कक्षा १२ को परीक्षा: २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएका जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासहितको टोलीले शुक्रबारबाट प्रश्नपत्र छपाइ शुरु गरेको हो ।

बोर्डले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका करिब २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको हो । इन्टरनेटको समस्या भएका जिल्लाका लागि छुट्टै प्रश्नपत्र छपाइ गरेको बोर्डले जनाएको छ । तिहार अघिसम्म छपाइ सक्ने योजनासहित परीक्षा नियन्त्रक शर्माको टोली जनक शिक्षामा प्रवेश गरेको हो ।

बोर्डले यो वर्ष साढे १ घण्टाका लागि तय गरेको परीक्षाको प्रश्नपत्र फरकफरक सेटको हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले मूल विषयका करिब ६ सेट प्रश्न तयार गरिएको जानकारी दिनुभयो ।

बोर्डले पूर्व, पश्चिम, हिमाली र उपत्यकालगायत जिल्लाका लागि छुट्टै प्रश्नपत्र तयार गरेको जनाएको छ । मंसिर ९ देखि १६ गतेसम्मका लागि तय गरेको परीक्षामा ४ हजार १ सय ५ विद्यालयमा परीक्षा हुनेछ ।

बोर्डले ती केन्द्रमा परीक्षा सञ्चालन हुनु आधा घण्टा अघि मात्र इमेलमार्फत प्रश्नपत्र पठाउनेछ । सबै केन्द्रमा कोड नम्बरको व्यवस्था गरेकाले परीक्षा हुनु आधा घण्टाअघि कोड नम्बर प्राप्त भएपछि मात्रै प्रश्नपत्र हेर्न सकिनेछ ।

इमेलमा आएको प्रश्नपत्र फोटोकपी गरेर विद्यार्थीलाई दिने व्यवस्था गरिएको छ । फोटोकपी गर्न असम्भव भए प्रश्नहरु बोर्डमा लेख्ने सकिनेसमेत व्यवस्था छ ।

बोर्डले सबै प्रदेश कार्यालयमा उत्तरपुस्तिका पठाइसकेको जनाएको छ । परीक्षा केन्द्रमा पठाउने काम प्रदेश कार्यालयले गर्न बाँकी छ । तिहारलगत्तै सबै उत्तरपुस्तिका केन्द्रमा पुग्ने गरी तयारी भइरहेको छ ।
कोभिड–१९ को विशेष परिस्थितिमा विद्यार्थीहरु जहाँ छन् त्यही स्थानबाट परीक्षा दिने व्यवस्था गरिएको छ । त्यसका लागि विद्यालयले आफ्ना विद्यार्थीको प्रवेशपत्र उपलब्ध गराउनुपर्नेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केन्द्रमा भीडभाड नहुने गरी व्यवस्था गर्न निर्देशन दिनुभएको छ । बोर्डले तीनै सुरक्षा निकायका अधिकारीसँग छलफल गरिसकेको छ ।

मन्त्रालयले परीक्षालाई व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोगका लागि संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय निकाय, जिल्ला शिक्षा तथा समन्वय इकाइलाई पत्राचार गरिसकेको छ ।

बोर्डले परीक्षामा सहभागी सबै विद्यार्थीले अनिवार्यरुपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने, सबै केन्द्रमा अनिवार्यरुपमा हेल्थडेक्स राखिनुपर्ने, केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्यरुपमा थर्मल गनले तापक्रम परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले हरेक केन्द्रमा स्थानीय तहको समन्वयमा हेल्थडेक्ससहित स्वास्थ्य सामग्री राख्नुपर्ने बताउनभुयो । कोभिडका कारण योे वर्ष परीक्षा ४० प्रतिशतको प्रश्न सोधिनेछ । विद्यालयका विषय शिक्षकले कपी परीक्षण गरी उत्तरपुस्तिकासहित बोर्डमा पु¥याउने व्यवस्था गरिएको छ । परीक्षामा करिब ४ लाख २६ हजार विद्यार्थी सहभागी हुनेछन् ।