नेकपा आन्तरिक विवाद : नेतृत्व हस्तान्तरण गर्दा कुरा मिल्ला ?

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

सत्तामा रहेको नेकपाको माथिल्लो नेतृत्वले नेतृत्व हस्तान्तरण गरेर समस्या समाधान हुने भए यसतर्फ सोचविचार गरी देश र जनताको अपेक्षाअनुसार अगाडि बढ्न सबै तह र तप्काका नेता/कार्यकर्तालाई आग्रह गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटीका केही सदस्यले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशन गरी अपाच्य विवाद गरिरहने हो भने आमकार्यकर्ता तहबाट नेतृत्वलाई खबरदारी गर्दै लेनिनबादी संगठनात्मक सिद्धान्तअनुसार अगाडि बढ्न र बढाउन सबैले आआफ्नो ठाउँबाट दबाब सिर्जना गर्नु अहिलेको आबश्यकता भएको उल्लेख गरेका छन् ।

उनीहरुले समस्याको स्थायी समाधान खोजी कार्यकर्ता तहबाट पार्टीको आन्तरिक विवाद समाधानका लागि पार्टी महासचिवले गरेको आह्वानबमोजिम आवाज उठाउन अनुरोध गरेका छन् ।

नेकपाको आन्तरिक विवादले देश जनताको स्थायी सरकार हुन्छ र देशमा केही प्रगतिशील काम हुन्छ भन्ने अपेक्षा धुमिल हुने हो कि भन्ने शंका उब्जन गएको भन्दै विज्ञप्तिमा यस्तो कार्यले कसैको पनि हित नहुने र कम्युनिष्ट आन्दोलनलाई नै घाटा भएर देश र जनताका इच्छा, आकांक्षा, सहानुभूति धरासयी हुन जाने हुँदा यस्ता कार्य रोक्न र आन्तरिकरुपमा समस्या समाधानका लागि माग गरिएको छ ।

‘सबै खाले आन्दोलनबाट प्राप्त गर्ने लक्ष्य राज्यसत्ता प्राप्ति, सञ्चालन र क्रमशः आफ्नो कार्यनीति लागु गर्दै रणनीतिक लक्ष्य प्राप्त गर्ने नै हो । इतिहासमा आशा र भरोसा गरेर नेपाली जनताले कुनै व्यक्ति सत्तामा पुग्छ वा पुग्दैन भन्ने भन्दा पनि नेकपाका हजारौँ गाउँ/टोलसम्म रहेका कार्यकर्ताको त्याग तपस्या र अनुहार हेरेर मत दिएका हुन्,’ विज्ञप्तिमा भनिएको छ–जनताले केही अपेक्षा गरेका छन् । त्यसैले कार्यकर्ताले विश्वास गरेका नेताहरुको आपसी असमझदारीले कार्यकर्ता र जनतामा जुन निरासा आउने गरी विवाद छताछुल्ल भएको छ, यो अत्यन्त पीडादायी छ ।

राजनीतिक अस्थिरताको कालो बादल चिर्दै हजारौं शहीदको बलिदान, लाखौँ कार्यकर्ताको त्याग र समर्पणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको उल्लेखित विज्ञप्तिमा हाल राजनीतिक स्थिरता कायम हुँदै, देश र जनताले आशा गर्ने अबस्था सिर्जना भएको भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मकवानपुर जिल्ला कमिटी सदस्यहरु ध्रुवप्रसाद चौलागाईँ हेटौंडा, गौतमबुद्ध लामा आग्रा, खेमराज मगर फापरबारी, लोकनाथ गौतम छतिवन, सरोज खनाल थाहानगर, शंकर राई हटिया, श्यामसुन्दर परियार हेटौंडा, कल्याणविक्रम घलान थाहानगर, कृष्णप्रसाद चौलागाईंले विज्ञप्ति जारी गर्नुभएको छ ।

बीजी गौतम प्रवासी हेटौंडा, बिनोद रिजाल हेटौंडा, उपेन्द्र अधिकारी हेटौंडा, आत्मराम मुक्तान हेटौंडा, बकैया गाउँपालिका अध्यक्ष नारायण तिमल्सिना, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष ऋषिराम पुडासैनी, बागमती गाउँपालिका सचिव उत्तम पौडेल, मनहरी गाउँपालिका सचिव हेमलाल उप्रेती, बागमती प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य बिनोद महर्जन, मकवानपुर–काठमाडौं सम्पर्क मञ्च अध्यक्ष जगत्कुमार थिङसमेतले विज्ञप्ति प्रकाशन गर्नुृभएको हो ।