सय दृष्टिविहीनलाई राहत वितरण


काठमाडौं, (नेस)

चक्रपथ सरसफाइ अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले २६औं चरणको राहत वितरण गर्नुभएको छ । पछिल्लो समय उहाँले बौद्धको हायत होटलअगाडि एक सय जना दृष्टिविहीनलाई राहत वितरण गरेको जानकारी दिनुभयो ।

चितवन माडीका चेपाङ बस्ती बनाउन उहाँले २ लाखभन्दा बढी नगद संकलन पनि गर्नुभएको छ । चेपाङहरुको बस्तीमा सरकारले नै आगो लगाएर ध्वस्त पारेको र आफूले सो पीडा सहन नसकेर उनीहरुका लागि सहयोग गर्न रकम संकलन गरेको उहाँले बताउनुभयो । नौवटा घरका लागि चाहिने काठ आफूले किनिदिने उहाँको भनाइ छ । विभिन्न चरणमा गरेर उहाँले १० लाखभन्दा बढी राहत वितरण गरेको बताउनुभयो ।

रिक्सा चालकबाट शुरु कुँवरको यात्राले विश्राम लिएको छैन । समयले साथ दिएमा राजनीतिमा होमिने विचार बोकेर समाजसेवा गर्दै आएको कुँवरले जानकारी दिनुभयो । समाजसेवाका हरेक क्षेत्रमा अगाडि बढ्दै आउनुभएका कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनदेखि नै राहत स्वरुप चामल, दाल, चिनी, लुगालगायतका सामग्री वितरण गर्दै आउनुभएको छ ।

पछिल्लो समयमा राहत वितरणलाई स्थगित गरेको भन्दै आउनुभएका उहाँले दृष्टिविहीनहरुमा ठूलो समस्या भएकाले राहत वितरण गर्नुपरेको बताउनुभयो । उहाँले २६औं चरणमा गरी १ हजार ६ सय ५० जनालाई राहत उपलब्ध गराइसक्नुभएको छ ।

लकडाउनमा उपत्यकामा रगतको अभाव हुन थालेपछि विभिन्न संघसंस्थाको सहयोगमा पाँचपटक रक्तदानको आयोजना पनि गर्नुभयो, जसमा १ सय ६३ पाउन्ड रगत संकलन भएको थियो । अहिलेको कार्यक्रम हजुरलाई नमस्ते फाउन्डेसनले आयोजना गरेको हो, कुँवर नै सो फाउन्डेसनको अध्यक्ष हुनुहुन्छ ।