‘खुलामञ्चमा खाना खुवाएर देशकै इज्जतमा धक्का नपुर्याऊ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित गर्ने बताउनुभएको छ ।

खुला मञ्चमा निःशुल्क खाना खुवाउँदा मुलुककै इज्जत गएको बताउँदै खाना खुवाउने सहयोगी हातहरुलाई त्यसो नगर्न आग्रह गर्नुभएको छ । खुला मञ्चमा खाना नखुवाउन आग्रह गरेपछि आलोचित कामपाले बुधबार पत्रकार सम्मेलन गरी व्यवस्थितरुपमा खाना खुवाउँदा सहयोग गर्ने बताएको छ ।

पार्टी प्यालेस वा कुनै व्यस्थित स्थानमा खाना खुवाउन स्थान उपलब्ध गराएबापत कामपाले सहयोग गर्ने बताउँदै मेयर शाक्यले खुलामञ्चमा खाना खुवाएर देशकै इज्जतमा धक्का नपु¥याउन आग्रह गर्नुभयो । ‘खाना खुवाएकोमा हाम्रो विरोध होइन, धुलो र धूवाँ भएको स्थानमा स्वास्थ्यको ख्याल नगरेकोमा हाम्रो आपत्ति हो।’ –पत्रकार सम्मेलनमा मेयर शाक्यले भन्नुभयो ।

‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन भन्ने काठमाडौं महानगरपालिकाको नीति नै हो । अरु सबैको आशय पनि कोही भोको नपरून् भन्ने नै हो।’ –उहाँको भनाइ थियो । काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई छिट्टै व्यवस्थित गर्ने उहाँको भनाइ थियो ।

महानगरमा बस्ने सबै जनताको स्वस्थ जीवनप्रति काठमाडौं महानगरपालिका संवेदनशील रहेको बताउँदै उहाँले भन्नुभयो– ‘हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुलो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ ।’

उहाँले समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनुभएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिँदै काठमाडौं महानगरपालिकासँग समन्वय गर्न आग्रह गर्नुभयो ।

उहाँले आफूहरु जिम्मेवार निकाय भएकाले राजनीतिक स्वार्थभाव राखेर मुठभेड गर्ने वा गैरजिम्मेवार बन्ने पक्षमा नरहेको पनि बताउनुभयो । ‘हामी जिम्मेवारपूर्वक ढंगले व्यवस्थापन गर्न तयार छौं’, उहाँले भन्नुभयो– ‘कोही पनि भोको नरहने गरी हामी सम्बन्धित नियकायसँग पनि समन्वय गरिरहेका छौं ।’

उहाँले लकडाउन अवधिभर ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको पनि स्मरण गराउनुभयो । सो अवधिमा मात्रै काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको थियो ।

लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै महानगरक्षेत्रमा बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सीपका आधारमा रोजगारी दिई काठमाडौं महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको जानकारी गराउनुभयो ।

उहाँले हुनेखानेले मात्रै होइन, दीनहीनले पनि स्वस्थकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौं महानगर यो मान्यतामा दृढ छ भन्नुभयो । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न भन्दै काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ’, उहाँले भन्नुभयो– ‘कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पु¥याउने कुराप्रति हामी सबै सचेत हुनै पर्दछ ।’

पत्रकार सम्मेलनमा कामपा १०, १६ र ३ नम्बर वडाका अध्यक्षले महानगरले आपत्मा परेका सबैलाई खाना खुवाउने, श्रम गर्न चाहनेलाई श्रमको व्यवस्था र उपचार गर्न नसक्नेलाई उपचार खर्चसमेत बेहोरेको बताएका थिए ।