नेपाल संवत्को १२ वर्ष: ‘राष्ट्रिय’ भन्ने तर कार्यान्वयनको कार्यविधि नबन्ने !

विशेष अध्ययन टोली बनाइयोस् !


  • सुनील महर्जन

नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको १२ वर्ष बितिसकेको छ । तैपनि यस संवत्को प्रयोगका विषयमा ठोस कार्यविधि बन्न सकेको छैन । राष्ट्रिय संवत्को मान्यता केवल औपचारिकतामा मात्र सीमित भएको छ ।
२०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री हुँदा राज्यले नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो । तर, राष्ट्रिय संवत्को मान्यताअनुरुप सरकारले नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको पाइएन । राष्ट्रिय मान्यताअनुरुप त्यसको प्रयोगका स्वरुपबारे राज्यले आफ्नो दृष्टिकोण अहिलेसम्म स्पष्ट पारेको देखिँदैन ।

२०५७ साल मंसिर २ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संवत्का प्रणेता शंखधर साख्वालको हैसियत राष्ट्रिय विभूतिका रूपमा रहेको स्वीकार गरेको थियो । त्यसयता शंखधरको महत्व र व्यक्तित्वको सम्मानबारे न राज्यले अग्रसरता देखायो, न कहिले चासो नै लियो । ‘राष्ट्रिय मान्यता त पायो, तर यसको महत्व र प्रयोगबारे राज्यले स्पष्ट दृष्टिकोण बनाएको छैन’, इतिहासविद् प्रा. दिनेशराज पन्तले भन्नुभयो– ‘सरकारी रवैया हेर्दा जनस्तरको दबाब र सरोकारवाला समूहलाई खुसी पार्न मात्र सरकारले नेपाल संवत् राष्ट्रिय संवत् घोषणा गरेको जस्तो देखियो । बितेका १२÷१३ वर्षमा यस दिशामा केही काम भएन ।’

यस वर्ष कोरोना संक्रमणका कारण राजधानीको वसन्तपुरमा नेपाल संवत्–११४१ को नयाँ वर्ष कार्यक्रम नहुने भनिएको छ । वसन्तपुरमा हरेक वर्ष हुँदै आएको नेपाल संवत्को औपचारिक कार्यक्रम भिन्तुना ¥यालीमा सहभागी हुने क्रममा सरकार प्रमुखहरुले विभिन्न आश्वास दिने गरेका छन् । समय बित्न नपाउँदै यसरी दिएका आश्वासनहरु खोक्रो साबित हुँदै गएका छन् ।

२०६२÷६३को जनआन्दोलनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भिन्तुना ¥यालीको कार्यक्रममा नेपालको गौरव र मौलिक संवत् नेपाल संवत्को तिथि मिति आजको दिनदेखि मैले अरुमा नभए पनि मेरो लेटरप्याडमा प्रयोग गर्नेछु भनेर घोषणा गर्नुभएको थियो । राष्ट्रप्रमुखको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री कोइरालाले बोल्नुभएको सो कुरा कार्यान्वयन कहिले भएन ।

पहिलो संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय संवत्को घोषणा गरेलगतै यसको व्यावहारिक प्रयोगका बारेमा स्पष्ट ठोस दृष्टिकोण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर प्रतिबद्धताअनुरुप व्यवहारमा काम अघि बढेन ।

त्यसै गरी माधवकुमार नेपालले प्रधानमन्त्री हुनुभएपछि वसन्तपुरको भिंतुना ¥यालीमा जनसमक्ष उभिएर नेपाल संवत्बारे अध्ययन÷अनुसन्धानका लागि आयोग बनाउने र आयोगको सुझाव अविलम्ब कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । आयोग त बन्यो तर सुझाव कार्यान्वयनमा सिन्कोसमेत भाँचिएन ।

