१२ वर्षपछि खुल्यो श्रीसदन

आजबाट संग्रहालय खुला


नेपाल समाचारपत्र, काठमाडौं

राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्षपछि उहाँले प्रयोग गर्नुभएको निजीघर श्रीसदन सर्वसाधारणका लागि खुला भएको छ । आइतबारबाट सर्वसाधारणले श्रीसदनभित्र रहेका राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको सबै कक्ष हेर्न पाउने भएका छन् ।

श्रीसदनसँगै हिट्लरले राजा त्रिभुवनलाई उपहार दिएको कार, राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले विशेष समारोहमा प्रयोग गर्ने सवारीसाधन अवलोकन गर्न पाउने भएका छन् ।

त्यस्तै दीपेन्द्र, श्रुति, निराजनले बाल्यकालमा चढ्ने गाडीलगायतका महŒवपूर्ण सामग्री प्रदर्शनीमा राखिएको छ । संग्रहालयले बिग्रिएको अवस्थामा रहेका सबै सवारीसाधन मर्मत गरी प्रदर्शनीमा राखेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री योगेश भट्टराईले आइतबार श्रीसदनको उद्घाटन गर्नुभएको थियो । सो सबै कक्षको अवलोकन गर्दै प्रकृतिप्रेमी राजा वीरेन्द्रको जीवनशैलीको प्रशंसा गर्नुभएको थियो ।

वीरेन्द्रको सयन कक्षको अवलोकन गर्ने क्रममा उहाँले राजाको कपडाबारे चासो राख्नुभएको थियो । खै त उहाँले लगाउने गर्नुभएको कपडा यति नै हो? अरु छैन भन्ना साथ संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले भन्नुभयो– ‘दान दिएका रहेछन्, बाँकी भएका खोजेर राख्यौं ।’

लगत्तै मन्त्री भट्टराईले उहाँले विभिन्न समारोहमा लगाउने गर्नुभएको कपडा खोज्ने व्यवस्था गरी संग्रहालयमा राख्न निर्देशन पनि दिनुभयो ।

अवलोकनपछि आयोजित कार्यक्रममा उहाँले नेपालको इतिहास कसैको दुस्मन नहुने बताउँदै शाहकालीन इतिहासको संरक्षण गर्न राजा वीरेन्द्र र उहाँको परिवार बस्दै आएको श्रीसदन खुला भएको जानकारी गराउनुभयो ।

उहाँले नारायणहिटी संग्रहालय परिसरलाई शाहकालीन संग्रहालय बनाउने योजना तयार पार्न निर्देशन दिनुभयो । उहाँले शाह वंशसँग सम्बन्धित सबै दस्तावेज खोजी गरी संग्रहालयमा राख्नसमेत निर्देशन दिनुभयो ।

उहाँले श्रीसदनमा अवलोकन गर्ने जो कोहीले इतिहासका बारे जानकारी राख्न सक्ने उल्लेख गर्नुभयो । २ सय ४० वर्ष लामो इतिहासको साक्षत् नमुना संग्रहालय भएको बताउँदै यसलाई सबैले अनुसन्धानको थलो बनाउनुपर्ने बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले इतिहास बोकेको शाहवंशीय राजाको विषयमा अध्ययन गर्न संग्रहालयमा सबैलाई आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘आजबाट संग्रहालय खुला भएको छ, इतिहास अध्ययन गर्न र गराउन पर्यटकलाई संग्रहालय घुमाउनु आवश्यक छ ।’

समितिका अध्यक्षसमेत रहनुभएका सचिव कोइरालाले सबै किसिमको स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै संग्रहालयमा प्रवेश गर्ने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो ।

कार्यकारी निर्देशक दाहालले कोभिडका कारण वैशाखमा खुला गर्न नसकिएको जानकारी गराउँदै अब सबै स्वास्थ्य मापदण्ड पूरा गरी संग्रहालय खुला गरिएको जानकारी गराउनुभयो ।

५२ मध्ये ३२ कक्ष खुला भएको र बाँकी कक्ष केही महिनाभित्र खुला गर्ने तयारी भइरहेको बताउँदै कार्यकारी निर्देशक दाहालले भन्नुभयो– ‘केही महिनापछि स्वर्गीय राजा वीरेन्द्रको अध्ययन कक्ष, सिनेमा हल सर्वसाधारणका लागि खुला गर्नेछौं ।’

