अटोरिक्सा दूर्घटनाका घाईंते वचाउन करिव ७ लाख संकलन

0
Shares

रामधन राई, खोटाङ ।
अटोरिक्सा दुर्घटनामा गम्भीर घाईते खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीका ७ वर्षिय रुपेश राई वचाउनका लागि झण्डै ७ लाख रुपैंयाँ रकम संकलन भएको छ । गत कात्तिक २२ गते स १ ह ३५१८ नम्बरको अटोरिक्सा दुर्घर्टना हुँदा घाईते वनेपछि हेलिकोप्टर चार्टर गरेर काठमाण्डौं पु¥याइएका रुपेशको उपचारार्थ ६ लाख ८७ हजार ५४ रुपैयाँ संकलन भएको हो ।
जयराजघाट–दिक्तेल सडक खण्डको महादेवस्थानमा पर्ने ऐसेलुखर्कस्थित पिलोते भिरमा भएको अटोरिक्सा दुर्घट्नामा रुपेश गम्भीर घाईते भएका थिए । स्वदेश तथा विदेशका दाताबाट संकलित उक्त रकम घाईंतेकी आमा ममता राईलाई घरैमा पुगेर हस्तान्तरण गरिसकिएको ‘रुपेश राई बचाउ अभियान’का अभियान्ता नविन चाम्लिङले बताउनुभयो ।
अटो सडकमा गुल्टिँदा रुपेशको दायाँतर्फको टाउकोदेखि गालासम्मको भाग तछारिएको छ । १ लाख ५० हजारमा चार्टर गरिएको हेलीकोप्टरमार्फत न्युरो अस्पताल, सर्जरी अस्पताल किर्तिपुर हुँदै शिक्षण अस्पताल महाराजगन्जमा पु¥याइएका रुपेशको उपचार जारी छ ।
रुपेश परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले फेसबुकमार्फत ‘रुपेश राई बचाउ अभियान’ सुरु गरेका थिए । घाईते रुपेशको उपचारका लागि फेसबुकमार्फत सहयोगका लागि आव्हान गरेको ५ मिनेटमै हलेसी तुवाचुङ नगरपालिकाकी उपमेर बिमला राईले घरैमा पुगेर १० हजार सहयोग गरेर अभियानको शुभारम्भ गरेको शिक्षक रहेका अभियान्ता चाम्लिङले सुनाउनुभयो । संस्थागतरुपमा होलेसुङ समुहले पनि १६ हजार प्रदान गरेको थियो ।

ज्याला मजदुरीबाट जिवीका चलाउँदै आएका राई परिवारले उपचार सहयोगका लागि अपिल गरेपछि थालिएको सहयोग अभियान तत्कालका लागि स्थगित गरिएको छ । रुपेशको उपचारका लागि पुग्ने मात्रामा सहयोग रकम संकलन भएपछि अभियान स्थगित गरिएको चाम्लिङको भनाई छ ।