पटका नियन्त्रण गर्दै झापा प्रहरी

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

तिहार तथा छठ पर्व नजिकिएसँगै भारतबाट प्रतिबन्धित बारुदजन्य पटाका नेपाल भित्रिरहेको छ । कोरोना भाइरसका कारण सीमा नाका सिल भएको अवस्थामा तस्करहरूले खुल्ला नाकाको फाइदा उठाउँदै अहिले धमाधम पटाका भित्राइरहेका छन् ।

यसै क्रममा प्रहरीले भद्रपुरमा एउटा पसल र घरमा छापा मारेर पाँच बोरा पटाका बरामद गरेको छ । भद्रपुर नाकाबाट भित्राइएको पटाका तस्करहरुले व्यापारीलाई ल्याइदिएका थिए । गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका तीन लाख मुल्य बराबरको पटाका बरामद गरेको हो ।

त्यस्तै प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले केही दिनअघि साढे ६ लाख बढीको पटाका बरामद गरेको छ । भारतबाट अवैध रुपमा लुकाई छिपाई भित्राइएको सो मूल्य बराबरको पटाका विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले मेचीनगर नगरपालिका १० स्थित शान्ति समाज टोलबाट १३ बोरा पटाकासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ का २९ वर्षीय प्रसन्न जित दर्जी र सोही ठाउँका ट्याम्पो चालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेको प्रहरीले जनाएको छ । मे १ ह ५५२७ नम्बरको ट्याम्पोमा पटाका ल्याउँदै गरेको विशेष सुराकका आधारमा प्रहरी टोलीले पटाकासहित दुवै जनालाई नियन्त्रणमा लिएको डिएसपी थापाले बताउँनुभयो ।

बरामद गरिएको पटाकाको मूल्य तीन लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रहरी चौकी शनिश्चरेबाटबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ५ बाट एक लाख मूल्य बराबरको पटाका बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थित नकलबन्दाबाट दुई लाख मूल्य बराबरको पटाका बरामद गरेको डिएसपी थापाले जानकारी दिनुभयो ।

यसअघि पनि प्रहरीले कचनकवल, भद्रपुर, गौरीगञ्जका नाकाहरूबाट करिब तीन लाख बढीको पटाका बरामद गरिसकेको छ । प्रहरीले बरामद गरिएका पटाकालाई प्रहरी कार्यालयमा राखिएको र एक कार्यक्रमका बिच नष्ट गरिने जनाइएको छ ।

यता सीमा नाकाबाट भित्राइने पटाका जिल्लासहित अन्य जिल्लामा पठाइने गिरोह सक्रिय रहेका छन् । अन्य सामानको तुलनामा पटाकामा सय प्रतिशत नाफा हुने भएपछि अहिले अधिकांश तस्कर समूह पटाका भित्राउन लागि परेको समाचारले पुष्टि गरिसकेको छ ।