पुरातŒव विभागका महानिर्देशक दामोेदर गौतमले प्रकृतिप्रेमी राजा वीरेन्द्रले आफूलाई बस्न मिल्नेगरी सुन्दर घर निर्माण गरेको बताउँदै उक्त घर सर्वसाधारणका लागि खुला भएको जानकारी गराउनुभयो । उहाँले संग्रहालय खुलेपछि आन्तरिक पर्यटक वृद्धि हुने बताउनुभयो ।

अब श्रीसदनसँगै ९ महिनादेखि बन्द रहेको नारायणहिटी दरबार संग्रहालय खुला भएको छ । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएदेखि बन्द रहेको श्रीसदन खुला भएको हो ।

२०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उद्घाटन गरे पनि अवलोकनका लागि खुला भएको थिएन । ‘बाटोको समस्या भएका कारण तयारी अवस्थामा रहेको श्रीसदन खुला गर्न सकिएको थिएन । बाटोको व्यवस्था भएपछि खुला गरेका हौैं।’ –कार्यकारी निर्देश दाहालले भन्नुभयो ।

यसअघि २०६९ मा श्रीसदन खुला गर्ने सबै तयारी भएको थियो । करिब ३० लाख रुपियाँ खर्च गरी श्रीसदन व्यवस्थापन गरिएको थियो । २२ वटा सीसीटीभी जडान गरिएको छ ।

सिमेन्ट प्लास्टर मात्र गरिएको सो दरबार कलात्मक छ । कलात्मक प्रवेशद्वारमा ठूलो घण्ट राखिएको छ । तत्कालीन राजा महेन्द्रले छोरा वीरेन्द्रको निजी प्रयोगका लागि निर्माण गरिएको श्रीसदनमा वीरेन्द्र युवराजाधिराज घोषणा गरेकै दिन प्रवेश गर्नुभएको थियो ।

श्रीसदनमा राजा वीरेन्द्रको निजी कोठाको काठको दराजमा आफ्नो सैनिक पोसाक र बुट राखिएको छ । बाथरुममा उहाँले प्रयोग गर्ने सामग्री सजाइएको छ । स्वर्गीय रानी ऐश्वर्यको पूजा कोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भ¥याङ उक्लनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको पेन्टिङ राखिएको छ । निराजनको कोठामा पढाइको रुटिन राखिएको छ ।

करिब ७  सय ५४ रोपनी क्षेत्रफलमा रहेको नारायणहिटी दरबार परिसरभित्र ३ सय १८ रोपनीमा मात्रै संग्रहालय रहेको छ ।  राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप शाहको पालामा निर्माण भएको नारायणहिटी दरबार विसं १९९० सालमा भूकम्पले क्षति पु¥याएको थियो ।

राणा प्रधानमन्त्री वीर शमशेरको कार्यकालमा  हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्म भएको नारायणहिटीको सबै भाग हेर्न अझै केही वर्ष कुर्नुपर्ने देखिएको छ ।

शुल्क बढ्यो
नारायणहिटी संग्रहालय विकास समितिले नारायणहिटी, श्रीसदन र गणतन्त्र स्मारक अवलोकन गर्न शुल्कवृद्धि गरेको छ । संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार नेपाली विद्यार्थीका लागि ५०, सार्क र चिनियाँ नागरिकका लागि ५ सय र अन्य मुलुकका नागरिकको लागि १ हजार रुपियाँ तोकिएको छ ।

त्यसैगरी समितिले ३ घण्टाभन्दा बढी सवारी पार्किङ गरे शुल्क लाग्ने निर्णय गरेको छ । जसअनुसार दुई पाङ्ग्रे सवारीका लागि तीन घण्टाभन्दा बढी समय पार्किङ गरे प्रतिघण्टा २० रुपियाँ, कार र जिपका लागि प्रतिघण्टा ५० र हायस, मिनीबस र बसलाई प्रतिघण्टा सय रुपियाँ तोकेको छ ।

लामो समयसम्म पाकिङ गर्नेका लागि मात्र शुल्क लिने व्यवस्था गरिएको दाहालले जानकारी दिनुभयो । नारायणहिटी संग्रहालय खुला भएको करिब १२ वर्षपछि सबै किसिमको शुल्क वृद्धि गरिएको हो । कार्यकारी निर्देशक दाहालले पर्यटन मन्त्रालयसहितको समितिले शुल्कवृद्धि गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।