कोरोना खोप र सरकार


कोरोना भाइरसले हालै दुई वरिष्ठ नेपाली चिकित्सकको ज्यान लिएपछि यसलाई सामान्य रुघाखोकी मान्नेहरुमा चेत पस्नु आवश्यक भएको छ । विश्वव्यापी रुपमा मानव अस्तित्वमाथि नै चुनौती बन्दै फैलिएको कोरोना महामारी नेपालीका लागि मात्र सामान्य हुने विषय पनि होइन ।

देशका दिग्गज व्यक्ति, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रपक्तिमा खटेर आफू र आफ्नो परिवारको ज्यान जोखिममा पुग्दासमेत बिरामीको सेवामा अनवरत रुपमा लाग्ने राष्ट्रसेवक सबैको सुरक्षाका लागि पनि हामीले मास्क लगाउनु, बारम्बार स्यानिटाइज गर्नु र सुरक्षाका उपायहरु अपनाउनु आवश्यक भएको छ, सावधानीपूर्ण व्यवहार मात्र पनि आम समाज सेवाको विषय बनेको छ ।

कोरोनालाई सामान्य हो भन्दै परीक्षण नै नगरी आफू, आफ्नो परिवार, छरछिमेक, साथीसंगीहरुलाई संक्रमित बनाउने काम बढिरहेको छ । जसरी स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमण न्यूनीकरणका लागि विभिन्न उपायसहित सुरक्षा अपनाएर आम नागरिकको स्वास्थ्य सेवामा खटेका छन्, नेपाल सरकार र आम नागरिकले पनि त्यसरीनै सचेत भएर यो महामारीको बेला आफू र आफन्तलाई बचाउँछु भन्ने अठोटका साथ सुरक्षा अपनाउनु जरुरी छ ।

विश्वमा अहिले सम्म कोरोना परीक्षण गरी संक्रमित हुनेको संख्या ५ करोड ५३ लाख ६६ हजार ७ सय ३२ पुगिसकेको छ भने परीक्षणको दायरामै नजानेको संख्या आँकलन गर्न सकिने अवस्था छैन । परीक्षणपछि संक्रमण पुष्टि भएर निको हुनेको तथ्यांक ३ करोड ८५ लाख ७ हजार ३ सय ४३ उल्लेख गरिएको छ ।

यसका साथै विश्मा कोरोना संक्रमण पुष्टि भै मृत्यु हुनेको संख्या १३ लाख ३२ हजार ५ सय ६५ रहेको तथ्यांकले देखाइसकेको छ । एउटै रोगबाट संक्रमित र मृत्युको संख्या यति धेरै हुनु साधारण र सामान्य हुनै सक्दैन ।

भारत, पाकिस्तान, बंगलादेशको दाँजोमा नेपालमा कोरोना संक्रमणको विषयलाई नेपाल सरकारका साथै आम नागरिकले गम्भीरतापूर्वक लिएको पाइन्न । नेपालको अवस्थालाई नियाल्दा नेपाल सरकारले पटक–पटक गरी ५ महिना लामो लकडाउन गरे पनि खासै स्वास्थ्य सुधारका क्षेत्रमा गर्नुपर्ने तयारी र जनचेतना फैलाउन नसकेको स्पष्ट हुन्छ ।

नेपालमा हालसम्म कोरोना परीक्षण गरी संक्रमित प्रमाणित हुनेको सख्या २ लाख ११ हजार ४ सय ७५ रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख । तर पछिल्लो समय लकडाउन खुल्ला भएयता कोरोना संक्रमण परीक्षणमै सरकारले अंकुश लगाई शुल्क निर्धारण गरेकै कारण परीक्षणको पँहुचबाहिर रहेका कोरोना संक्रमित नेपालीहरुको सरकारसँग तथ्यांक नै छैन । होम आइसोलेसनमा कति नेपाली बसेका छन्, उसले भन्न सक्तैन ।

विश्वले कोरोना विरुद्धको खोप उत्पादन गरिसक्यो तर नेपालमा भने खोप खरिदका लागि भनेर अर्थ, स्वास्थ्य, पर्यटन मन्त्रालयका ३ सचिवलाई जिम्मा दिएको मन्त्री परिषदको बैठकको बोधार्थ बाहेकका खासै तयारी भएको पाइन्न । नेपालमा खोप खरिद गर्न आवश्यक पर्ने छुट्टै कानुनकै अभाव छ । खोप ल्याउन, भण्डारण गर्न र आम नागरिकलाई प्रदान गर्न पूर्वाधार बनाउने काम ढिला भैरहेको छ । सरकारको तत्काल ध्यान जानुपर्ने आजको अर्को विषय यो पनि हो ।