स्वाब संकलन गर्न महानगरको मोबाइल भ्यान


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरपालिकाले स्वाब संकलन गर्न उपकरणसहितको मोबाइल भ्यान प्रयोग गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले तयार गरेको उपकरणजडित मोबाइल भ्यानले स्वाब संकलन गर्ने व्यवस्था गरेको हो ।

सरकारले निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरेपछि काठमाडौं महानगरपालिकाले स्वाब संकलन गर्न मोबाइल भ्यान प्रयोगमा ल्याउन लागेको हो । सम्भवतः आइतबारबाट सो भ्यानले स्वाब संकलन गर्नेछ । कामपाले सवारीसाधन उपलब्ध गराएपछि त्यसमा नास्टले प्रविधि प्रयोग गरेको हो ।

कामपा कोभिड सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले कन्ट्रयाक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका अशक्त, वृद्धवृद्धा बिरामीलाई मोबाइल भ्यानबाट स्वाब लिइने व्यवस्था गरिने बताउनुभयो । सो भ्यानमा स्वाब संकलन गर्न केही स्वाथ्यकर्मी रहने उहाँको भनाइ छ । उनीहरुले भ्यानमार्फत घरघरमै पुगेर स्वाब संकलन गर्नेछन् ।

सुरक्षित र भरपर्दौ प्रविधि प्रयोग गरी भ्यान तयार पारिएको कामपाका जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘नास्टले विशेष प्रविधि प्रयोग गरी तयार गरेको सो भ्यान विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयार भएको हो ।’ नेपालमा सो प्रविधि र उपकरण जडान गरी स्वाब संकलन गर्न भ्यान बनाउने अधिकार नास्टलाई मात्र भएको उहाँको भनाइ थियो ।

झन्डै एक लाख संक्रमित रहेको उपत्यकामा कामपाले मोबाइल भ्यानबाट स्वाब संकलन कार्य शुरु गर्न लागेको हो । यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही अस्पतालले आफ्नै मोबाइल भ्यानबाट स्वाब संकलन गरिरहेका थिए ।

कामपा र नास्टबीच मोबाइल भ्यान निर्माण गर्ने दुईपक्षीय सहमति भएपछि महानगरक्षेत्रमा अशक्तलाई भ्यानमार्फत स्वाब संकलन गर्न लागेको हो । भ्यान तयार गर्न करिब ५ लाख रुपियाँ खर्च लागेको कामपाको भनाइ छ ।

उता उपत्यकाका काठमाडौं र ललितपुर महानगरले कोरोना परीक्षणलाई तीव्रता दिने तयारी गरेको छ । दुवै महानगरले लक्षण देखिएकाहरुको मात्र परीक्षण गर्ने तयारी गरेको छ ।

परीक्षणको संख्या घटाइएको कारण उपत्यकामा संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । सरकारले ५० जना संक्रमितको मात्र परीक्षण गर्न निर्देशन दिएको थियो । दैनिक झन्डै ५ सयको हाराहारीमा परीक्षण हुने महानगरमा ५० जनाको मात्र परीक्षण गर्नुपर्ने भएपछि कामपा पछि हटेको थियो ।

तर पुनः परीक्षण संख्या बढाउने विषयमा सहमति भएपछि कामपाले परीक्षणको संख्या बढाउने भएको हो । कामपा जनस्वास्थ्य विभाग प्रमुख कँुवरले अब परीक्षणको दर बढाउने तयारी भइरहेको बताउनुभयो ।

ललितपुर महानगरकी कोभिड सम्पर्क अधिकृत देवी गुरुङले विगतजस्तै महानगरक्षेत्रमा परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘तोकिएका, कन्ट्रयाक्ट ट्रेसिङमा परेका लक्षणसहितको व्यक्तिको परीक्षण शुरु गरेका छौं । ललितपुर महानगरले पाटन अस्पतालमा निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।’

कोरोना हटस्पट काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या झन्डै एक लाख नाघेपछि पुनः परीक्षण गर्न गम्भीरता देखाएको हो । विशेष गरी काठमाडौं र ललितपुर महानगरका संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा झन्डै ३५ हजार र ललितपुरमा १० हजार नाघेको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका मेयर फोरमले उपत्ययामा लकडालक डाउन गर्न सिफारिस गरिसकेको छ । तर सरकार तत्काल लकडाउन गर्ने पक्षमा छैन । कोरोनाबाट डराएरभन्दा पनि स्वाथ्य मापदण्ड पालना गरी कोरोनाबाट बच्न सरकारले सबैलाई आग्रह गरिसकेको छ ।