तिनीहरुलाई कहिल्यै कोरोना नलागोस् !

56
Shares

मोतीराम तिमल्सिना

विश्वव्यापीरुपमा संकट निम्त्याएको कोरोना भाइरस कसैलाई पनि नलागोस् । रोग नलाग्नु भनेर फलाकेर मात्रै पनि हुँदो रहेनछ । व्यक्तिले कायम गर्ने सामाजिक दूरी, स्वास्थ्यप्रति सचेतना अपनाउँदा अपनाउँदै पनि फ्रन्ट लाइनमा खटिएका तथा सर्वसाधारण नागरिकलाई संक्रमण देखिएको छ ।

संक्रमण लाग्न नदिनेतर्फ सचेत हुने, संक्रमणको शंका लागेपछि सहज र सरलरुपले परीक्षण गरेर ढुक्क हुने वातावरणको सिर्जना गर्ने तथा संक्रमण भएपछि गरिने उपचारका बारेमा ध्यान पु¥याउन सकिएन भने कोरोना भाइरसका कारणभन्दा भाइरसको त्रासले व्यक्तिको अल्पायुमै निधन हुने निश्चित छ ।

सर्वसाधारण अहिले दुई हजार तिरेर परीक्षण गर्न सक्ने हैसियतमा छैनन् । सक्ने हैसियतका नागरिकलाई पनि परीक्षण सहज छैन । अस्पतालमा लाइन, स्वाब लिने दिने झन्झट, रिपोर्ट आउने कहिले कहिले, त्यसपछि हुने परिणामबाट व्यक्तिहरुले भोगिरहेको सास्ती कसरी बयान गर्न सकिन्छ र? कोरोना भाइरसले ग्रामीण र शहरी क्षेत्रमा अलगअलग समस्या निम्त्याएको छ ।

शहरमा हुनेलाई अस्पताल नै अनिवार्य छ किनकि भाडामा बस्ने व्यक्तिहरुका लागि अछुतको व्यवहारमा व्यक्ति एक्लैले कसरी धान्न सक्छ? शहर छाडांै रोजीरोटीको चिन्ता, अस्पताल जाऊँ खर्चले धान्न सम्भव छैन । अझ अस्पतालबाट फर्किएर आएपछिको सामाजिक दुव्र्यवहारको कथा पोख्नै सकिँदैन । विस्तारै भाइरस एक घर एक व्यक्तिमा पुग्न थालेको छ । यसले सामान्य त बनाउँदै छ त्यति बेलासम्म निर्दाेष व्यक्तिले सरकार, समाज, घरपरिवारका कारण अकालमा ज्यान गुमाइसक्नेछ ।

हाल म होम आइसोलेसनमा छु । आइतबार (पाँचौं दिन) २०७६ चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन होस् वा निरन्तर कोभिड नियन्त्रण, रोकथाम र व्यवस्थापनमा खटिएको ८ महिनापछि कोरोना भाइरसको आक्रमणमा परें । धेरैपटक नजिक भएका व्यक्तिहरु संक्रमित हुँदा पनि आफूले आफैलाई उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिएको थिएँ । तर पनि मेरो कार्य क्षेत्रमा अवरोध सिर्जना गर्ने गरी २०७७ कात्तिक १९ गते भाइरसले प्रवेश पायो । केही दिनअघि लक्षणहरु देखिएका थिए ।

कोभिडकै कारण जिल्लाका अग्रज पत्रकार दाजु विष्णु चौलागाईंको निधन भएको कात्तिक १४ गते बिहानै ओम अस्पताल चाबहिल पुगेको थिएँ । त्यसको दुई दिनअघि सिनामंगल पुगेको थिएँ । भोलिपल्ट पनि काठमाडौं गएर फर्किने क्रममा मलाई चिसोका कारण टन्सिल बढेको हो कि भन्ने शंका थियो । शनिबार दिनभर कार्यक्षेत्रमै रहेकाले खासै मतलब पनि भएन । आइतबार रातिबाट घाँटीमा अड्किएको एउटा छेस्को जस्तोको अवरोध कोभिडमा परिवर्तन भयो । टन्सिलको औषधी खाँदै गर्दा रातीराती आउने ज्वरो, पखाला, रुखाखोकीले कोभिडको नजिक पु¥यायो । अन्ततः स्वास्थ्यकर्मीको परामर्शमा परीक्षण गरी कोभिडविरुद्धको अभियानमा आइसोलेसनबाट संघर्ष शुरु गरिरहेको छु ।

