एसओएस बालग्रामद्वारा नि:शुल्क इन्टरनेट र ट्यावलेट सहयोग

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

एसओएस बालग्राम काभ्रेपलाञ्चोकले पारिवारीक सुदृढीकरण कार्यक्रम अन्र्तगत छात्रवृत्ति उपलब्ध गराएका परिवारका सदस्य बालबालिकाहरुलाई अनलाईन माध्यमबाट कक्षा संचालन गर्ने उदेश्यले ट्यावलेट, ट्यावलेटलाई आवश्यक पर्ने नेपाल टेलिकमको सिम र आवश्यक डाटा उपलब्ध गराएको छ ।

बालग्रामले पारिवारीक सुदृढीकरण कार्यक्रम मार्फत सहयोग उपलब्ध गराएका ३९ परिवारका सदस्यहरु मध्ये २४ जना बालबालिकाहरुलाई उक्त सामाग्री उपलब्ध गराईएको हो । ‘एसओएस बालग्राममा पैसा धेरै भएर बालबालिकाहरुलाई ट्यावलेट उपलब्ध गराईएको होईन यो त उनिहरुको शिक्षाका लागि भएको श्रोतलाई कटौती गरिएको हो’–एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र अम्गाईले भन्नुभयो–‘जेठ १ गते देखि विद्यालयमा संचालन भएको अनलाईन कक्षामा विद्यार्थीहरुको अनुपस्थिती भएसँगै बालग्रामको पारिवारीक सुदृढीकरण कार्यक्रम मार्फत ट्यावलेट उपलब्ध गराउने निर्णय गरेको हो ।’ एसओएस बालग्रामले बालग्राम भित्र राख्न नसकेका बालबालिकाहरुलाई नजिकका आफन्तकोमा राखेर अध्ययन अध्यापनका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सोहि कार्यक्रम अन्र्तगतका बालबालिकाहरुलाई उक्त सहयोग उपलब्ध गराएको निर्देशक आम्गाईले बताउनु भयो ।

विद्यालयमा अध्ययन गर्ने ६ सय ७० बालबालिकाहरु मध्ये बालग्राम भित्रका घरमा बस्ने बालबालिकाहरु सामुहिक अध्ययन गरिरहेका छन् । बालग्राम बाहिर रहेका बालबालिकाहरुमा मोवाईल र मोवाईल सहितको इन्टरनेट पहुँच नभएकाले उक्त सहयोग उपलब्ध गराईएको प्रिन्सिपल नरेश्वर आचार्यले जानकारी दिनु भयो । पनौती नगरपालिका वडा नम्वर ५ का कार्यवाहक सदस्य श्रीराम मैनाली, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले बालग्रामले उपलब्ध गराएका शैक्षिक सामाग्रीको सहि सदुपयोग गर्न अनुरोध गर्नु भयो । सहयोग उपलब्ध भए लगत्तै बालबालिकाहरुको तर्फबाट अभिभावक कोपिला सुनारले बालग्रामलाई धन्यवाद दिदै अभिभावकहरुको मोवाईल नहुँदा अध्ययनमा भएको समस्याबाट मुक्त भए पछि कक्षा ९ मा अध्ययन गर्ने छोरा असिम सुनार खुशी भएको बताउनु भयो । ओखलढुङ्गा घर भई बनेपाको पुलबजार बस्दै आउनु भएकी कोपिलाको मोवाईल भए पनि इन्टरनेटको पहुँच र बालमैत्री थिएन ।

एसओएस बालग्राममा नर्सरी कक्षा देखि अध्ययन गरिरहेकी कक्षा १० की छात्रा दिपिका धिमालले ट्यावलेटको सहयोगले अध्ययन सूचारु हुने बताउनु भयो । ‘बाबाको अत्तोपत्तो नभएको, आमा बोल्न नसक्ने, हजुरआमा बृद्ध अवस्थाको हुँदा आय आर्जन गर्ने अभिभावकहरु हुनुुहुन्न, एसओएस बालग्राममा निशुल्क अध्ययन गर्ने र मासिक १ हजार ५ सय सहयोग समेत गर्ने भएकाले अध्ययन सहज थियो तर लकडाउनका कारण विद्यालय बन्द हुँदा शुरु भएको अनलाईन कक्षा नियमित गर्न मोवाईल नै नभएका कारण सम्भव भएन’–कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी दिपिका धिमालले भन्नुभयो–‘जेठ १ गते देखि विद्यालयले अनलाईनको माध्यमबाट कक्षा शुरु गर्‍यो, केहि दिन छिमेकी दाजुको पुरानो मोवाईल मागेर चलाएँ । पछि इन्टरनेट नभएका कारण कक्षा नियमित हुन सकेन । विद्यालयको उक्त सहयोगले अध्ययन नियमित हुने आशा जगाएको छ ।’

बालग्राम युवालय निर्देशक नरेशभक्त प्रधानाङ, नायक निर्देशक तु्लसीरत्न चुजु, प्रकाश अर्याल लगायतले बालग्रामले बालबालिकाहरुको भविश्यका लागि उपलब्ध गराएका शैक्षिक सामाग्रीहरुको भरपुर उपभोग गर्न अनुरोध गर्नु भयो । अभिभावकहरुले विषम परिस्थितीमा बालग्रामले अभिभावक र बालबालिकाहरु प्रति गरेको सहयोगले बालबालिकाहरुको शिक्षामा सहजता मिलेको बताए ।