चाडबाड लक्षित अनुगमनमा दुई उद्योगलाई कारबाही

0
Shares

सरोज यादव, विराटनगर

जनगुनासो बढ्दै गएपछि संयुक्त बजार अनुगमन टोलीले विराटनगरमा अनुगमन गर्दा दुई उद्योग कारबाहीमा परेका छन् । तोकिएको मूल्यभन्दा दोब्बर मुनाफा राख्ने र खरिद गरेको बिल भौचर देखाउन नसकेपछि अनुगमन टोलीले सेन्ट्रल बजार र श्रीकृष्ण टे«डर्सलाई कारबाही गरेको हो ।

सेन्ट्रल बजारले १ हजार १ सय ६५ रुपियाँ प्रतिकेजी खरिद गरेको काजु २ हजार २ सय ५० रुपियाँ प्रतिकेजी बिक्री गरेको अनुगमन टोलीले फेला पारेको थियो । सेन्ट्रल बजारले अत्याधिक मुनाफा राखेर काजु बिक्री–वितरण गरेको भेटिएपछि कारबाहीको दायरामा ल्याएको वाणिज्य वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

‘तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि बजारमा अनुगमनमा गरेका थियौं’, पोखरेलले भन्नुभयो– ‘अनुगमनको क्रममा सेन्ट्रल बजारले बिक्रीमा राखिएको काजुमा १ सय ११ प्रतिशतभन्दा बढी मुनाफा लिएको भेटियो ।’ उपभोक्ता संरक्षण ऐनअनुसार सेन्ट्रल बजारलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।

अनुगमन टोलीले विराटनगर मेन रोडस्थित सेन्ट्रल मलभित्र रहेको सेन्ट्रल बजारको स्टोरमा र विराटनगर–७ मा रहेको श्रीकृष्ण टे«र्डसमा बजार स्थलगत अनुगमन गरेको थियो । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, नेतृत्वको टोलीले सेन्ट्रल बजारलाई २ लाख र श्रीकृष्ण ट्रेडर्सलाई २० हजार जरिवाना भराएको छ ।

छुटसहितको बम्पर योजना भन्दै प्रचार गरी उपभोक्तालाई आकर्षित गरेर ठगी गरेको भन्दै विराटनगरस्थित सेन्ट्रल मलभित्रको ‘सेन्ट्रल बजार’ लाई जरिवाना गरिएको छ । खरिद गरेको मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले जरिवाना गरेको हो ।

कार्यालय प्रमुख पोखरेलका अनुसार सेन्ट्रल बजारलाई उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा ३९ (१) ख बमोजिक २ लाख रुपियाँ जरिवाना गराइएको छ ।

सेन्ट्रल बजारका व्यवस्थाक गिरीश राठीले डिलरबाट काजु प्रतिकेजी १ हजार ८ सय रुपियाँ प्रतिकेजीमा खरिद गरेको भए पनि डिलरले कम मूल्यको बिल दिएकाले आफूहरु फसेको बताउनुभयो । त्यसै गरी विराटनगर ७ मेनरोडमा रहेको श्रीकृष्ण ट्रेडर्सले तिहारमा प्रयोग गरिने पोस्ता दानामा मिसावट गरेको भेटिएपछि अनुगमन टोलीले २० हजार रुपियाँ जरिवाना भराएको छ ।

अनुगमनका क्रममा कृष्ण ट्रेडर्सले कुनै खरिद तथा बिक्री गरिएको बिल देखाउन नसकेको खण्डमा उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा ३८ ‘घ’ बमोजिम कसुरको आधारमा दफा ३९ (१) ‘क’ अन्तर्गत २० हजार जरिवाना गरिएको हो ।

संयुक्त बजार अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय मोरङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर महानगरपालिका अधिकारीसहित उपभोक्ता हित संरक्षण मोरङका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थित रहेको थियो ।

दर्ताबिना उत्पादित सेनिटाइजर गुणस्तरहीन
दर्ताबिना सञ्चालनमा रहेको विराटनगर महानगरपालिका–१५ मा रहेको ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल सप्लायर्सले उत्पादन गरेको सेनिटाइजर गुणस्तरहीन रहेको पाइएको छ । अनिल चौधरीले सञ्चालन गरेको उद्योगले उत्पादन गरेको सेनिटाइजर गुणस्तरहीन पाइएपछि औषधि व्यवस्था विभागको टोलीले नष्ट गरेको हो ।

उत्पादन गरी बिक्रीका लागि बजार लैजाने तयारी हुँदै गर्दा औषधि व्यवस्था विभागको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, उपभोक्तावादी संस्था पब्लिक फोरमलगायतको संयुक्त टोलीले अनुगमन गरेर उत्पादनमा रोक लगाएको थियो ।

पहिलोपटक २०७७ साल असोज १३ गते गरिएको अनुगमनपछि टोलीले उत्पादित सेनिटाइजर बजार लैजान र बिक्री गर्न पनि रोक लगाएर परीक्षणका लागि पठाएको थियो ।

अनुगमनका क्रममा १ सय ९४ कार्टुन सेनिटाइजर बिक्रीमा बन्देज गर्दै उत्पादन पूर्णरूपमा रोकिएको विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत दीपेन्द्र खड्काले जानकारी दिनुभयो ।