जिम्मेवारीका हिसाबले म जिल्लाका सञ्चारकर्मीको अध्यक्ष छु । राष्ट्रिय दैनिक नेपाल समाचारपत्रको जिल्ला प्रतिनिधि छु । जिल्लाबाट प्रकाशन हुने चेष्टा साप्ताहिकको कार्यकारी सम्पादक, प्राइम एफएम १०४.५ मेगाहर्ज, धुलिखेल नगरपालिकाको प्रेस सल्लाहकारका रुपमा कार्यरत छु । जिल्लामा १० जना सञ्चारकर्मी संक्रमित भइसक्नुभएको छ । ममा संक्रमणको पूर्वाभास थियो । घरपरिवारका सदस्यहरु पनि सँगै खाना खाए पनि बसोबास अलग गरिसकेको थिएँ ।

संक्रमणको सूचना आएलगत्तै एक खालको सन्नाटा छायो । त्यो रात त निद्रा पनि परेन । शुभचिन्तक र आफन्तहरुका फोन र म्यासेजले नै रात गयो । भोलिपल्टदेखि बेहोर्नुपरेको मानसिक पीडाले व्यक्ति कोरोना भाइरसले होइन, व्यक्तिको व्यवहारबाट मृत्युको मुखमा पुग्छ कि भन्ने भान भयो । समाजमा, टोलमा अनि समुदायमा योगदान पु¥याएका व्यक्तिलाई त समुदायका व्यक्तिहरुले गर्ने व्यवहार निच छ भने सर्वसाधारणले कोभिड–१९ को संक्रमणपछि कस्तो अवस्था बेहोर्नुपरेको होला? घरअघिको बाटोमा समेत छेउछेउ लाग्ने, फोन गर्दासमेत भाइरस सर्छ जस्तै गर्ने, अझ नजिकका व्यक्तिहरु नै कोरोना सर्छ भनेर अनुहारसमेत नहेर्ने प्रवृत्तिले व्यक्तिको मनोबल उँचो होइन निराशा पैदा गरिरहेको छ ।

केही सुधार पनि भएको छ । अहिले भाइरस भएका व्यक्तिसँग पनि सामाजिक दूरी राखेर भेटघाट गर्ने, एक्लो महसुस हुन नदिने, शरीरमा भाइरससँग लड्ने क्षमता वृद्धि गर्ने आवश्यक वस्तुहरुको व्यवस्थापनमा सहयोग गर्ने र हौसला प्रदान गर्ने कार्यले व्यक्तिले भाइरस चाँडै जित्न सक्छ । त्यो हुनु जरुरी छ । सर्वसाधारणको हकमा पनि त्यो आवश्यक छ ।

तितो सत्य र अनुभूति के हो भने संक्रमणको रिपोर्ट आउनु एक घण्टाअघि आफैले पानी खान दिएका व्यक्तिहरु संक्रमणको खबर सुनेलगत्तै मुख बटारेरे हिँडे । जो आजसम्म बोलेका छैनन् । संकटमा म चाहिने, हर समय म चाहिने तर भाइरसको खबर सुनेलगत्तै बटारिने, तर्कने र आफूलाई कहिल्यै कोरोना लाग्दैनझंै गर्ने आदरणीयहरुलाई कहिल्यै कोरोना मात्रै होइन, कुनै खालका भाइरसले प्रवेश नपाओस् शुभकामना ।

सरकारले परीक्षण र उपचारमा सहज गरोस् । सक्ने र हुनेहरुले आफै परीक्षण र उपचार गरौं । नसक्ने र सम्भव नभएकाहरुका लागि सरकारले उपलब्ध गराएको सुविधा प्रयोग गरौं । समाजमा कोरोना भएका व्यक्तिलाई फरक व्यवहार गर्नेहरुलाई कहिल्यै कोरोना नलागोस् । शुभकामना ।