रियल मेड्रिडको सहज जित

0
Shares

लन्डन, (एजेन्सी)

रियल मेड्रिडले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ। शनिबार राति भएको लिगको सातौं खेलमा रियलले हुएस्काविरुद्ध ४–१ गोलअन्तरको सहज जित आत्मसात् गरेको हो।

रियलको घरेलु मैदान अल्फ्रेडे डे स्टेफानो रंगशालामा भएको खेलमा रियलाई जिताउन तीनजना खेलाडीले गोल गरेका थिए। बेल्जियमका स्टार इडेन हाजार्डले लामो समयपछि मैदान फर्किएको खेलमै गोल गरेर आफ्नो उत्कृष्ट कमब्याक देखाए।

प्रमुख खेलाडी हाजार्डले रियल मेड्रिडको जर्सीमा ३ सय ९२ दिनपछि गोल गरेका हुन्। उनले सिजन २०२०÷२१ मा पहिलो म्याच खेल्दै गोल गरे। रियलका लागि खेलको ४०औं मिनेटमा हाजार्डले फेडे भाल्भर्डेको पासमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनको शक्तिशाली प्रहार हुएस्काका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्।

त्यसपछि, खेलको ४५औं मिनेटमा लुकास भासक्वेजको पासमा करिम बेन्जेमाले गोल गरेपछि पहिलो हाफसम्म रियलले २–० ले अघि रहेको थियो। दोस्रो हाफमा भने रियलले थप दुई गोल गर्दा एक गोल व्यहोर्न पुग्यो। खेलको ५४औं मिनेटमा रियलका लागि फेडे भाल्भर्डेको पासमा बेन्जेमाले गोल गेरर रियललाई जिततर्फ अघि बढाएका थिए।

तर, खेलको ७४औं मिनेटमा हुएस्काका लागि डेभिड फेरेरियाले क्रस पासमा आकर्षक गोल गरेपछि खेल ३–१ को स्थितिमा पुगेको थियो। त्यस्तै, खेलको ९०औं मिनेटमा बेन्जेमाले रोड्रिगोको पासमा व्यक्तिगत दोस्रो गोल थपेपछि रियलले खेल ४–१ ले जित्यो। यससँगै रियलले ७ खेलबाट १६ अंक जोडेको छ। यता पराजित हुएस्काको ५ अंक रहेको छ।

शनिबार नै भएको अर्को खेलमा पोर्चुगिज युवा फरवार्ड जुआओ फेलिक्सको दुई गोलको योगदानमा एथ्लेटीको मेड्रिडले प्रभावशाली जित निकालेको छ। लिगको छैठौं खेलमा एथ्लेटीकोले अवे मैदानमा ओसासुनालाई ३–१ गोलअन्तरले निराश बनायो। एथ्लेटीकोलाई जिताउनेक्रममा फेलिक्सले पेनाल्टीसहित दुई गोल गरेका थिए। उनी थप एक पेनाल्टी प्रहारमा भने चुकेका थिए।

एथ्लेटीका लागि खेलको ४३औं मिनेटमा फेलिक्सले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। डिबक्समा ओसासुनाका खेलाडीले एथ्लेटीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा फेलिक्सले गोल गर्दै टिमलाई अग्रता दिलाए।

त्यस्तै, खेलको ४८औं मिनेटमा एथ्लेटीकोले दोस्रो पेनाल्टी पाएको थियो। डिबक्समा ओसासुनाका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरमार्फत एथ्लेटीकोलाई पेनाल्टी दिएका थिए। तर, फेलिक्सको पेनाल्टी प्रहार गोलपोस्टको बारमा लागेर फर्किएपछि पाहुना टोलीले अग्रता बढाउन सकेन।

त्यसपछि, ६९औं मिनेटमा एथ्लेटीका लागि फेलिक्सले नै व्यक्तिगत दोस्रो गोल गरे। उनले डिबक्स लाइनबाट हानेको कडा प्रहारले सोझै जाली चुमेको थियो। खेलको ८०औं मिनेटमा ओसासुनाका लागि एन्टे बुदिमिरले गोल गरेर खेल २–१ मा छोट्याएका थिए।

तर, ८८औं मिनेटमा एथ्लेटीका लागि लुका टोरेरियाले गोल गरेपछि एथ्लेटीकोले ३–१ को जित पक्का ग¥यो। जितसँगै एथ्लेटीकोले ६ खेलबाट १४ अंक जोडेको छ। यता पराजित ओसासुनाको ७ खेलबाट १० अंक मात्र रहेको छ।

बार्सिलोना रोकियो
स्पेनिस ला लिगाको महारथी क्लब बार्सिलोना लिगको छैठौं खेलमा हारबाट मुस्किलले जोगिएको छ। पाहुना टोली बार्सिलोनालाई अलाभेसले आफ्नो मैदानमा १÷१ गोलको बराबरीमा रोकेको हो। घरेलु टोली अलाभेस खेलको ६२औं मिनेटमा १० खेलाडीमा खुम्चिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन भने सकेन।

अलाभेसका लागि खेलको ३१औं मिनेटमा लुईस रिओजाले गोल गरेका थिए। पहिलो हाफसम्म एक गोलले पछि परेको बार्सिलोनाका लागि ऐन्टोइन ग्रिजम्यानले खेलको ६३औं मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि, खेलमा कुनै गोल भएन र दुवै टोलीले समान एक–एक अंक आफ्नोपोल्टामा पार्न सफल भए।