रहस्यमय मृत्युविरुद्ध दलित सञ्जालको ज्ञापन

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नन्बर-६ का अजय बिक (सुनार) को रहस्यमय मृत्युविरुद्ध दलित सञ्जाल मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।

सञ्जाल मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानालाई ज्ञापनपत्र बुझाएको हो । सञ्जालले घटनाको सत्यतथ्य पत्ता लगाएर अनुसन्धान गर्न माग गर्दै ध्यानाकर्षण गरेको दलित सञ्जाल मकवानपुर संयोजक रामबहादुर नेपालीले बताउनुभयो ।

कार्तिक २५ गते अपराह्न करिब ४ बजे लडेर मृत्यु भएको भनिए पनि घटनाको प्रकृति हेर्दा लडेर नभइ अन्य कारण मृत्यु भएको सञ्जालको ठहर छ । ज्ञापनपत्र बुझ्दै प्रहरी नायब उपरीक्षक रानाले जघन्य घटनामा नेपाल प्रहरी गम्भीर हुँदै आएको र पीडितलाई न्याय दिन गृहकार्य गरिरहेको बताउनुभयो । विशेषगरि अल्पसंख्यक समूह, पिछडिएका वर्गलाई पहिलो प्राथमिकतामा राखेर हेरिरहेको भन्दै छिटो नै सत्यतथ्य पत्ता लाग्ने उहाँको भनाइ थियो ।

मृतक बिकलाई विहान करिब १० बजे स्थानीय बासु उप्रेतीले खेतमा काम गरिरहेको अबस्थामा खेतमा नै गएर मोटरसाइकलमा राखी बिकको घरमा ल्याएर पैसाको बण्डलसहित मनहरीको लोथर बजारतर्फ लिएर गएको, अपराह्न ४ बजे बिकका भाइ गुणराजलाई लोथर बजारबाट यदु श्रेष्ठले फोन गरी तिम्रो दाजुको दुर्घटना भयो भन्ने जानकारी गराएको, निजका भाइ लोथर बजार पुग्दा प्रहरीको सहयोगमा घाइतेलाई भरतपुर मेडिकल कलेज लगिएको र भोलिपल्ट विहान बिक मृतघोषणा गरिएको घटनाले सञ्जाललाई स्तव्ध एवम् मर्माहत बनाएको उल्लेख छ ।

घटनाका विषयमा बुझ्न सञ्जाल प्रतिनिधि घटनास्थल र पीडित परिवारमा पुग्दा सँगै लिएर जाने उप्रेती हालसम्म सम्पर्कमा नआउनु, लोथर बजारको उत्तरतर्फ गाउँछेऊमा रहेको लोथर खोला किनारको घटनास्थलमा रगतका टाटा भेटिनु, स्थानीयका अनुसार घटनास्थलमा अघिल्लो दिन पनि झगडा हुनु, घटनासँग सम्बन्धित कोही सम्पर्कमा नहुनु, मृतकको घडी, मोबाइल, पर्सलगायत व्यक्तिगत सामान साथमा नहुनु, पीडित परिवारलाई रकमसहित मिल्न प्रस्ताव आउनुजस्ता तथ्यले मृत्यु रहस्यमय भएको प्रष्ट हुने सञ्जालले बताएको छ ।

पीडितका तर्फबाट जाहेरी दिँदा जाहेरी दर्ता गर्न ढिलाइ हुनु, पक्राउ पुर्जी जारी भएको धेरै दिनसम्म आरोपी पक्राउ नपर्नुले पीडित परिवार झन् पीडामा परेको भन्दै पत्रमा घटना र मृतकसँग घटना भएको र सोको अघिल्लो दिन सम्पर्क र साथमा रहेका व्यक्तिउपर अनुसन्धान गरी यथाशीघ्र घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरिएको छ ।