युनाइटेडद्वारा एभर्टन पराजित

0
Shares

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडद्वारा एभर्टन पराजित भएको छ।
शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै घरेलु मैदानमा एभर्टनलाई ३–१ को गोल अन्तरले हराएको हो। योसँगै कार्लेस एन्सेलोट्टीको कमान्डमा रहेको एभर्टनले पछिल्लो तीन खेलमा लगातार तेस्रो हार व्यहोरेको छ।
नयाँ सिजनको खराब शुरुआत गरेको युनाइटेडले एभर्टनविरुद्ध जित निकाल्ने क्रममा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेज नायक बनेका छन्। उनले टोलीका लागि तीन गोलमध्ये दुई गोल गरे भने बाँकी एक गोलमा असिस्टसमेत गरे। यसै खेलबाट उरुग्वेली फरवार्ड एडिन्सन काभानीले पनि गोलको खाता खोल्न सफल भए।
घरेलु टोली एभर्टनले खेलमा शुरुआती अग्रता लिएको थियो। खेलको १९औं मिनेटमा बर्नान्डले सहजै गोल गरेर युनाइटेडलाई पछि पारेका थिए। तर, त्यसपछि पाहुना टोली युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै जितको नतिजा निकाल्न सफल भयो। खेलको २५औं मिनेटमा फर्नान्डेजले लुकेसको पासमा गोल गरेर टिमलाई खेलमा फर्काएका थिए। त्यसपछि खेलको ३२औं मिनेटमा फर्नान्डेजले नै अर्को गोल थपे।
मैदानको दायाँ भागबाट उनले हानेको बल बारमा लाग्दै गोल पोस्टमा छिरेको थियो। त्यसपछि खेलको इन्जुरी समयमा एडिन्सन काभानीले उत्कृष्ट गोल गर्दै टिमको जित ३–१ ले सुनिश्चित पारे। उनको गोलमा फर्नान्डेजले नै असिस्ट गरेका थिए। यसै सिजन युनाइटेडमा अनुबन्धित भएयता काभानीका यो पहिलो गोल हो। काभानी ८२औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेका थिए। जितपछि युनाइटेडले ७ खेलपछि १० अंक जोडेको छ। पराजित एभर्टनको भने ८ खेलपछि १३ अंक रहेको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबारै भएका अन्य खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई र क्रिस्टल प्यालेसले पनि लिड्स युनाइटेडलाई समान ४–१ को गोल अन्तरले हराउँदा वेस्टह्याम युनाइटेडले फुलह्यामलाई १–० पराजित गर्दै तीन अंक जोड्यो। एक गोलले पछि परेको चेल्सीले ४ गोल थप्दै जित हात पारेको थियो। टिमलाई जित दिलाउन अब्राहाम, चिलवेल, थियागो सिल्भा र वेर्नरले गोल गरेका थिए। योसँगै चेल्सीले ८ खेलबाट १५ अंक जोडेको छ।