प्रदेश–१ मा अक्सिजन ग्यासको अभाव

उत्पादक कम्पनीमै छैन सिलिन्डर


नेपाल समाचारपत्र, विराटनगर
कोभिड महामारीअघि भन्दा तीन गुणाले माग बढेसँगै प्रदेश–१ मा अक्सिजन ग्यासको अभाव देखिएको छ । खपतमा वृद्धि भएपछि सिलिन्डरको अभावका कारण अक्सिजनको मागपूर्ति गर्न उत्पादक कम्पनीहरूलाई यति बेला सकस भएको हो ।
कम्पनीहरुले आवश्यकताअनुसार जति पनि अक्सिजन उत्पादन गर्न सक्ने भए पनि सिलिन्डरको अभावमा उनीहरुले सीमित अक्सिजन मात्रै उत्पादन गरिरहेको हिमाल अक्सिजन प्रालिका व्यवस्थापक केदार श्रेष्ठले बताउनुभयो । उपभोक्ताले खालि भएका सिलिन्डर फ्याक्ट्रीमा उपलब्ध गराउन ढिलो गर्दा पनि थप समस्या भएको श्रेष्ठ बताउनुहुन्छ । चीनबाट एक कन्टेनर सिलिन्डर मगाउन १ करोड ५० लाख पर्ने उहाँको कथन छ ।
कोरोना संक्रमण ह्वात्तै बढेपछि संक्रमितहरुको श्वास–प्रश्वास समस्या समाधानमा प्रयोग हुने अक्सिजनको माग आकासिएको छ । दिन–रात उत्पादन गर्दा पनि माग पूरा गर्न नसकिरहेको अक्सिजन उत्पादन गर्ने उद्योगहरुले बताएका छन् । कोरोना कहरअघि भन्दा अस्पतालहरुमा अक्सिजनको माग तीन गुणा बढी बढेको व्यवस्थापक श्रेष्ठको भनाइ छ । खपतमा अत्यधिक वृद्धि भएपछि उत्पादक कम्पनीहरुले बजारको माग धान्न नसक्दा बजारमा ग्यास अभाव देखिएको छ । प्रदेश–१ मा पाँचवटा अक्सिजन उत्पादन गर्ने कम्पनी छन् । यी कम्पनीहरुले औसतरूपमा दैनिक करिब ४५ हजार सिलिन्डर अक्सिजन उत्पादन गरेर बजारमा पठाउने गरेका छन् ।
पछिल्लो समय अक्सिजन सिलिन्डर खोज्न आउनेहरुलाई पनि अन्यत्र पठाउनुपर्ने अवस्था रहेको विनायक अक्सिजन प्रालिकी प्रवक्ता तारा अधिकारीको बताउनुहुन्छ । कोरोना संक्रमित भएका सर्वसाधारणले घर–घरमा अक्सिजनका सिलिन्डर जोहो गरेर राख्न थालेपछि अक्सिजनको माग बढेसँगै बजारमा अभाव देखिएको उहाँको धारणा छ । अन्य बेलाको भन्दा कोरोनाको महामारीले भयावह रूप लिएका बेला श्वास–प्रश्वास समस्याको बिरामी आउने क्रम बढेसँगै अक्सिजनको आवश्यकता बढेको कोशी अस्पताल इमेजेन्सी वार्डका चिकित्सक रघुनन्द अधिकारीको भनाइ छ । चीनबाट सिलिन्डर मगाए पनि आइपुग्न तीन÷चार महिना लाग्ने भएकाले उद्योगीहरुले त्यतातर्फ लगानी नगरेको हुन सक्ने उहाँ बताउनुहुन्छ ।

७८ प्रतिशत कोरोना संक्रमणमुक्त
विराटनगर, (नेस)
प्रदेश–१ मा ७८ दशमलव ५५ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबारसम्म २४ हजार २० जना संक्रमित मध्ये १८ हजार ८ सय ६८ जना डिस्चार्ज भएका हुन् ।
संक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ३ रहेको छ । संक्रिय संक्रमितमध्ये ५ हजार ४ सय ५० होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ७ सय ४० जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ७ सय ३४ र विराट मेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा मंगलबार ५६ जना कोरोना संक्रमित थपिँदा मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या २४ हजार २० पुगेको छ । प्रदेश–१ मा मंगलबार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएकामध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले सार्वजनिक गरेको छ ।
प्रदेशमा हालसम्म १ लाख ७९ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।