ब्राजिल र अर्जेन्टिनाको जित


लन्डन, (एजेन्सी)

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनोट खेलमा ब्राजिल र अर्जेन्टिनाले जितको नतिजा आत्मसात गरेको छ ।

छनोटअन्तर्गत भएको आफ्नो चौथो खेलमा ब्राजिलले उरुग्वेमाथि सहज जित निकाल्दा अर्जेन्टिनाले पनि पेरूलाई पराजित गरेको हो । बुधबार बिहान भएको खेलमा पाहुना टोली ब्राजिलले उरुग्वेलाई उसैको घरेलु मैदानमा २–० गोलले निरास बनायो । घरेलु टोली उरुग्वे खेलको ७१औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । फरवार्ड एडिन्सन काभानीले सोझै रातो कार्ड पाएर मैदान छाड्नुप¥यो । तर, ब्राजिलले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

पाहुना टोली ब्राजिलका लागि खेलको ३४औं मिनेटमा अर्थुर मेलाले लामो दूरीबाट कडा प्रहारमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो खेल पहिलो हाफको ४५औं मिनेटमा युवास्टार रिचार्लिसनले गरेपछि ब्राजिलले पहिलो हाफसम्म २–० को सहज अग्रता बनायो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि खेलमा ब्राजिलको जित सुनिश्चित बन्यो । जितसँगै ब्राजिलले छनोट चरणमा शतप्रतिशत जितलाई कायमै राखेको छ । चार खेलबाट १२ अंक जोडेको ब्राजिल समूहको शीर्ष स्थानमा छ । पराजयपछि ६ अंक मात्र रहेको उरुग्वे पाँचौं स्थानमा छ ।

बुधबार बिहानै भएको अर्को खेलमा अर्जेन्टिनाले पनि आफ्नो चौथो खेलमा पेरुलाई उसैको घरेलु मैदानमा २–० ले नै पराजित ग¥यो । यससँगै अर्जेन्टिना पनि चार खेल सकिँदा छनोट चरणमा अझैसम्म अपराजित नै रहेको छ । खेलमा शुरुआतबाटै आक्रामक खेल पस्किएको अर्जेन्टिनाका लागि खेलको १७औं मिनेटमा निकोलास गोन्जालेजले मैदानको माथिल्लो क्षेत्रबाट शक्तिशाली प्रहारमा उत्कृष्ट ढंगले बललाई जाली चुमाएका थिए । सो गोलमा जिओभानी लो सेल्सोले पास दिएका थिए ।

त्यसपछि खेलको २८औं मिनेटमै अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । यसपटक लौटारो मार्टिनेजले वान भर्सेस वानमा पेरुका गोलकिपरलाई पोस्ट नजिकै बिट गरेर सहजै गोल गरे । उनको गोलमा लियान्द्रो पाराडेसले असिस्ट गरेका थिए ।

त्यसपछि खेलमा दुवै पक्षले गोल गर्न नसकेपछि अर्जेन्टिनाले खेल २–० ले जित्यो । अर्जेन्टिनाले दोस्रो हाफमा पटक–पटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

कप्तान लियोनल मेसी कम्तीमा तीन सहज अवरमा चुके । पछिल्लो समय खराब लयबाट गुज्रिरहेका मेसीले पेरुविरुद्ध पनि
आफ्नो लय भेटाउन सकेनन् । उक्त जितपछि अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेको छ । अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित पेरु मात्रै एक अंक बनाएर नवौं स्थानमा छ । १२ अंक भएको ब्राजिल शीर्ष स्थानमा छ । त्यस्तै, ९ अंक भएको इक्वेडर तेस्रो स्थानमा छ ।