जुवातास नियन्त्रणमा सिन्धुपाल्चोक प्रहरीको ‘अपरेसन’

188
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

चाडपर्वको समयमा हुने जुवासतास नियत्रणमा जिल्ला प्रहरी कार्यालयले बिशेष अपरेसन सुरु गरेको छ । प्रहरीले धमाधम जुवा खालहरुमा छापा मार्दै नगद र जुवाडेहरु पक्राउ गरिरहेको छ। जुवातास नियन्त्रणमा सक्रिय बनेको ईलाका प्रहरी कार्यालय बाह्रबिसेले चार दिनकाबीच झण्डै २ लाख नगदसहित १५ जनालाई नियन्त्रणमा लिएको छ ।

केहि दिन अघि बाह्रबिसेस्थित तास खेलिरहेका १२ जनसहित ४२ हजार नगद जफत गरेको प्रहरीले शुक्रबार राति सुनकोसी गाउँपालिका ७ मा जुवाखालमा छापा मारेको छ । जुवाखालबाट नगद १ लाख १४ हजार, कौडा र ३ जनालाई नियन्त्रणमा लिइएको इप्रका बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

तिहार नजिकिँदै गर्दा जिल्लाका बिभिन्न बजार क्षेत्रमा जुवातास खेल्नेको संख्या बढिरहेको भन्दै प्रहरीले बिशेष अपरेसन चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो । ‘कहाँ कहाँ खेलवाड भइराखेको छ हामी सूचना लिइरहेका छौँ, जुवातास नियन्त्रणमा हामी जस्तोसुकै कठोर कदम चाल्न तयार छौँ’, प्रहरी प्रमुख अधिकारीले भन्नुभयो ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार जिल्ला प्रहरीले दुई खम्बे नीतिकासाथ गैरकानुनी क्रियाकलाप नियन्त्रणमा लागिपरेको छ । पहिलो चरणमा सचेतना र दोस्रो चरणमा कार्वाहीको नीतिका साथ जिल्ला प्रहरी कार्यालय अघि बढिरहेको छ । जुवातास खेल्नेहरुका परिवारबाटै प्रहरीमा सूचना पुगिरहेको र स्थानीय समुदायले पनि जुवातास नियन्त्रणमा सक्रिय भुमिका खेलिरहेको अधिकारीले बताउनुभयो । ‘ठूलो खेलवाड भएपछि पीडित परिवारले नै सूचना दिइरहनुभएको छ, समुदायले जुवातास रोक्न हामीलाई सहयोग गरिरहनुभएको छ’, उहाँले भन्नुभयो ।