त्यसै गरी २०६८ सालको नेपाल संवत् भिंतुना ¥यालीको आमसभास्थल खुल्लामञ्चमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भाषामा सम्बोधन गर्दै नेपाल संवत्सम्बन्धी अध्ययन÷अनुसन्धानका लागि राज्यस्तरबाट एउटा प्रतिष्ठान सञ्चालन गर्ने र त्यसका लागि आवश्यक रकम सरकारले उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोअनुरुप नेपाल संवत्् आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको संयोजकत्वमा एक कार्यदल बनेको थियो । सो कार्यदललाई नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउने र नेपाल संवत् र अन्य प्रचलित संवत्हरुको अध्ययन गर्ने मुख्य जिम्मेवारी दिइएको थियो ।

सो कार्यदलको गठनको कार्यक्षेत्रमा राखिएका सर्त नै संवत्हरुको अध्ययन गरेर इस्वी संवत् प्रयोग गर्ने त्यो कार्यक्षेत्र नै संकुचित हुन गएकाले ठोस काम गर्न नसकेको सो कार्यदलका सदस्य रहेर काम गर्नुभएका इतिहासविद् प्राडा त्रिरत्न मानन्धर बताउनुहुन्छ ।

त्यसपछि पनि आश्वासन दिने क्रम रोकिएन । प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवाले प्रधानमन्त्रीको लेटर प्याडमा नेपाल संवत्को प्रयोग गर्ने घोषणा गर्नुभएको थियो । तर व्यवहारमा अहिलेसम्म कार्यान्वयन भएको छैन । अहिलेसम्म सरकारको ताल हेर्दा जनस्तरको दबाब मत्थर पार्ने मात्र ध्याउन्न देखिएको छ । भावुकता वा सस्तो लोकप्रियताको हिसाबले मात्र काम गर्ने सरकारको रवैयाले गर्दा राष्ट्रिय संवत्को मान्यताअनुरुप गर्नुपर्ने कामहरु केही हुन सकेन । यो कुरालाई सरोकारवालाहरुले हरेक वर्ष सम्झाउँदै आएको छ ।
यसअघि, २०६४ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सरकार परिर्वतनसँगै सो कार्यदल अलपत्रमा परेको थियो । यसरी कार्यदल गठन हुने र बीचमै अलपत्र हुने सिलसिला रहिरह्यो । नेपाल संवत्लाई व्यावहारिक बनाउने प्रक्रिया अहिले पनि कार्यदलमै अड्किएको छ ।

हरेक वर्ष नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रप्रमुख र मुलुकको कार्यकारी प्रमुखदेखि लिएर राष्ट्रिय राजनीतिका प्रायः सबै दलका नेतृत्ववर्गले देशवासीलाई शुभकामना दिँदै आएका छन् । शुभकामना दिने क्रममा एक जना साधारण जनता शंखधर साख्वाले जनताको ऋण मोचन गरेर देशकै नाउँमा रहेको विश्वको एक मात्र संवत् भएकाले नेपाल संवत् व्यावहारिक प्रयोगमा ल्याउनुपर्ने साझा प्रतिबद्धता जनाउँदै आएका छन् ।
राष्ट्रिय मान्यताअनुरुप नेपाल संवत्को व्यावहारिक प्रयोगका लागि सरकारले विभिन्न प्रतिबद्धता गरे पनि व्यवहारमा केही काम नै भएन । सरकारी प्रतिबद्धता र आश्वासन केवल जनताको मन मस्तिष्कलाई क्षणिकरुपमा प्र्रभावित पार्ने कार्य मात्र सावित भयो। साँचो अर्थमा आफ्नो प्रतिबद्धताप्रति विभिन्न समयमा बनेका प्रायः सबै सरकार खासै इमानदार देखिएनन् ।

