विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई


नेपाल समाचारपत्र, काठमाडौं

कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहलाई तोकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचामा स्थानीय तहलाई विद्यालय खोल्न दिने अधिकार दिएको हो ।
अब स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्न सक्ने भएको छ ।

यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुने गरेको थियो । कार्यढाँचा पारित भएपछि अब विद्यालय सञ्चालन गर्न बाधा पर्नेछैन ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तहले अवस्था हेरेर विद्यालय खोल्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कार्यढाँचा सार्वजनिक भएको छ, त्यसलाई आधार मानेर कोभिडको अवस्था मध्यनजर गरी विद्यालय खोल्न सक्नेछन् ।’ कार्यढाँचा आउनुअघि केही स्थानीय तहले विद्यालय खोलिसकेका थिए ।

कार्यढाँचा आएपछि अन्य स्थानीय तहले विद्यालय खोल्ने तयारी गरेका छन् । कार्यढाँचामा विभिन्न संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी तोकेर विद्यालय खोल्ने उल्लेख गरेको छ । विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई भए पनि अहिलेकै अवस्थामा उपत्यकामा विद्यालय खोल्न सक्ने अवस्था देखिएको छैन ।

असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोही आधारमा मन्त्रालयले कार्यविधि तयार गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहलाई अधिकार दिएर विद्यालय खोल्ने व्यवस्था गरेको हो ।

मन्त्रालयका प्रवक्ता शर्माले संक्रमण नभएका, कम भएका र बढी भएका विद्यालयको अवस्थाबारे अध्ययन गरी खोल्ने निर्णय स्थानीय तहले पाइसकेको जानकारी गराउनुभयो ।

लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । सरकारले वैशाख १ गतेबाट गणना हुने गरी शैक्षिकसत्र लागू गरेको थियो । सोहीअनुसार सबै विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् ।

कार्यढाँचामा स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई विद्यालय जान मानसिकरूपमा तयार पार्नुपर्ने जिम्मा स्थानीयतहलाई दिइएको छ ।

सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायतका पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने, अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्नेलगायतका विषयवस्तु समावेश छ ।

त्यस्तै विद्यालय जाँदा, विद्यालयमा रहँदा वा घर फर्कंदा एवं घरमा पुगेपछि पालना गर्नुपर्ने नियमहरू तयार गर्ने उल्लेख छ । त्यसको अनुमगन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ ।

विद्यालय खोल्नु १५ दिनअघि विद्यार्थीलाई जानकारी गराउने, विद्यालयमा निर्मलीकरण गर्ने, बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या आएमा वा कोभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा लक्षणहरू देखा परेमा तत्काल अभिभावक वा घरपरिवारलाई जानकारी गराउने, महामारीको जोखिममा रहेका बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा जँचाएपछि मात्र विद्यालयमा आउने गरी पहिले नै सूचित गर्ने र विद्यालयमा ज्वरो परीक्षण गर्ने व्यवस्था कार्यढाँचामा उल्लेख छ ।

कार्यढाँचामा फरक समयमा कक्षा वा तह सञ्चालन गर्ने, खुल्ने तथा कक्षा सञ्चालनको अवधिर घन्टी छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले जोखिम र सहजतालाई हेरी कक्षा शुरु गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने लेखिएको छ ।

विद्यालय प्रशासनले शिक्षक, विद्यार्थी र कर्मचारीको भौतिक दूरी कायम हुने गरी कक्षाकोठा, शौचालय, पिउने पानी राख्ने क्षेत्रमा एक मिटरको दूरीमा गोलो घेरा बनाउने र सोको पालना गर्न आचारसंहिता तयार गर्नुपर्नेछ ।

कार्यढाँचामा न्यूनतम १ मिटरको भौतिक दूरी कायम हुने गरी कक्षाकोठामा विद्यार्थीहरूको बसाइ व्यवस्थापन गर्नुपर्ने, सवारीसाधनले ५० प्रतिशत मात्रै विद्यार्थी बोक्ने, अर्को पटक विद्यार्थी बोक्दा सवारीसाधनलाई पूर्णरुपमा निर्मलीकरण गर्नेलगायतका विषय उल्लेख छ ।