पारित भयो ‘ज्यानमारा भीर’ को कार्यसूची

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

लामो प्रयासपछि जिल्ला समन्वय समिति मकवानपुरले जिल्लामा बहुचर्चित ग्रामीण एक सडकको कार्यसूची पारित गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने वा राजीनामा माग्ने विषयसमेतको चर्चा चलेको बिकट गाउँपालिकास्थित सडकको कार्यसूची पारित गर्ने निर्णय गरिएको हो ।

राक्सिराङ गाउँपालिकास्थित बोटबारी–परेवाभीर–रतुवा–डोलघारी सडकको कार्यसूची पारित गर्ने निर्णय गरिएको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । बुधबार बसेको बोर्ड बैठकले सडकको कार्यसूची पारित गरेको छ ।

जिसस प्रमुख खुलालको अध्यक्षतामा बसेको ६८ औं बोर्ड बैठकले उक्त सडकको कार्यसूची पारित गरेको छ । मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिका वडा–४ मा पर्ने परेवाभीर खण्डमा सडक निर्माणका लागि पहल गर्दै आउनुभएका प्रदेश सांसद ओमबहादुर ग्लानले परेवाभीरबाट लडेर मान्छे मरे हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा ल्याएर दाहसंस्कार गर्ने धम्की संसद्मै दिनुभएको थियो । त्यसपछि मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध चिसिएको छ ।

‘करिब ५ सय मिटर रहेको उक्त चट्टानी भीरको बाटो हातले समाउँदै नुनतेल र बिरामी बोकेर लैजानुपर्ने बाध्यता छ,’ सांसद् ग्लानकै भाषामा उक्त ‘ज्यानमारा भीर’ को ‘बाटो’ हुँदै वर्षको करिब ४ महिना काँकडा, राक्सिराङ, भार्ता र डाँडाखर्कका कम्तिमा १० हजार मानिस आवतजावत गर्नुपर्ने बाध्यतामा छन् ।

वर्षामा खोलाको बाटो अवरुद्ध भएपछि प्राकृतिक भीरका चट्टान समातेर ज्यान जोखिममा पारेर हिँड्नुको बिकल्प छैन । ग्लानका अनुसार उक्त बाटोका अंशहरु धादिङतिर बाटो बनिसकेको छ भने नुवाकोटमा त गाडी नै गुडिसकेको छ । मकवानपुर खण्डमा भने ट्रयाक नै खुलेको छैन ।

उक्त कार्यका लागि प्रदेशका मन्त्रीहरु र सांसदहरुलाई भीरमुनि लगेर अबस्थाबारे स्थलगत जानकारी गराउँदा पनि न प्रदेशको बजेट न त नीति तथा कार्यक्रममा समेटिएको भन्दै सांसद ग्लानले आक्रोश पोख्नुभएको थियो ।

राक्सिराङ पालिकाले पनि परेवाभीर सडकखण्ड निर्माणका लागि जोड दिँदै आएको छ । हाल प्रदेश सरकारले मनहरी–आदमघाट खण्डमा भनेर २ करोड बजेट बिनियोजन गरेको छ । तर, उक्त बजेट परेवाभीर खण्डमा खर्च हुन्छ वा हुँदैन भन्ने अनिश्चित भइरहँदा मुख्यमन्त्रीले परेवाभीरमा बाटो नबन्ने सार्वजनिकरुपमै अभिव्यक्ति दिएपछि राक्सिराङ, कैलाश क्षेत्रका बासिन्दा आक्रोशित छन् ।

सांसद ग्लान, राक्सिराङ पालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश पालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित जनप्रतिनिधिहरु मनहरीबाट आदमघाट जोड्ने ५२ किलोमिटर मुल सडक निर्माण हुनुपर्ने र उक्त खण्ड परेवाभीरबाट जानुपर्ने अडानमा छन् ।

राक्सिराङ गाउँबाट मनहरी बजार आउँदै गर्दा मनहरी खोलाले बगाएर राक्सिराङ गाउँपालिका वडा नम्बर–४, पञ्जनी निवासी ४५ वर्षीय प्रेमबहादुर मोक्तानको केही समयअघि मृत्यु भएको थियो । उहाँलाई परेवाभीरमुनिको खोला तर्दै गर्दा मनहरी खोलाले बगाएको थियो ।

मोक्तान त एक प्रतिनिधिमात्र हुन् । परेवाभीरमा सडक नहुँदा भीर र खोलाबाट यात्रा गर्नुपर्दा वर्षेनी कम्तिमा ३ जनाको मृत्यु हुँदै आएको छ । राक्सिराङ–४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर–१, २, ७ र ८ का बासिन्दा त्यही बाटो भएर र दैनिक उपभोग्य सामग्री खरिद तथा अन्य प्रशासनिक कामका लागि परेवाभीरमा ज्यानको बाजी लगाएर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यतामा छन् ।

राक्सिराङ अध्यक्ष मल्लका अनुसार परेवाभीरका कारण एक दशकमा १२ बढी स्थानीयको ज्यान गइसकेको छ । मनहरी खोलामा पर्ने परेवाभीर स्थानीयका लागि हैरानीको विषय बनेको छ ।

जिसस बैठकले जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा रहेको संक्षिप्त वातावरणीय अध्ययन प्राविधिक उपसमितिबाट छानबिनपछि बोर्डमा सिफारिससाथ आएको भीमफेदी गाउँपालिकास्थित कोगटे–महाभीर सडकको पनि कार्यसूची पारित गरेको छ ।बैठकले हेटौंडा–१० स्थित बसपार्कमा निर्माण हुन लागेको बस टर्मिनलअन्तर्गत् भवन निर्माणका लागि उपसमितिबाट पेश भएको संक्षिप्त वातावरणीय अध्यन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको खुलालले जानकारी दिनुभयो ।

बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी, आनन्दराज पोखरेल, सदस्यहरु देवराज रिमाल, चित्रबहादुर बलामी, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान र सानुकान्छी स्यांतानलगायतको उपस्थिति थियो ।