राष्ट्रिय मान्यताअनुरुप नेपाली मुद्रा र नोटहरुमा नेपाल संवत् प्रयोग हुनुपर्ने, संवत्का प्रवर्तक शखंघर साख्वा र नेपाल संवत्सम्बन्धी विद्यालय र कलेजस्तरको पाठ्यक्रममा राख्नुपर्ने, शंखधर प्रतिष्ठान स्थापना गर्ने, नेपाल संवत् मनाउन राज्यबाट बजेट विनियोजित गर्नुपर्ने मागहरु सरकारसमक्ष तेस्याउँदै आएको पाइन्छ । सरकारी भित्तेपात्रोमा नेपाल संवत् र दिनांक उल्लेख हुनुपर्ने, नेपाल संवत्को क्यालेन्डर सरकारीस्तरबाट नै प्रकाशन र वितरण गर्नेजस्ता तत्काल गर्न सकिने कार्य पनि अघि बढ्न सकेको छैन । यी कार्यहरु नभएसम्म नेपाल संवत् राष्ट्रिय संवत्को अनुभूत जनताले गर्न सक्ने छैनन् ।

नेपाल संंवत् मुलुकको महत्वपूर्ण सांंस्कृतिक निधि हो । यसको ऐतिहासिक, सामाजिक÷सांस्कृतिक महत्वलाई आत्मसात गरेर यसको व्यावहारिक कार्यान्वयन पक्ष अहिलेको महत्वपूर्ण सवाल हो । यसको ऐतिहासिकता, महत्वबारे अध्ययन÷अनुसन्धान गर्न÷गराउनमा राज्यको भूमिका के÷कस्तो हुने हो अब स्पष्ट हुनुपर्छ । राष्ट्रिय संवत्को मान्यता प्रदान गरिसकेपछि राष्ट्रियस्तरमा यो संवत्लाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने हो, सरकारीस्तरबाट नीति तय हुनु आवश्यक छ ।

विशेष अध्ययन टोली बनाइयोस् !

प्रा. दिनेशराज पन्त इतिहासविद्

नेपालमा विभिन्न संवत् चलेका छन् । लिच्छविकालअघि नेपालमा कुन संवत् प्रचलित थियो भनेर भन्न सकिने अवस्था छैन । अभिलेखका आधारमा भन्न सकिने नेपालको पहिलो प्रामाणिककाल लिच्छविकाल हो। लिच्छविकालका अभिलेखमा दुई थरी संवत्को प्रयोग भएको पाइन्छ। मानदेव र त्यसभन्दा अघिका अभिलेखमा शतस्थानी अंकबाट शुरु भएको संवत् छ। त्यस्तै, अंशुवर्माले एक्लै शासन शुरु गरेपछि दशस्थानीबाट शुरु भएको संवत् छ। ती दुवै थरी संवत्मा विशेषण नलगाई संवत् मात्र लेखिएकाले यी संवत् के हुन् भनी विद्वान्हरूमा धेरै वर्ष विचार–विमर्श चल्यो।

अन्त्यमा नेपाल खाल्डोमै बनाइएको सुमतीतन्त्र नामक ज्योतिष ग्रन्थ र अरु विभिन्न सामग्रीका आधारमा मानदेवहरूको पालामा विसं १३५ देखि चलेको शक संवत् र अंशुवर्माले एक्लै शासन गरेपछिका अभिलेखमा ईसं ६३३ देखि चलेको मानदेव संवत् हो भन्ने निर्णय भयो। शक संवत् अहिले पनि हाम्रा व्यवहारमा चलिरहेकै छ।
मानदेव संवत् भने तीन सय चार वर्षसम्म राम्ररी चल्यो र त्यसको स्थान नेपाल संवत्ले लियो। त्यसभन्दा पछिका केही सामग्रीमा मानदेव संवत्को चर्चा पाइए पनि पछिल्लो कालमा यो संवत् चल्न सकेन।

