सरकारको व्यवहार अराष्ट्रिय !


कोरोना महामारीका बेला आफ्नो सरकारले कुनै संरक्षण र सुरक्षा नदिएका कारण ठूलो परिमाणमा नेपाली नागरिक रोजगारीका लागि पुनः विदेशतिर लागेको हृदयविदारक तस्वीर प्रकाशमा आएको छ । कोभिडका बेला सुरक्षा खोज्दै कठिन यात्राका साथ घर आएका नेपाली पुनः विदेशतिरै लागेको सन्दर्भ प्रत्यक्षरूपमा राष्ट्रियतासँग सम्बन्धित छ । राष्ट्रियता भन्नु संरक्षण र अपनत्व हो । जहाँ सुरक्षा र संरक्षण प्राप्त हुन्न त्यहाँ सीधै राष्ट्रियतामाथि आघात पुग्छ ।

के नागरिकलाई आँशु चुहाउँदै कोरोनाको भुंग्रोमा प्रवेश गर्न बाध्य बनाउने सरकारले मुलुकको निर्माणमा नागरिकले दिने योगदानमा अवरोध पु¥याएन ? ती नागरिकले वर्तमान सरकारलाई आफ्नो जीवनभर सम्मानको दृष्टिले हेर्न सक्लान्, राष्ट्रियताका पक्षमा सरकारले भूमिका खेलेको बखान जति गरोस्– पत्याउलान् ?
विगत नौ महिनादेखि नागरिक कोरोना भाइरससँग लडिरहेका छन् ।

सरकारले नागरिकलाई राहत हुने कार्यक्रम ल्याउन सकेन । खास गरी, छिमेकी भारतमा रोजगारीमा गएका नेपालीहरु कोरोना महामारी बढेपछि नदीमा नांगै पौडँदै रातारात आफ्नो देश फर्किए । आपत् पर्दा अप्ठ्यारो पर्दा फर्कने त स्वदेश नै हो । तर, फर्किएका नागरिकहरुलाई सम्बन्धित गन्तव्यसम्म पु¥याउने व्यवस्थापकीय काममा समेत सरकारले ध्यान दिएन ।

महामारीको बेला भारतले रातारात नेपालीहरुलाई सीमानाकासम्म ल्याएर छोड्यो । श्रम गर्न भारत गएकाहरु रोजगारी गुमाएर स्वदेश फर्किए । आफ्नो देशभित्र केही गर्ने अठोट बोकेर आएका नेपालीहरु अन्ततः फेरि रोजगारीका लागि छिमेकी देश भारत जान बाध्य भएका छन् । दैनिकरूपमा सीमानाकामा रोजगारी खोज्न भारत जानेहरुको ताँती देखिन थालेको छ । चाडबाड सकिएसँगै भारत जाने नेपालीको संख्या बढेको छ ।

लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौं नागरिक भारततर्फ लागेका छन् । सरकारले नाका खुला नगरे पनि भारत जाने नेपालीको भीड थेग्न नेपालगञ्ज नाकामा रहेका प्रहरीलाई धौ–धौ भइरहेको तस्वीरसहितका समाचार बाहिर आएका छन् । नेपालगञ्जबाट मात्र दैनिक १ हजारको हाराहारीमा नेपाली भारततर्फ लागेको देखिन्छ ।

कर्णाली प्रदेशका रुकुम, रोल्पा, जाजरकोट, दैलेख, सल्यानका नागरिक यति बेला रोजगारीका लागि भारत गइरहेका छन् । भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा जाने नेपालीको संख्या बढेको छ ।सरकारले समृद्धिको नारा त अगाडि सारेको छ तर कुर्सी तान्न, कमिसनमा ¥याल चुहाउन र जनताका आधारभूत आवश्यकतालाई बेवास्ता गर्न छोडेन ।

देशलाई समृद्ध बनाउने कुरा नारा र भाषणले मात्र सम्भव नहुने उदाहरण अहिले सीमा नाकामा नेपालीहरु रोजगारी खोज्न भारत प्रवेश गरेको दृश्यले देखाउँछ । देशमा तीन तहको सरकार बने पनि नागरिले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुका लागि पेचिलो व्यंग्य बनेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भारतमा जानु उनीहरुको कठोर बाध्यता हो भन्ने नबुझ्नु अराष्ट्रियता हो । जनता नै राष्ट्र हुन् र उनीहरुको अपमान अराष्ट्रियता हो भन्ने सत्य सरकारले बुझेको देखिएन । यसको मूल्य वर्तमान सरकार र यसमा रहेको दलहरुले त बेहोर्नुपर्ने छ नै मुलुकका लागि भने यो अवस्था निकै दुर्भाग्यपूर्ण भएको छ ।