प्रतिबन्धकै बीच स्थानीयस्तरमा खेल गतिविधि

0
Shares

हेटौंडा, (नेस)
हेटौंडा–१९, सान्नान्टारको तपोवन टोल विकास संस्थाको आयोजनामा कार्तिक २५ गतेबाट टोलस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।
शुभदीपावली र छठलगायत पर्वको अवसरमा टोल विकास संस्थाबीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ। २७ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा रजैया कप फुटबल प्रतियोगिता शुरू भएको छ। लामिटार युथ क्लब हाँडीखोलालाई ३–१ गोल अन्तरले हराउँदै नमोबुद्ध युथ क्लब बसामाडी विजयी भएको छ। खेलको म्यान अफ दि म्याच बादल थिङले बसामाडीका लागि ह्याट्रिक गरे।
आयोजक केदारेश्वर युवा क्लब अध्यक्ष प्रमोद अधिकारीले प्रतियोगिताका विजेताले नगद ३० हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए। प्रतियोगितामा १८ क्लबको सहभागिता छ।
कोभिड–१९ का कारण करिब ८ महिनादेखि ठप्प रहेको खेलकुद गतिविधि मकवानपुरमा बिस्तारै सक्रिय हुन थालेको छ। कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले सबैखाले खेलकुद गतिविधिलाई रोक लगाए पनि स्थानीयस्तरमा खेल गतिविधि सक्रिय हुन थालेको पाइएको हो।
दशैंको अवसरमा मकवानपुरका केही ग्रामीण क्षेत्रमा फुटबल, भलिबल तथा क्रिकेट प्रतियोगिता आयोजना हुन पुगे। दीपावलीको पँर्वसन्ध्यामा ग्रामीण क्षेत्रमा फुटबल तथा भलिबल प्रतियोगिता जारी छन्।
अन्य विभिन्न स्थानमा पनि फुटबल तथा भलिबल प्रतियोगिता सञ्चालनमा छन्। खेलसँग सम्बन्धितले कोरोनाको समयमा खेलकुदका गतिविधि बन्द गर्न नहुने धारणा राखेका छन् भने केहीले कोरोना संक्रमण फैलन सक्ने त्रास कायम रहेकोले अहिल्यै खेलकुद गतिविधि गर्न नहुने प्रतिक्रिया दिएका छन्।
जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बाहिरी मुलुकमा प्रतियोगिता शुरू भएकाले नेपालमा पनि खेलकुद गतिविधि शुरू गर्न दिइनुपर्ने बताए। खेलेर जीविकोपार्जन गर्दै आएका यस्तो अवस्थामा थप समस्यामा रहेको उनको भनाइ छ। ‘आवश्यक सुरक्षा सावधानी अपनाएर भीड नगरी खेलकुद गतिविधि शुरू
गर्नु आवश्यक छ’– उनले भने।
जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख राजन दाहाल (खुशराज) ले यस्तोे अवस्थामा गाउँगाउँमा सामान्यरूपमा खेलकुद गतिविधि भएको जानकारी दिँदै तर खेलकुद परिषद्ले प्रतियोगिता गर्न स्वीकृति नदिएको बताए।
खेलकुदले मानिसलाई स्वस्थ रहन मद्दत गर्ने भए पनि हाल खेल गतिविधि खुला गर्ने विषयमा सरकारको निर्णय हुन बाँकी रहेको उनले बताएका छन्।