स्वाब संकलन गर्न महानगरले ल्यायो मोबाइल भ्यान


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरले स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । भ्यानले हिजो आइतबारबाट स्वाब संकलन शुरु गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गर्नुभएको हो ।

कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन महानगरपालिकाले मोबाइल भ्यानमार्फत स्वाब संकलन शुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रबाट डिजाइन तथा परीक्षण गरी तयारी अवस्थामा रहेको मोबाइल स्वाब कलेक्सन बुथ हस्तान्तरण कार्यक्रमपछि बोल्दै प्रमुख शाक्यले लकडाउनको शुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको जानकारी दिनुभयो ।

‘पछिल्लो समय यसलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब संकलनको काम शुरुआत गरेका छौं’, शाक्यले भन्नुभयो– ‘यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घरबाहिर निस्केर हामीले स्वाब संकलन गरेको ठाउँसम्म आउन सक्दैनन्, उनीहरुलाई लक्षित गरी यो कार्य अघि बढाएका हौं ।’

उहाँले कन्ट्याक ट्रेसिङमा परेकालाई पनि निःशुल्क उपचार गर्ने जानकारी दिनुभयो । उहाँले संक्रमण संख्या घटाउने गरी सबैलाई सकेसम्म स्वास्थ्य मापदण्डको पालना गर्न पनि आग्रह गर्नुभयो । भ्यान शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले सञ्चालन गर्नेछ ।

प्रविधिमा आधारित यो प्रणालीबाट सुरक्षित सेवा प्रदान गर्न सहयोग पुग्नेछ भन्दै प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो– ‘अनुसन्धान र विकासका क्षेत्रमा प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिइनेछ ।’ सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ ।

‘हरेकको स्वाब लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्वाब लिइएको ठाउँ स्वचालितरुपमा निसंक्रमण हुनेछ’, भ्यानको विशेषता बताउँदै नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा. शंकर ढकालले भन्नुभयो– ‘यसमा जसको स्वाब लिइएको छ, उसैले भिटिएम आइस बक्समा राख्नुपर्नेछ ।’

स्वास्थ्यकर्मीलाई पीपीई लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो । यसअघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीलगायतका संघसंस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेको छ।
भ्यानले प्रशासन विभागका प्रमुख महेश काफ्ले, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत अधिकारीहरुको स्वाब संकलन ग¥यो ।