दिल्लीले सन्दीपलाई भरोसा गरेन 

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं
सन्दीप लामिछानेका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो तेस्रो सिजन निकै नमीठो भएको छ। नेपाली लेग स्पिनर सन्दीप दिल्ली क्यापिटल्सका खेलाडी हुन्। उनलाई तेस्रोपटक पनि दिल्ली क्यापिटल्सले टिममा लिएको थियो। तर, यूएईमा जारी आईपीएलअन्तर्गत दिल्लीको लिगका पूरै १४ खेलमा उनलाई टिमले भरोसा गरेन।
सन्दीपले लिगको पूरै १४ खेलमा बेन्चमै बसेर बिताए। आईपीएलमा प्रत्येक टिमले विदेशी खेलाडी तीनजना राख्न पाउने प्रावधान रहेको छ। यद्यपि, दिल्लीले सन्दीपलाई कुनै पनि खेलमा राख्ने जमर्को गरेन। अघिल्लो दुई सिजनमा उनले राम्रो प्रदर्शन गरेका थिए। तापनि, यो सिजनमा उनलाई दिल्लीले कुनै पनि खेलमा नखेलाउनु भनेको उनलाई भन्दा अरू खेलाडीमाथि विश्वास गर्नु नै हो। अर्को सिजनमा उनी दिल्लीबाट नभई अर्को टिमबाट खेलेमा कुनै आश्चर्यको कुरा हुने छैन।
सन्दीपले २०१८ देखि आईपीएलमा खेल्न शुरू गरेका थिए। त्यतिबेला उनी एक नयाँ खेलाडीको रूपमा थिए। त्यसैले पनि उनलाई शुरुआती ११ खेलमा प्लेइङ इलेभेनमा स्थान दिइएन। तर, दिल्ली प्लेअफबाट बाहिरिएपछि अन्तिम ३ खेलमा उनलाई मौका दिइएको थियो, जसमा ती तीनै खेलमा उनले आफ्नो क्षमता प्रस्तुत गरे। उनले ती तीन खेलबाट कुल ५ विकेट लिएर सबैको ध्यान खिचेका पनि थिए।
सन्दीपले आफ्नो उक्त पहिलो आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध डेब्यू गरेका थिए। सो खेल दिल्लीले हारे पनि उनले एक विकेट लिएका थिए। उनको आईपीएलमा पहिलो शिकार पार्थिव पटेल बनेका थिए। त्यसपछि उनले चेन्नई सुपर किंग्ससँग खेले। सो खेलमा पनि उनले एक विकेट लिएका थिए। उनले सुरेस रैनाजस्ता विश्वस्तरीय आक्रमक ब्याट्सम्यानलाई आउट गरेका थिए।
उक्त सिजनमा दिल्लीको अन्तिम खेलमा उनले आफ्नोे बलिङको धार निकै चम्काएर मुम्बई इन्डियन्सका तीन खेलाडीलाई पवेलियनको बाटो देखाए। उनले सूर्यकुमार यादवलाई १२ रनमा, किरोन पोलार्डलाई ७ रनमा र क्रुणाल पाण्डेलाई ४ रनमा आउट गरेका थिए। त्यो उत्कृष्ट प्रदर्शनमा नेपालका मिडियासँगै भारतीय मिडिया र कमेन्टरले सन्दीपको प्रदर्शनको प्रशंसा गर्न कुनै कन्जुस्याइँ गरेनन्। योसँगै उनले पहिलो सिजनको आईपीएलमा कुल ५ विकेट लिएका थिए।
अघिल्लो वर्षको आईपीएलमा सन्दीपलाई दिल्लीले पुनः अनुबन्ध ग¥यो। तर, पहिलेकै भाउमा उनलाई दिल्लीले किनेको थियो। उनी यसपटक भने विश्वका विभिन्न टी–२० पे्रmन्चाइज लिगमा खेलर विश्व प्रसिद्ध भइसकेका थिए। तर, पनि दिल्लीले पहिलेकै भाउ २० लाख भारु (नेपाली ३२ लाख रुपियँँ) मा उनलाई टिममा राखेको थियो। यो सिजनमा भने उनले दिल्लीका लागि शुरुआती दुई खेलमा खेल्न नपाए पनि तेस्रो खेलबाटै खेल्न मौका पाएका छन्।
सन्दीपले आफ्नो दोस्रो सिजनको आईपीएलमा पहिलोको तुलनामा धेरै खेल खेल्न पाए। उनले कुल ६ खेल खेलेका थिए, जसमा उनले ८ विकेट लिन पुगेका थिए। उनको उत्कृष्ट बलिङ स्पेल किंग्स इलेभेन पन्जाबविरुद्ध थियो। उनले ४० रन खर्चेर ३ विकेट ल्याउन सफल भएका थिए। उक्त खेलमा क्रिस गेलजस्ता विश्व चर्चित ब्याट्सम्यानलाई आउट गरेर सन्दीपले करियरकै ठूलो सफलता प्राप्त गरेका छन्।
सन्दीपको सम्भावना
दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ। त्यसैले, पनि सन्दीपका लागि खेल्ने सम्भावना अझै बाँकी छ। बिहीबार हुने इलिमेनेटर १ मा दिल्लीको प्रतिस्पर्धा मुम्बई इन्डियन्ससँग हुनेछ। यदि, यो खेल जितेमा सीधै फाइनलमा खेल हुनेछ। यदि, हारेमा पनि टिमले फाइनलमा पुग्न अर्को एक खेल खेल्न पाउनेछ।