म्याग्दी जीप दुर्घटना : गम्भीर घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरियो

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

म्याग्दीमा आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ११ जना घाइते भएका छन् ।

रघुगंगा गाउँपालिका–६, ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीप दुर्घटनामा परेर मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानीको १० वर्षीया बालिका रिया विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी दुर्घटनामा परेर घाइते हुनेहरुमा रघुगंगा–६, पाखापानीका ३० वर्षीय चालक नन्दलाल छन्त्याल, ८ वर्षीया दिक्षा शेरपुजा र बेनी नगरपालिका–८, बेनीका ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको सूचना अधिकारी सुवेदीँले बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण–२, भूरुङ–तातोपानीकी टकमाया विक, रघुगंगा–६, पाखापानीका ३० वर्षीय वसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाईजा, २० वर्षीया सिर्जना शेरपुजा, ४० वर्षीया ठककुमारी शेरपुजा, १४ वर्षीया दिवा शेरपुजा, माया छन्त्याल र ७ वर्षीया इच्छा शेरपुजा घाइते भएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।

घाइतेहरुको अहिले बेनी अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइतेहरुको हातखुट्टा, मेरुदण्डलगायत शरिरको विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।