तानसेनमा अव्यवस्थित पार्किङ र सडक हडप्ने प्रवृत्ति नियन्त्रण गरिने

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

लामो समयदेखि अव्यवस्थित सडक र जथाभावि पार्किङ्ग तथा पसल राख्दा सडकपेटी समेत ओगटने प्रवृत्ति देखा परेपछि पाल्पा जिल्ला सदरमुकाम तानसेनमा अव आइन्दा यसो नगर्नका लागि विभिन्न प्रयास गरिने भएका छन । लामो समयदेखि यहा देखिएको अव्यवस्थित पार्किङ् र सडक हडप्ने कार्यलाई व्यवस्थित गरी अनाधिकृत रुपमा यस्तो कार्यलाई निरुत्साहित गर्न गर्न सरोकारवालाहरु सहमत भएपछि अवका केही दिनमा यहाको अवस्था फेरिने अपेक्षा गरिएको छ ।

जिल्ला प्रसासन कार्यालय पाल्पाका अनुसार पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बिहीबार तानसेनमा बसेको बैठकले तानसेन नगरपालिकाले सात दिनभित्र पार्किङ् स्थलको निर्धारण गर्ने र मर्मतसंभार गर्ने निर्णय गरेको छ । वैठकमा भएको निर्णय अनुसार तानसेन नगरपालिकाले पार्किङ् स्थलको व्यवस्थापकीय कार्य गर्नै छ ।

बैठकले पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले तानसेनको सडक अगाडि पसलेले अनाधिकृत रुपमा राखेका सामान तीन दिनभित्र हटाउन अनुरोध गर्दै पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रहरी, ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली बनाएर २०७७ मङ्सिर ७ गतेदेखि तानसेन बजारमा राखेका अनाधिकृत सामान हटाउने र पार्किङ् गरिएको सवारीसाधनको अनुगमन गर्ने र कानुनी कारबाहीमा जाने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

वैठकमा भएको निर्णय अनुसार सवारीसाधनको आवतजावत व्यवस्थित गर्न जेब्रा क्रसिङ्, पार्किङ्क सुबिधा तथा अन्य सुधारको लागि अध्ययन् गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

बैठकमा पाल्पाका प्रमुख जिल्ला अधिकारी न्यौपाने, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, प्रहरी प्रमुख सन्तोषकुमार भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका उपाध्यक्ष थानेश्वर गैरे, ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो समय तानसेनमा अव्यवस्थित रुपमा पार्किङ गर्ने कार्य बढेको, पसल अगाडि व्यापारीले सडक जाम गरेर व्यापार गर्ने गरेको गुनासो देखिए पछि जिल्ला प्रसासन कार्यालयले चासो देखाएको हो ।