मकवानपुरगढीमा बिकासले फड्को मार्दै

0
Shares

कृष्णउदास खनाल,हेटौंडा ।

मकवानपुर गढी गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासका कामले फड्को मारेको छ । ठाउँ–ठाउँमा सडक निर्माणको काम संगै वर्षायाममा खोला तर्न नसक्ने स्थानमा पक्की पुल, फलामे पुल र कल्भर्ट निर्माणको कामले तीब्रता पाएको छ । पहिले कच्ची सडक, त्यो पनि वर्षायाममा सवारी नचल्ने बाध्यता भोग्दै आएका गाउँपालिकावासी तीन वर्षको अवधिमा पक्की सडक र खोलामा पुलबाट सहजै रुपमा ओहोर दोहोर गर्न थालेका छन् ।

जनप्रतिनिधि आएपछी यो तीन वर्षको अवधिमा एक दर्जन पक्की पुल, झोलुङ्गे पुल र कल्भर्ट पुल समेत गरी एक दर्जन पुल निर्माणका लागि काम भएका छन् । केही बनी सकेका छन् भने केही निर्माणका चरणमा रहेका छन् ।मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सक्रियतामा गाउँपालिकामा पुल निर्माण र सडक निर्माणले निकै प्राथमिकता पाएका छन् ।

पुल निर्माणका काममा सबै भन्दा धेरै गाउँपालिका आफैले बजेट हालेको छ । संघीय सरकार र प्रदेश सरकारले केही बजेट छुट्याएर काम भएको छ ।पुल निर्माणको एउटा ज्वलन्त उदाहरण मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ को ज्यामिले खोलामा निर्माण गरिएको दोहोरो गाढी चल्ने पक्की पुल हो । कुल ३ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुल निर्माणमा गढी गाउँपालिका आफैले सबै भन्दा धेरै एक करोड ७८ लाख रुपैयाँ खर्च गरेको अध्यक्ष हुमागाईले वताउनुभयो ।

त्यसमा संघीय सरकारले एक करोड रुपैयाँ र ३० लाख रुपैयाँ बागमती प्रदेश सरकारले खर्च गरेको छ । वर्षायाम लाग्ने वित्तिकै उर्लिएर आउने ज्यामिरे खोलाको त्रास अब हटेको छ । पुल निर्माण भएपछी एउटा गाउँबाट अर्को गाउँ सम्म पुग्नका लागि मात्र होइनकी गढीका वासिन्दाको हेटौंडा आउन पनि समस्या थियो ।वषौं देखि बर्षायाममा ज्यामिरे खोला ओहोर दोहोर गर्नका लागि समस्या हुने गरेको भएपनि अहिले भने सहज भएको स्थानीय वासिन्दाहरु वताउँछन् ।

पुल निर्माण भएपछी स्थानीय निकै हर्षित समेत भएका छन् । वर्षा लागेपछी मानिसलाई खोला तर्न पनि समस्या हुने र सवारीका साधन ओहोरर दोहोर गर्न झनै समस्या थियो । तर, अहिले पुल निर्माण भएपछी त्यो समस्या हटेको अध्यक्ष हुमागाईले वताउनुभयो ।गढी गाउँपालिकाको पहलमा गढी ४ वाइवाडाँडा र गढी ५ कालिवन जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ ।

यसैगरी मकवानपुर गढी गाउँपालिकाका वडा नम्बर ८ ओखरडाँडा र भीमफेदी गाउँपालिकाको वडा नम्बर २ इचुङ जोड्ने झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । मकवानपुर गढी ५ सिमल्टार र गढी ४ कुसुमटार जोड्नको लागि फलामे पुल निर्माण गर्न लागिएको अध्यक्ष हुमागाईले वताउनुभयो ।

कुल ६५ लाख रुपैयाँ लागतमा पुल निर्माण गर्न लागिएको हो । सडक नभएका र अहिले तत्काल समस्या भएका स्थानमा झोलुङ्गे पुल र फलामे पुल निर्माणले प्राथमिकता पाएका छन् । थोरै मात्र गाउँलेले प्रयोग गर्ने स्थानमा झोलुङ्गे पुल निर्माण गरिएपनि धेरैलाई ओहोर दोहोर गर्ने स्थानमा भने पक्की ठुला पुल निर्माणले प्राथमिकता पाएका छन् ।

यसैगरी गढीको बागदली– देविडाँडामा स्टील ट्रस व्रिज निर्माण गर्न लागिएको छ । गाउँपालिका र संघीय सरकारको समपुरक बजेटबाट पुल निर्माण गर्न लागिएको हो । कुल ३ करोड लागतमा निर्माण गर्न लागिएको पुलमा संघीय सरकारको एक करोड १८ लाख र अरु एक करोड ८२ लाख गाउँपालिकाको लागतमा निर्माण गर्न लागिएको छ । ठेक्का मार्फत यो पुल निर्माणको काम भइरहेको छ ।