नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको शिलान्यास

0
Shares

काठमाडौं । सबै प्रदेशमा कम्तीमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने सरकारको नीतिअनुसार नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा नेपालकै दोस्रो ठूलो भण्डारण गृह निर्माणको काम शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको प्रादेशिक कार्यालय परिसरमा अमलेखगञ्जपछिको दोस्रो ठूलो भण्डारण गृहको आज शिलान्यास गर्नुभयो ।

सरकारले लिएको पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिको लक्ष्यलाई पूरा गर्न निगमले गण्डकी प्रादेशिक कार्यालयबाट भण्डारण क्षमता विस्तारको शुरुआत गरेको हो । निगमको गण्डकी प्रदेशअन्तर्गत आफ्नै स्वामित्वको जग्गामा एक करोड़ लिटर क्षमताको अत्याधुनिक डिपोको निर्माण शुरु गरिएको छ । ठेक्का प्रक्रिया टुङ्गिएको र साइट क्लियरिङ समेत भइसकेकाले डिपो निर्माणले तीव्रता पाउने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । रु ७७ करोड ७७ लाख ९मूल्य अभिवृद्धि करबाहेक० को लगानीमा समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले परियोजना निर्माणको ठेक्का लिएको छ ।

“हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाको रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “यो शुरुआत्लाई हामीले १९ वर्षपछिको निरन्तरताको रुपमा समेत हेरेका छौँ ।” २०५८ सालपछि निगमले भण्डारण क्षमता विस्तार गर्न सकेको थिएन ।

यो योजना २०५८ सालपछि निगमको आफ्नै लगानीमा भएको पहिलो योजनासमेत हो । गण्डकी प्रादेशिक डिपोको भण्डारण अमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुङ्गा सावित हुने कार्यकारी निर्देशक पौडेलको विश्वास छ । निगमले चितवनको लोथरमा बन्ने ब्लक भण्डारण गृहको सप्लाइ चेनको रुपमा समेत यो डिपोलाई लिएको छ ।

उहाँले प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कनै कारणले अबरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्ने र नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा ३० दिनको डिजेल र १२ दिनको पेट्रोलको माग धान्ने प्रक्षेपण गरिएको बताउनुभयो । गगनगौँडाको ७७ रोपनी जमिनलाई नै व्यवस्थापन गरेर डिपो निर्माण गर्न लागेकाले यसले निगमको रु दुई अर्ब खर्च बचत भएको उहाँको भनाइ छ ।

अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । भण्डारण गृहको निर्माणका लागि सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ । परियोजनाअन्तर्गत हालको डिपो हातामा ५० लाख लिटर क्षमताका दुईवटा ठूला डिजेल भण्डारण टयाङ्क, एउटा नयाँ पहुँच सड़क, दुई लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण गरिनेछ ।

इन्धन भण्डारण ट्याङ्क र यसमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटेड हुने निगमका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । डिजेल लोड तथा अनलोड सुविधा पूर्णरूपमा स्वचालित र हाइटेक आधारित हुनेछन् । डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीको कार्य पनि परियोजनाकै सिलसिलामा तयार गरिने छ ।

नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याङ्करले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । ट्याङ्कर अनलोडका लागि प्रतिघण्टा १२० किलोलिटर क्षमताका पाँचवटा पम्प जडान गरिनेछ । चारवटा नयाँ ‘वे’ पनि सञ्चालन हुनेछन् । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागीलगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान हुनेछ ।

आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रविधि डिपोमा हुनेछ । कुनै पनि कारणबाट डिपोमा आगो लागेको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रण गर्ने क्षमताको पूर्वाधार डिपोमा हुनेछ । कूल ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसका लागि प्रयोग हुने निगमले जनाएको छ ।

परियोजना सम्पन्न भएपछि काठमाडौँको ‘ब्याकअप’को रुपमा पनि पोखरा डिपोले काम गर्नेछ भने गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको संरचनासमेत ठूलो सुधार अपेक्षा गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । परियोजना निर्माणमा भोलिदेखि दैनिक १५० कामदार खटिने पनि उहाँले जानकारी दिनुभयो ।

तीन महिना ढुक्क हुने हिसाबले काम गरेका छौँ : मन्त्री भट्ट

सो अवसरमा उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग पनि जोडिएकाले इन्धनको भण्डारण क्षमता विस्तारमा सरकारले जोड दिएको बताउनुभयो । भण्डारण क्षमता विस्तार भएसँगै गण्डकी प्रदेश र यसआसपासका प्रदेशमा पेट्रोलियम आपूर्तिमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

सातवटै प्रदेशमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तार गर्न लागिएको उहाँले बताउनुभयो । “केही नभए पनि तीन महिना पेट्रोलिमय पदार्थमा ढुक्क हुने हिसाबले काम गरिरहेका छौँ”, भन्त्री भट्टले भन्नुभयो । डिपोमा अत्याधुनिक प्रविधिको जडान गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सुरक्षामा विश्वस्त हुन स्थानीयलाई आग्रह गर्नुभयो ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं आपूर्ति सचिव डा बैकुण्ठ अर्यालले गण्डकी प्रदेशबाट पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तारको काम शुरु भएको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले स्थानीय जनसमुदायको सुरक्षामा ध्यान दिन आग्रह गर्दै परियोजना निर्माणमा महानगरको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।