टोटनह्यामको महत्त्वपूर्ण जित

0
Shares

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले महत्त्वपूर्ण  निकालेको छ।
यसै समर विन्डोमा अनुबन्ध भएका वेल्स स्टार ग्यारेथ बेलले दोस्रो हाफमा मैदान छिरेर निर्णायक गोल गरेपछि टोटनह्यामले जितको नतिजा निकालेको हो। आइतबार राति भएको खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा पाहुना टोली ब्राइटनलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
टोटनह्यामको जितमा ह्यारी केनले पेनाल्टीमार्फत शुरुआती गोल गरेका थिए। खेलको १२औं मिनेटमा ब्राइटनका खेलाडीले डिबक्समा ह्यारी केनलाई लडाएपछि रेफ्रीले भिएआरमार्फत टोटनह्यामलाई पेनाल्टी दिएका थिए। जसमा केनले गोल गरेर टिमलाई १–० ले अगाडि पारेका थिए। तर, ब्राइटन खेलको ५६औं मिनेटमा खेलमा फर्कियो। ब्राइटनका लागि टाक्र्वी लाम्पाटेले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।
उक्त गोलपछि जोसे मोउरिन्होले खेलको ७०औं मिनेटमा इरिक लामेलाको स्थानमा ग्यारेथ बेललाई मैदानमा प्रवेश गराएका थिए। मैदान छिरेको दुई मिनेटभित्र नै बेलले हेडिङमार्फत उत्कृष्ट गोल गर्दै टोटनह्यामलाई खेलमा पुनः अग्रता दिलाए। सर्जियो रेगुइलियोनले डिबक्सभित्र दिएको पासमा बेलले कुनै गल्ती नगरी बललाई कर्नर च्यापेर हेडिङमार्फत जाली चुमाएका थिए।
दोस्रोपटक टोटनह्याममा अनुबन्धित भएयता उनले ४ खेलबाट एक गोल गर्न सफल भए। यसअघि उनले लिगमा दुई र युरोपा लिगमा दुई गरी चार म्याच खेलेका छन्। यो जितस“गै टोटनह्यामले लिगका ७ खेलपछि १४ अंक जोडेको छ । पराजित ब्राइटनको भने ५ अंक मात्र रहेको छ।
इंग्लिस प्रिमियर लिगकै अर्को खेलमा आर्सेनलले पनि म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। आर्सेनलले युनाइटेडलाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले स्तब्ध बनाएको हो। ओल्ड ट्राफोर्डमा भएको खेलमा आर्सेनलले गरेको एक मात्र निर्णायक गोल पेनाल्टीमार्फत गरेको थियो।
निकै प्रतिस्पर्धात्मक उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा आर्सेनलले पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिएर सोही अग्रता बचाएर खेल नै जित्न सफल भएको हो। युनाइटेडको डिबक्समा पाउल पोग्बाले हेक्टर बेरेललिनलाई फाउल गरेर लडाएपछि रेफ्रीले आर्सेनललाई पेनाल्टी हान्ने मौका दिएका थिए। जसमा पियरे इमरिक अउबामेयाङले विनाकुनै गल्ती गोल गरेका थिए।
आर्सेनलले गोल गरेपछि युनाइटेडले पनि थुप्रै पटक बराबरी गोल फर्काउने प्रयास गरेका थिए। तर, सबै प्रयास विफल बनेपछि आर्सेनलले आफ्नो पोल्टामा तीन अंक बटुल्न सफल भयो। उक्त जितस“गै आर्सेनलले ७ खेलबाट १२ अंक जोडेको छ। यता, पराजित युनाइटेडको भने ६ खेलबाट ७ अंक मात्रै रहेको छ।