नेपालमा अव्यवस्थित शहरीकरणको चुनौती

470
Shares

सुदर्शन अधिकारी

सामान्यतया शहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ । सरकारी कार्यालय एवं बजार वाणिज्यका प्रमुख केन्द्रहरुको रुपमा विकसित भएकाले यो क्षेत्र सबैको आकर्षणको क्षेत्र बनेको हुन्छ । हाम्रो सन्दर्भमा भन्नुपर्दा जहाँ शहर भैसकेको छ त्यहाँ बस्ती विकास बढ्दो छ । ग्रामीण क्षेत्र भने मानवविहीन अवस्था पुग्न लागेको छ । यसले गर्दा शहरमा दिन–प्रतिदिन समस्या थपिँदै गएको छ । विकास पनि शहर केन्द्रित बन्दै गएको छ । गाउँको विकास गर्नुपर्नेमा सबै बनिसकेको शहरमा मात्रै आकर्षित हुँदा शहरी जीवन कष्टकर हुँदै गएको छ ।

मानवीय ज्ञान, बुद्घि र विवेकबाट पूर्ण बनाइए पनि मानवमा सोचाइ, सामूहिक प्रगति र उन्नतिको बाटोलाई समात्न नसक्दा प्रकृति हेपिँदै र खिइँदै गएको हामी सबैले देखे–भोगेकै हो । अव्यवस्थित र अनियन्त्रित अनि योजनाविहीन शहरीकरणले शहरी सम्पदा र प्राकृतिक सुन्दरतामा ह्रास ल्याएको छ । शहरीकरणको गतिसँगै प्राकृतिक सम्पदा नाश हुन नदिई शहरी जनसंख्यालाई सोही क्षेत्रका स्रोत र साधन तथा पुर्वाधारले वहन गर्न सके मात्र त्यसले फाइदा पु¥याउँछ । तर हाम्रो सन्दर्भमा ठीक विपरीत भएको देखिन्छ । जसका कारण फाइदाभन्दा बेफाइदालाई निम्त्याइरहेको छ । विगत चार दशकमा शहरी जनसंख्या पाँच गुणाले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । जनसंख्या वृद्धिकै कारण प्रकृतिले मानव कल्याण र स्वस्थ जीवनका लागि दिएको स्वच्छ हावाको गुणात्मक सुन्दरता प्रदूषित बनेको छ ।

वायु प्रदूषणले शहरी वातावरणलाई नराम्ररी गाँजेको छ । यातायातका साधनको वृद्धिसँगै ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । पुराना सवारीसाधनबाट निस्कने धुवाँ, उद्योग कलकारखानाबाट निस्कने धुवाँ–धुलो कच्ची र खाल्डाखुल्डी सडक सबै अव्यवस्थित शहरीकरणका कारण हुन् । समग्र वातावरणलाई तिनै धुवाँ–धूलो र सूर्यको किरणले गर्दा विभिन्न अस्वस्थकर ग्यासको उत्पादन भई मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ । यस्ता प्रदूषणयुक्त ग्यास वायुमण्डलमा फैलिएपछि एकातर्फ पारिस्थितिक प्रणालीमा असर पर्छ भने अर्कोतर्फ जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दछ । वायु प्रदूषणले मानवदेखि जीवजन्तु, रुखबिरुवा तथा ऐतिहासिक धरोहरमाथि समेत हानि पु¥याउँछ ।

शहरी क्रियाकलापबाट निस्केको धुवाँले दृश्य क्षमता घटाउँदै ओजन तहको विनाश गरेर मानवीय विपत्ति निम्त्याउँछ भने हरित गृह प्रभावको माध्यमबाट पृथ्वीको तापक्रम बढाउँछ, जसले गर्दा अम्लवर्षा हुन्छ । त्यसले बोटबिरुवा तथा जलचरलाई मार्नेदेखि माटोको उत्पादकत्वसमेत घटाउने कार्य गर्छ । शहरीकरणको विकास र विस्तार हुने क्रम अठारौँ शताब्दीको औद्योगिकीकरणपश्चात् भएको मानिन्छ । शहर विकासका लागि भौतिक पूर्वाधारको विकास अनिवार्य हुन्छ । जसअन्तर्गत व्यापारिक केन्द्रको विकास, व्यापार र उद्योगको विकास, बाटो, विद्युत्, यातायात, स्वास्थ्य, शिक्षा सञ्चार आदि क्षेत्रको विकास पर्छन् । विभिन्न प्रशासनिक एकाइको गठन, कार्यविशिष्टता, सेना–प्रहरी आदिको विकास हो ।

शहरीकरणको लागि अर्को आधार जनसंख्याको आकारमा वृद्धि हो । घना जनसंख्या पनि शहरको विशेषता नै हो । अर्को पक्ष भनेको सामाजिक–संस्कृतिक प्रक्रिया हो, जहाँका व्यवहार, सामाजिक सम्बन्ध, क्रियाकलाप, सोचाइ र जीवनशैली ग्रामीण जीवनशैलीभन्दा भिन्न हुन्छन् । वर्तमान समयमा नेपालको शहरी क्षेत्रलाई नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । तीनै प्रकारका नगरपालिका बन्नका लागि निश्चित पूर्वाधार तयार हुनुपर्छ भनिए पनि त्यस्ता पूर्वाधारहरुको विकास भएको देखिँदैन । न्यूनतम पूर्वाधारसमेत विकास नगरी नगरपालिका घोषणा गरिएका छन् । नेपालको असन्तुलित विकास अथवा शहरकेन्द्रित आर्थिक, प्रशासनिक र शैक्षिक विकासका साथै स्वास्थ्य, रोजगार आदिका क्षेत्रको विकास पनि शहर केन्द्रित हँुदा शहरी बसोबासको चाप बढेको छ ।

