शरिर बन्धक र बैँकिङ कसुर मुद्दामा फरार दुई प्रतिवादी कारागार चलान

0
Shares

न्युज अफ नेपाल, भद्रपुर।

शरिर बन्धक र बैँकिङ कसुर मुद्धाका दुई प्रतिवादी कारागार चलान भएका छन् ।

मेचीनगर १२ का नरेश मेचे र कन्काई ३ का राजेन्द्रप्रसाद प्रसाई कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । केही दिनअघि पक्राउ परेका दुवै फरार अभियुक्तहरुलाई झापा जिल्ला अदालतको आदेशमा झापा कारागार चलान गरिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

सङ्गठित रुपमा मानव अपहरण गरी शरिर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्धामा सुनिलकुमार अग्रवालले मेचेमाथि जाहेरी दिएका थिए । उनलाई झापा जिल्ला अदालतबाट २०७५ फागुन २७ मा सत्र बर्ष कैद र एक लाख पचास हजार जरिवाना तोकिएको थियो । घटनापछि फरार रहेका मेचेलाई केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाण्डौको पहलमा कात्तिक २ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा बुझाईएको उहाँले बताउँनुभयो ।

त्यस्तै भगवति ढुङ्गेल र सुरेन्द्रकुमार उप्रेतीको जाहेरीमा बैंकिङ कसूर मुद्दामा उच्च अदालत बिराटनगरको इलाम इजलाशले दुई महिना कैद र एक करोड २५ लाख रुपैयाँ विगो सुनाइएका प्रसाईलाई पनि जेल चलान गरिएको उहाँको भनाइ छ । हालसम्म फरार रहेका प्रसाईलाई कात्तिक ११ गते प्रहरीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।