अलकायदा नेता अल जवाहिरीको अफगानिस्तानमा मृत्यु


काबुल (एजेन्सी) ।

विश्वका सबैभन्दा कट्टर इस्लामिक सगठन मध्यका एक अलकायदा प्रमुख अयमान अल जवाहिरीको अफगानिस्तानमा निधन भएको छ । उनको मृत्यु प्राकृतिक कारणले भएको अरब न्युज सुत्रले जनाएको छ ।

जवाहिरीलाई अन्तिम पटक सेप्टेम्बर ११ को हमलाको बर्षगाँठमा जारी एक भिडियोमा देखिएका थिए । यद्यपी अरब न्युजले जवाहिरीको मृत्युको पुष्टी गरेको छैन । सन् २००१ सेप्टेम्बरमा अमेरिकी गौरब विश्वकै सबैभन्दा अग्लो ट्विन टावर, वल्र्ड ट्रेड सेन्टर, विश्वकै सबैभन्दा सक्तिशाली रक्षा विभाग पेन्टागन, पेन्सिलभेनियामा अपहरित यात्रुबाहक विमानहरु ठोक्काई भएको भिषण आक्रमणमा अलकायदा संगठन जिम्मेवार मानिएको छ । उक्त संगठनका तात्कालिन प्रमुख तथा इस्लामिक कट्टरपन्थी नेता ओसामा बिन लादेन सन् २०११ मा पाकिस्तानको एबोटाबादमा एक गोप्य अमेरिकी कमान्डो कारवाहीमा मारिएका थिए । लादेनको निधनपछि कमजोर बनेको उक्त संगठनको नेतृत्व अल जवाहिरीले लिएको थियो ।

अरब न्युजले अल कायदाका एक अनुवादकलाई उदृत गर्दै गत हप्ता अफगानिस्तानको गजनीमा जवाहिरीको मृत्यु भएको दावी गरेको हो । उपचारको अभावमा उनको मृत्यु दमका कारण भएको समाचारमा उल्लेख गरिएको छ । पाकिस्तानका एक सुरक्षा अधिकारीले उक्त दावी गरिएको समाचारमा जनाइएको छ । अधिकारीले अब जवाहिरी जीवित नभएको आफुले मानेको बताएका थिए ।

अलकायदाका निकत सुत्रले पनि यसै महिना जवाहिरीको मृत्यु भएको दावी गरेको थियो । ती मध्य केही ब्यक्ती उनको अन्त्यष्टीमा सहभागी भएका थिए । उनलाई स्वास प्रस्वासमा समस्या रहेको र अफगानिस्तानमा उनको मृत्यु भएको सुत्रले बताएको थियो ।

अरब न्युजका अनुसार जवाहिरीको मृत्युले संगठनको नेतृत्वका लागि झगडा हुन सक्ने आशंका ब्यक्त गरिएको छ । यसअघि ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन र अलकायदाका शक्तिशाली नेता अबु मोहम्मद अल मसरीको मृत्यु भइसकेको छ ।

अयमान अल जवाहिरी पेशाले चिकित्सक थिए । उनले कायरो युनिभर्सिटीबाट सन् १९७४ मा चिकित्सासास्त्रको अध्ययन पुरा गरेका थिए । सन् १९७८मा उनले शल्यक्रियामा स्नातकोत्तर पुरा गरेका थिए । उनले तीन बर्ष एक सल्य चिकित्सकका रुपमा इजिप्सियन आर्माीमा विताएका थिए । पछि उनी इस्लामिक बुद्धिजिवीका रुपमा चिनिएका थिए । सन् १९५१ जुन १९ मा इजिप्टको मादीमा उनको जन्म भएको थियो ।

अल जवाहिरीले कम्तिमा ४ पटक विवाह गरेको अनुमान गरिएको छ । उनका पत्नीहरुमा अज्जा अहमेद नोवारी र उमाइमा हसन हुन् । जवाहिरीको ६ सन्तान रहेको बताइएको छ ।