अकर्मण्य सरकार


मानव जातिको अस्तित्वमाथि चुनौती बन्दैछ कोरोना भाइरस । उमेर समूह र दीर्घ रोगीका लागि मात्र नभएर भर्खर जन्मेको शिशुदेखि बालबालिका, युवा, वयष्क, वृद्ध सबै उमेर समूहका व्यक्तिमा यो रोगको चपेटा बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमणका कारण विशेषगरी मानिसको शरीरमा अक्सिजनको कमी हुने र मुटु, कलेजो, फोक्सो, मृगौला, आँखाजस्ता महत्वपूर्ण अंगलाई भित्रभित्रै खोक्रो बनाउँदै छ ।

कोरोना संक्रमणले रुघा, खोकी, ज्वरो, स्वासफेर्न गाह्रो हुनुका साथै निमोनियाजस्तो जटिल समस्या निम्तिदैछ । कोरोना संक्रमणका कारण विशेषगरी बिरामीलाई अक्सिजन नभै हुँदैन । तर अस्पताल भर्ना हुनका लागि सरकारी अस्पतालमा समेत ५० हजारदेखि ५ लाखसम्म धरौटी राख्नुपर्ने नियम लागु गरेको छ । सरकारको यो नियमको पालना गर्न नसक्ने सर्वसाधारणको कोरोना पहिचान पनि हुन्न र उपचार त धेरै टाढाको बिषय हो ।

सरकारले यतिसम्म गैरजिम्मेवार बन्ला भन्ने सायद जनताले सोचेका सम्म थिएनन् होला । यस अवस्थामा जनभावनाको कदर गर्नुका साथै आम नागरिकको मानव अधिकार तथा २०७२ को संविधानले नै व्यवस्था गरेको नागरिकको स्वास्थ्य अधिकारको रक्षाका लागि सरकारले लचकता देखाउन सकेन । सरकार र प्रमुख प्रतिपक्षी दलका नेताहरुले हिजो चुनावका समयमा आम नागरिकको स्वास्थ्य सुरक्षाको नैसर्गिक अधिकारको सुनिश्चित गर्ने प्रतिबद्धतासहित जनमत बटुलेको कुरालाई यतिछिटै बिर्सिएर कमिशनतन्त्रको खेलमा चुर्लुम्म डुब्नु लज्जास्पद विषय हो ।

यदि सरकारले यति ठूलो गल्ती नसच्याएमा जनताले माफी दिने छैनन् । भोलिका दिनमा जनताका अगाडि पुगेर के भन्लान् यी नेताहरुले ? कोरोना सामान्य रोग हुँदै होइन, यो विश्वव्यापी रुपमा एकैपटक तहसनहस बनाउने गरी फैलिएको महामारी हो । महामारीमा मानव अस्तित्व बचाएर देश र जनताको हितमा कसरी अघि बढ्ने र काम गर्ने भन्ने बारेमा देशको प्रमुख अंग सरकारले मार्गनिर्देश गर्नुपर्छ । सरकारले जनताको भावना, मर्म बुझेर यतिबेला संविधानको रक्षा गर्ने र सर्वोच्च अदालतले दिएको निर्देशनको पालना गर्दै महामारीबाट जनतालाई जोगाउने अठोटका साथ अघि बढोस् ।

यतिबेला जनस्वास्थ्यलाई पाखा लगाई, ठूला–ठूला, सडक, भवन, पुल, पुलेसा, नयाँ योजना बनाउनुको कुनै तुक छैन । मानव अस्तित्व नै नरहे यी सबै योजना केका लागि ?

सरकारको रटान मास्क, स्यानीटाइजर, मिचीमिची हात धुने र घरमै सुरक्षित बस्न दिएको निर्देशनले अब जनताको ज्यान बचाउन सकिदैन । यस्ता निर्देशनलाई बदलेर जो जहाँ छ सुरक्षा कसरी अपनाउने, के खाने, के लगाउने, कहाँ बस्ने र देश र जनताका लागि आफू बाँचेर अरुलाई बचाउँने भन्ने सन्देश सहितको नयाँ कार्यक्रम तथा योजना तत्काल ल्याउन जरुरी भैसक्यो ।

मास्क लगाऊ भनेर मात्र हुन्न, मास्क किन्ने आम्दानी खोई ? हात बारम्बार साबुन पानीले धोऊ भनेर मात्र हुन्न साबुन, पानीको व्यवस्था कसरी गर्ने ? यस अवस्थालाई समीक्षात्मक रुपमा हेर्दा, सरकार पूर्णतः नपुषक र अकर्मण्य देखापर्दछ । उसमा नागरिकप्रतिको जिम्मेवारी बोध छैन, ऊ केबल कमाउने र आफ्नो गुटको प्रवद्र्धन गर्ने कार्यमा केन्द्रित रहेको देखिन्छ । यो दुर्भाग्यपूर्ण हो ।