‘जनस्वास्थ्य विपद’ घोषणा

0
Shares

अमृत अर्याल,स्याङजा ।

जिल्लाको वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । वालिङ नगर कार्यपालिकाको बिहिबार बसेको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर बृद्धि भएसँगै जोखिम न्यूनिकरणका लागि एकहप्ता बन्द गर्ने निर्णय गरेको हो ।

वालिङस्थित गह«ौं प्राथमिक अस्पतालको ‘¥यापिड रेस्पोन्स टिम’ को बैठकले वालिङमा कोभिड सङ्क्रमित विरामीको संख्या बढ्दै गएकोले १० दिन बन्दाबन्दी गर्न सिफारिस गरेको र नगरस्तरीय कोभिड १९ सङ्क्रमण ब्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद’ घोषणा गरी एकहप्ता बन्द गर्ने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“बन्दाबन्दी शुरु भएको अवस्थादेखि असोजसम्ममा भारत लगायत तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्नेहरुमा भन्दा कात्तिक महीनामा मात्रै सङ्क्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद घोषणा गरी बन्द गरेका हौं” नगर प्रमुख खाँणले भन्नुभयो ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद घोषणा गरी मानिसहरुको भीडभाड हुने स्थानहरु, बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधनहरु, सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

नगरपालिकाभित्र सभा समारोह, धार्मीक एवं सांस्कृतिक कार्यहरुमा २५ जनाभन्दा बढी भेला हुन नदिने र एकहप्ताको अवधिलाई बन्दाबन्दी घोषणा गर्न जिल्ला कोभिड सङ्क्रमण ब्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

त्यस्तैगरी बैठकले वालिङ नगरपालिकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा रहनुभएका सङ्क्रमितहरुलाई कोभिड १९ को लक्षण देखा परिरहेको र विरामीहरुको तत्काल ब्यवस्थापनका लागि कोभिड अस्थायी अस्पतालमा आकस्मिक रुपमा उपचारका लागि औजार तथा उपकरणहरु तत्काल खरीद गर्ने निर्णय समेत गरेको छ ।

वालिङ नगरपालिकामा हालसम्म एकसय ६९ जना सङ्क्रमित भएकामा एकसय ४३ जना निको भएर घर फिर्ता गएका छन् भने हाल २३ जना सक्रिय सङ्क्रमित आईसोलेसनमा रहेका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । हालसम्म वालिङका तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।

“चैत ११ गतेदेखि असोज मसान्तसम्म वालिङमा सङ्क्रमितको संख्या ८४ जना थियो” शाखा प्रमुख पाण्डेले भन्नुभयो, “कात्तिक महीनामा मात्रै समुदायस्तरमा ८५ जनामा कन्ट्याक्ट ट्रेसिङका आधारमा कोभिड पोजेटिभ देखिएकोले भित्रभित्रै अझै बढी सङ्क्रमितहरु हुनसक्ने भएकाले जोखिम न्यूनिकरणका लागि सबैले सहयोग गर्न अनुरोध गर्दछु ।” वालिङ नगरपालिकाले हालसम्म एकहजार ६२२ जनाको पिसिआर परीक्षण गरेको जनाएको छ ।