शहरी क्षेत्रमा बसोबास गर्दा वर्तमान सञ्चार साधनको प्रयोग गर्न सकिने, अन्तर्राष्ट्रिय कारोबार गर्न सकिने, सुरक्षित जीवन बिताउन सकिने मान्यताले गर्दा मानवको मनोविज्ञान नै शहरी क्षेत्रमा बसोबास गर्न प्रेरित गरिरहेको देखिन्छ । दशबर्से जनयुद्धकालमा धेरै ठूलो संख्यामा विविध कारणले गाउँ छाडेर शहरमा बाँच्न विवश भए । नेपालमा शहरीकरणको प्रकृतिलाई हेर्दा कैयौं पूर्वाधारविना नै शहरी विकास भएको मानिएको छ । शहरी न्यूनतम आधारभूत सुविधाको समेत अभाव देखिन्छ तर सोही स्थान शहरका नामले चिनिन्छ । हाम्रो शहरीकरणमा बसाइँ सराइ र भारतीय प्रवासीहरुले सीमा क्षेत्रको जनसंख्यामा निकै ठूलो परिवर्तन ल्याएको देखिन्छ । यसबाट शहरी जनसंख्या अनियोजितरुपमा बढेको छ ।

जे–जति उद्योग व्यावसाय र कलकारखाना विकास भएका छन्, ती सबै शहरी क्षेत्रमा नै केन्द्रित हुँदा भविष्यमा पनि
शहरी क्षेत्रमा मानवको चाप बढ्ने निश्चित नै छ । अव्यवस्थित शहरीकरणले जल प्रदूषणलाई अत्यधिक मात्रामा बढाएको छ । जल प्रदूषण मूलतः औद्योगिक फोहोरमैला, घरायसी फोहोरमैला, शहरी फोहोरमैला र वरिपरिबाट आउने रसायनयुक्त कृषि मैलाबाट हुन्छ । हाम्रा धेरै नगर तथा बजार क्षेत्रमा ढलको अभाव छ । फोहोरमैला व्यवस्थापनको प्रबन्ध मिलाउन सके पानीका स्रोतमा पुग्नुअगावै तिनलाई प्रशोधनको प्रक्रियाद्वारा सफा गराउन सकिन्थ्यो । तर हाम्रा वहन गर्ने क्षमता नाघिसकेका शहरबाट निस्केका ढल तथा फोहरमैला विनाप्रशोधन नदीनाला, ताल एवम् पोखरीमा पुग्ने गरेका छन् । त्यसै कारण हाम्रा प्रमुख शहरवरिपरिका नदीलाई नदी नभनेर ढल नै भन्नुपर्ने अवस्था आएको छ ।

शहरीकरणको विकास द्रुत र अव्यवस्थित भएका कारण ध्वनि प्रदूषण पनि वातावरणीय स्वास्थ्य समस्याको रुपमा धेरैजसो शहरमा देखिएका छन् । वातावरणसम्बन्धी अध्ययनको तथ्यांकले नेपालको काठमाडौँलाई सबैभन्दा प्रदूषित शहरको रुपमा देखाएको छ । शहरमा विशेष गरी ट्राफिक, औद्योगिक क्रियाकलाप, निर्माण कार्य र भीडको कोलाहल ध्वनि प्रदूषणका कारण हुन् । काठमाडौँ उपत्यका शहर र बाहिरका प्रमुख शहरलगायत राजमार्ग आसपासका शहरी क्षेत्रमा यो प्रमुख समस्या बन्दै गएको छ । शहरीकरणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको छ भने लुटेरा, डकैती, भ्रष्टाचारी, नैतिकपतन, सामन्तीजस्ता समूहहरुको क्रीडास्थल पनि बन्न गएको छ । शहरीकरणकै कारण मानवमा व्यक्तिवादीपनसमेत बढेर गएको छ भने पारिवारिक ढाँचामा पनि परिवर्तन आएको छ ।

सडक बालकहरुको संख्यामा वृद्धि र वृद्धहरु अपमानित भएका छन् भने सामूहिकता हराएको छ । दुराचार, दुव्र्यसन, चोरी, ठगी, बेरोजगारी, आत्महत्या, यौनशोषण, एकाङ्कीपन आदि पक्षको विकास भएर गएको छ । यसको असर परिवार, समुदाय, राष्ट्रियस्तरमा समेत पर्दै गएको छ, जसले मुलुकको सर्वाङ्गीण विकासमा प्रत्यक्ष र अप्रत्यक्ष असर गर्दछ । सही र सन्तुलित तथा व्यवस्थित शहरी विकासलाई भने नकारात्मक मान्न सकिँदैन । योजनाबद्ध र व्यवस्थित शहरीकरणको प्रक्रियाबाट विकासका आयामहरु थपिन्छन् । औद्योगिकीकरणको प्रक्रिया अगाडि बढ्छ भने सामाजिक अन्तरक्रिया र अन्तरसम्बन्धको दायरा पनि व्यापक बन्दै जान्छ । जसका लागि शहरीकरण गर्नुअगाडि पर्याप्त पूर्वाधारको विकास र शहर बनेपछि आउने समस्याको समुचित व्यवस्थापन गर्न सके मात्र शहरीकरणले फाइदा पु¥याउँछ ।