्यालले भने शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी मालपोत कार्यालय उद्घाटनमा सरिक हुनुभयो । सोही उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वालिङ नगरपालिका प्रमुख दिलीप प्रताप खाँडले वालिङमा बन्दाबन्दी शुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बस्नेहरुमा भन्दा कात्तिक महिनामा मात्रै सङ्क्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरेको बताउनुभयो । उहाँले सबैलाई घर–घरमा बसेर सुरक्षित हुन आग्रह गरे पनि जिल्लाका सुरक्षा निकायदेखि मन्त्रीसम्म उपस्थित कार्यक्रमले उक्त भनाइलाई गिज्याइरहेको थियो ।
नगर प्रमुखले जनस्वास्थ्य विपद् घोषणा गरी मानिसको भीडभाड हुने स्थानहरु, बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यकबाहेकका सवारीसाधन, सभा–समारोह नगर्न नगराउन अनुरोध गरे पनि उक्त कार्यक्रममा भने ठूलै जमघट रहेको थियो ।
५ करोड ६ लाख २ हजार ३ सय ८४ रुपियाँ ३२ पैसामा दुई वर्ष पाँच महिनामा निर्माण सम्पन्न भएको भवन उद्घाटन गर्दै मन्त्री अर्यालले देशभरका १ सय ३१ मालपोत तथा नापी कार्यालयहरुलाई नमुना बनाइने भन्दै त्यसको शुरुआत स्याङ्जाबाट भएको बताउनुभयो । नापी तथा मालपोत कार्यालयहरुमा प्रविधिको प्रयोग गरिने भन्दै प्रविधिको प्रयोगले सेवा प्रवाह छरितो र भ्रष्टाचारको पनि अन्त्य हुने उहाँको जिकिर थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, जिल्ला समन्वय प्रमुख सीता सुन्दास, वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँण, प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतलगायतले बोल्नुभएको थियो । कार्यक्रममा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मानसमेत गरिएको थियो ।
त्यस्तै शनिबार स्याङ्जा पुग्नुभएका नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पनि जिल्लाका दुई कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । उहाँले स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुनुभएको थियो भने पुतलीबजार नगरपालिका–१४ सतौंचण्डीमा भएको शहीद महेन्द्र शाह को शालिक अनावरण, शहीद महेन्द्र शाह स्मृति पार्कको उद्घाटनमा सरिक हुनुभएको थियो ।
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष प्रदेश माननीय भागवत् प्रकाश मल्लको सभापतित्वमा कार्यक्रम भएको थियो । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरलगायत नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक अध्यक्ष कुमार राना, नेपाली कांग्रेसका महासमिति, नगर तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, तरुणदलका स्थानीय तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरू, भातृसंगठनका प्रमुखहरुको उपस्तिथि रहेको थियो ।
त्यसो त सरकार सरकारले पच्चीस जनाभन्दा धेरै जम्मा नहुन आग्रह गरे पनि त्यसको बेवास्ता गर्दै उच्च पदस्थ नेतृत्वबाट भएको गम्भीर लापरबाहीले ‘सानालाई ऐन ठूला चयन’ उखानको चरितार्थ गरेको छ । यसले कतै नेतृत्व जनताप्रति उत्तरदायी नभएको त होइन भन्ने प्रश्न आम जनमानसमा सिर्जना गरेको छ ।