पदीय भागबन्डामा नेकपाको रडाको

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं
पाँच वर्ष सरकारको नेतृत्व गर्ने जनअभिमत पाएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो चर्किंदै गएको छ । विचार र सिद्धान्तभन्दा पनि पछिल्लो पदीय लडाइँ र भागबन्डामा कुरा मिल्न नसक्दा विवाद थप चर्किएको हो ।
सत्तारूढ दल नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएका छन् । तर प्रधानमन्त्री ओलीले भने सरकारको काममा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै आउनुभएको छ । नेकपाभित्र दुई समूहको विवादले कार्यकर्तामा मात्र नभई नागरिकमा समेत अन्योल सृजना गरेको छ । पार्टीभित्रको आन्तरिक किचलोले गर्दा कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने कामसमेत ओझेलमा परेको छ ।
गत असारबाट शुरु भएको आन्तरिक किचलो दुई महिनापछि अर्थात् भदौ अन्तिममा आएर सहमतिमा टुंगो लागेको थियो । तर सहमतिको मसी सुक्न नपाउँदै प्रधानमन्त्री ओलीले राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, भारतीय ‘रअ’का प्रमुखसँगको भेट, कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, पर्सा घटनालगायतको विषयप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएपछि विवाद थप सतहमा आएको छ ।
कर्णाली प्रदेशको विवाद चुलिएपछि ओली–प्रचण्डको भेटसमेत पातलिएको छ । प्रधानमन्त्रीले भेटवार्ताका लागि बारम्बार आग्रह गरेपछि केही दिनअघि ओली–प्रचण्डबीच बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीच चर्काचर्की भएपछि अहिले संवादसमेत टुटेको छ ।
नेकपाका नेता मणि थापाले पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा समस्या सृजना भएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीभित्र अहिले विचार र सिद्धान्तको लडाइँ छैन, पदीय भागबन्डाकै विषयमा नेताहरुमा असन्तुष्टि देखिन्छ, सबैले इमानदारीताका साथ पार्टीको निर्णय कार्यान्वयन गर्ने हो भने विवाद समाधान नै हुन नसक्ने जटिल खालेको छैन ।’ पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थापाले सरकारको काममा पनि पार्टीले अनावश्यकरुपमा हस्तक्षेप गर्न नहुने बताउनुभयो ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच दूरी बढेपछि पार्टीका नेताहरु विवाद समाधान गर्न दौडधूपमा लागेका छन् । पार्टीमा दोस्रा तहका नेताहरुले ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेर संवाद गर्न आग्रह गरेका छन् । यसअघि भएको भेटमा प्रचण्डले सचिवालयको बैठक बोलाउन प्रस्ताव गरे पनि प्रधानमन्त्रीले अस्वीकार गर्दा बैठकको मिति तय हुन सकेको छैन । सकेसम्म सचिवालय बैठक नबोलाउने मनस्थितिमा अध्यक्ष ओली रहे पनि कार्यकारी अध्यक्ष प्रचण्ड भने सचिवालयको बैठक बोलाएर जारी विवादको छिनोफानो गर्ने रणनीतिमा रहनुभएको छ । सचिवालयमा पछिल्लो समय प्रधानमन्त्री ओली अल्मतमा रहनुभएको छ ।
पार्टीभित्र आन्तरिक कलह चर्किंदै जाँदा मंगलबार सचिवालयमा निर्णायक मानिँदै आउनुभएका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा बोलाएरै चासो राख्नुभएको छ । पार्टी एकता भएको लामो समयसम्म पनि सांगठनिक एकताको काम टुंगो लगाउन नसकेको नेकपाभित्र एकपछि अर्को गर्दै आन्तरिक विवाद बढ्दै आएको छ । शीर्ष नेताबीच बारम्बार देखापर्ने विवादका कारण पार्टीका नेता र कार्यकर्ता अन्योलमा परेका छन् ।
नेकपाका नेता महेश बस्नेतले सरकारको काममा पार्टीले अनावश्यकरुपमा हस्तक्षेप गर्दा आन्तरिक विवाद देखिने गरेको बताउनुभयो । ‘सरकारलाई सहजरुपमा काम गर्न दिनुपर्छ, हरेक निर्णयमा हस्तक्षेप गर्दा सरकारले प्रभावकारी परिणाम दिन सक्दैन।’ –उहाँले भन्नुभयो । बस्नेतले अहिले देखापरेको विवाद पदीय भागबन्डाको मात्र भएको बताउनुभयो ।

म राजीनामा दिनेवाला छैन
काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बादीमा पारेर आफूले राजीनामा नदिने बताउनुभएको छ । उहाँले आफूले राजीनामा दिए देश बर्बादीतिर जाने बताउनुभएको हो ।
बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘तपाईंहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’
प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको बताउँदै कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न आग्रह गर्नुभयो । ‘यो सरकार फेरिन्छ कि बदलिन्छ कि भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेकथरीका कोसिसहरु आए, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहोऔं।’ –उहाँले भन्नुभयो । उहाँले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागिरहेको आरोपसमेत लगाउनुभयो ।