१३औं आईपीएलका केही रोचक तथ्य  

0
Shares

दुबई, (एजेन्सी)
मंगलबार राति मुम्बई इन्डियन्सले पाँचौंपटक इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जित्न सफल भयो। प्रतियोगिताको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले १३औं संस्करणको आईपीएलको उपाधि हात पारेको हो। यूएईको दुबई इन्टरनेसनल स्टेडियममा सम्पन्न आईपीएलको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा मुम्बईले दिल्लीले दिएको लक्ष्य १९औं ओभरमा ५ विकेट गुमाएर पूरा गरेपछि उपाधि उचालेको हो। योसँगै मुम्बई लगातार दोस्रोपटक आईपीएल उपाधि जित्ने दोस्रो टोली बनेको छ। मुम्बईले गत संस्करण पनि उपाधि उचालेको थियो। यसअघि सन् २०१० र २०११ मा चेन्नई सुपर किंग्स लगातार दुईपटक च्याम्पियन बनेको थियो।
कोरोना भाइरसका कारण मिति र स्थान परिवर्तन गरी खेलाइएको १३औं संस्करणको आईपीएलमा केही रोचक तथ्य बनेका छन्। जसबाट केही खेलाडी पनि चम्कन सफल भए। यस संस्करणमा सर्वाधिक ६ सय ७० रन बनाउने किंग्स ११ पन्जाबका लोकेश राहुलले ओरेन्ज क्याप जित्न सफल भए।
त्यस्तै, सबैभन्दा बढी ३० विकेट लिने दिल्ली क्यापिटल्सका कागिसो रबाडा पर्पल क्यापको विजेता बने। उनी १७ म्याचमा ३० विकेट लिन सफल भएका थिए। योसमेत लगातार दोस्रोपटक दक्षिण अफ्रिकी खेलाडीले पर्पल क्याप हात पारेका हुन्। सन् २०१९ को संस्करणमा २६ विकेट लिएका चेन्नई सुपर किंग्सबाट खेल्ने दक्षिण अफ्रिकी खेलाडी इमरान ताहिरले पनि पर्पल क्याप जितेका थिए। समग्रमा भन्नुपर्दा योसमेत तेस्रोपटक दक्षिण अफ्रिकी खेलाडीले पर्पल क्यापमा आफ्नो नाम लेखाएका हुन्। रबाडा र ताहिरभन्दा अघि दिल्ली डेयर डेभिल्सबाट खेलेका दक्षिण अफ्रिकी मोर्ने मार्कीलले उक्त क्याप जितेका थिए।
यसपटक दुई शतक प्रहार गर्ने दिल्लीका ओपनर शिखर धवन यस संस्करणकै सबैभन्दा बढी शतक लगाउने खेलाडी बने। यता सबैभन्दा बढी छक्का मुम्बईका ईशान किसनले प्रहार गरे। उनले प्रतियोगिताभरि २९ वटा छक्का प्रहार गरेका थिए। प्रतियोगिताभरि ४ सय ५० बढी रन बनाउने ईशान किसन र सूर्यकुमार यादव भने हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवविहीन खेलाडी हुन्। यी दुवैले हालसम्म राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन्। सूर्यकुमारले त यो संस्करणमा समेत गरी लगातार तेस्रोपटक ४ सय बढी रन जोडेका छन्।
त्यस्तै, राजस्थान रोयल्सका जोफ्रा आर्चर प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर घोषित बने। त्यसैगरी, रोयल च्यालेन्जर्स बैंगलोरका देवदत्त पडिक्कल इमर्जिङ प्लेयर अफ दि इयर चयन भए। मुम्बई इन्डियन्सले उपाधिसँगै फेयर प्ले अवार्ड पनि जित्न सफल भयो। यस संस्करणका पाँच टप विकेट लिने खेलाडीमध्ये ४ जना तीव्र गतिका बलरहरू रहे।
कागिसो रबाडाले ३० विकेट लिए भने जसप्रीत बुमराहले २७, ट्रेन्ट बोल्टले २५ तथा एन्रिच नोर्तजेले २२ विकेट हात पारे। टप पाँच विकेट लिनेमा एक मात्र स्पिनर युज्वेन्द्र चहाल रहे। उनले प्रतियोगितामा २१ विकेट लिएका हुन्। त्यस्तै, सबैभन्दा बढी अर्धशतक के एल राहुलको नाममा रह्यो । किंग्स ११ पन्जाबका राहुलले प्रतियोगिताभरि पाँचवटा अर्धशतक प्रहार गरे। त्यस्तै, राहुल एक इनिङमा सबैभन्दा बढी १ सय ३२ रन बनाउने खेलाडीसमेत बने।
आईपीएलको इतिहासमा धवन लगातार दुई खेलमा शतक बनाउने पहिलो खेलाडी बने। धवनबाहेक मयन्क अग्रवाल र बेन स्टोक्सले पनि एक–एक शतक बनाए। यसपटक आईपीएलमा कुल ७ सय २३ छक्का प्रहार भएको थियो। जसमध्ये १ सय ३७ छक्का मुम्बईका खेलाडीले प्रहार गरे। राष्ट्रिय टिमबाट हालसम्म नखेलेको मुम्बईका ईशानले सबैभन्दा बढी ३० तथा हार्दिक पाण्डेले २५ छक्का प्रहार गरे। त्यस्तै, दिल्लीका खेलाडीले ९६ वटा छक्का आफ्नो नाममा लेखाए।
१३औं संस्करणको आईपीएलमा १४ बलरले आफ्नो  नाममा कुल २० मेडन ओभर गरे। प्रतियोगिताभरि कुल १४ बलरले २० वटा मेडन ओभर गरेका थिए। जसमध्ये सबैभन्दा बढी मुम्बईका बोल्टले ३ ओभर मेडन गरे। यसपटक टप पाँच बलर्समा सबैले १ सय ५० बढी डट बल गर्न पुगे। मुम्बईका जसप्रीत बुमराहले सबैभन्दा बढी १ सय ७५ वटा डट बल गरे भने दिल्लीका नोर्तजेले १ सय ६० बल डट गरे। डट बल फाल्नेमा राजस्थानका जोफ्रा आर्चर तेस्रो स्थानमा रहे। त्यस्तै, मुम्बईकै बुमराहले २ ओभर मेडन फालेका थिए।