विसं ९३६ कार्तिक शुल्क प्रतिपदादेखि चलेको नेपाल संवत् नेपालको इतिहासमा महत्वपूर्ण छ। नेपाल संवत् पनि शुरुमा संवत् मात्रै भनी प्रयोग गरिएको पाइन्छ। पछि यसमा ‘नेपाल’ विशेषण लाग्न गयो र ‘नेपाल संवत्’ कहलियो। मुख्यतः नेपालको परिप्रेक्ष्यमा विचार गर्दा जुन बेला बारको प्रयोग हुँदैनथ्यो, त्यसबेला शक संवत् आयो, बारको प्रयोग शुरु भएपछि मानदेव संवत् आयो। जबदेखि अयनांशको चर्चा शुरु भयो, त्यसपछि नेपाल संवत् चलेको देखिन्छ। नेपालको मध्यकालको मुख्य संवत्का रुपमा यो संवत् चलेको पाइएको छ । १७३४ सालमा नेपाल संवत्को पात्रो नै प्रकाशन गरिएको थियो ।

नेपालमा विक्रमको १३औं शताब्दीमा गुजराती पण्डितले सारेको पुस्तकमा सर्वप्रथम विक्रम संवत्को चर्चा आएको हो। अरि मल्लको राज्यकालमा गुजरातबाट आएका पण्डित हरिहरले सारेको ‘अमृतेश्वरपूजा’ नामक पुस्तक राष्ट्रिय अभिलेखालयमा छ, त्यहाँ विक्रमाब्द गते १२७३ नेपालाब्द गत संवत् ३३६ भनी लेखिएको छ। यसरी हरिहरले सारेको पुस्तकमा नेपाल संवत् ३३६ को साथै विक्रम संवत् १२७३ पनि लेखिएको छ। गुजराती पण्डितको माध्यमबाट नेपालमा विक्रम संवत् भेटिएको कुरा अहिलेसम्मको अनुसन्धानबाट प्रस्ट भएको छ। यसरी नेपालको परिप्रेक्ष्यमा मुख्यतः चारवटा संवत् (क्रमशः शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत्) चलेको पाइन्छ।

विशेषतः काठमाडौं उपत्यकावासीको निरन्तरको आन्दोलन, दबाब र इतिहासविद्, अध्येयताको निरन्तर खोज र अनुसन्धानको कारण सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान ग¥यो । नेपाल संवत्को मान्यता पाएपछि यसको प्रयोग र महत्व के त ? अहिलेसम्म राज्यले गम्भीर भएर यस प्रश्नको उत्तर दिन सकेको छैन । एकातिर अन्तर्राष्ट्रियस्तरमा सन्धि, सम्झौतामा ईस्वी संवत्को प्रयोग भइरहेको छ भने मुलुकमा दैनिकरुपमा विक्रम संवत्को प्रयोग भइरहेको छ । यस्तो बेला नेपाल संवत्को प्रयोगमा ल्याउनुको अर्थ विक्रम संवत्लाई विस्थापित गर्ने होइन । कसैकसैले विक्रम संवत्लाई विस्थापित गर्ने कुरा पनि गरेका छन् । यो एकहिसाबले अति सोच हो । यतातिर हामी जानुहुुँदैन ।

यस्तो बेला नेपाल संवत्को महत्व, यसको प्रयोगबारे राज्यले स्पष्ट दृष्टिकोण बाहिर ल्याउनुपर्दछ । सरकारको रवैया हेर्दा जनस्तरको दबाब र मागलाई साम्य पार्ने हिसाबले मात्र नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको जस्तो देखियो । त्यसैले अहिले नेपाल संवत्को प्रयोगको सम्बन्धमा ज्योतिषी कोण, व्यावहारिकता कोणलगायत यसका सबै पक्षमा विस्तृत अध्ययन गर्नुपर्ने खाँचो छ । अध्ययनका लागि राज्यले एउटा विशेष टोली बनाउनुपर्दछ । यो नेपालको मौलिक संवत हो । यस संवत्को विषयमा विस्तृत अध्ययनको आधारमा राज्यले यसको प्रयोगको सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउनुपर्ने समयको माग हो ।