६ महिनामा ३ सय ६७ वटा बलात्कारका घटना, ७७ प्रतिशत प्रभावित १८ वर्षमुनिका बालिका र किशोरी

0
Shares

नेपाल समाचारपत्र,काठमाडौ ।

ओरेकले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरुलाई अभिलेखिकरण तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्दै आएको छ । यसैक्रममा बैसाख देखि असोज २०७७ सम्मको ६ महिनाको अवधीमा जम्मा १ हजार ६ सय ७३ वटा महिला तथा बालिकामाथि भएको लैङ्गिक विभेदमा आधारित हिंसाका घटना ओरेकमा अभिलेखिकरण भएको छ जसमध्ये ९० प्रतिशत घटना प्रभावितको समुदाय र परिवारमै घटेको पाइएको छ ।

साथै असोज महिनामा मात्र ओरेकले कार्यालयमा अभिलेखिकरण गरेका (१ सय ३८) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (५०) तथ्याङ्कका आधारमा १ सय ८८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको जनाएकोछ ।

क) महिला हिंसाको प्रकार

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा पछिल्लो छ महिनामा ३ सय ६७ वटा (२२ प्रतिशत) बलात्कारको तथ्याँक संकलन भएको छ जसमा ४४ वटा सामुहिक बलात्कारको घटना समावेश छ । यसैगरी ८ सय २५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । त्यसैगरि १ सय ६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना संकलन भएका छन् । साथै १८ वटा (१ प्रतिशत) मानव वेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार, ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटनाको तथ्याँक संकलन भएको छ ।

बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारको तथ्यांकलाई हेर्दा ३० प्रतिशत महिला तथा बालिकामाथि हुने हिंसाका घटना यौनजन्य हिंसा रहेको पाइन्छ जुन घरेलु हिंसा पछाडी सबैभन्दा बढी रहेको छ । बलात्कारबाट प्रभावितमध्ये २ सय ८३ जना (७७ प्रतिशत) १८ वर्ष मुनिका बालिका र किशोरी रहेका छन् जसमा २ वर्षदेखि १० वर्षसम्मका ३९ जना (१३ प्रतिशत) बालिका छन् भने ११ देखि १८ वर्षमुनिका २ सय ४४ (८६ प्रतिशत) बालिका र किशोरी रहेका छन् ।

प्रभावितको आरोपितसँगको सम्बन्ध हेर्दा १ सय ६१ जना (५७ प्रतिशत) आरोपित छिमेकी, ५३ जना (१९ प्रतिशत) परिवारका सदस्य, २३ जना (८ प्रतिशत) प्रेमी, ४ जना (१ प्रतिशत) शिक्षक, ८ जना (३ प्रतिशत) सेवा प्रदायक र २५ जना (९ प्रतिशत) मात्र अपरिचित रहेका छन् ।

ख) प्रभावितको उमेरको आधारमा बर्गीकरण

उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५ सय २२ जना (३१ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ४३९ जना (२६ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् । यसैगरी ३ सय ४ जना (१८ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, १ सय ९१ जना (११ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, ९१ जना (५ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका प्रभावित रहेका छन् । त्यसैगरी ७८ जना (५ प्रतिशत) महिलाको उमेर खुलेको छैन भने ४८ जना (३ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका प्रभावित रहेका छन् ।
ग) प्रभावितको पीडकसँगको सम्बन्ध

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ६ सय ४३ वटा (३८ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ३ सय ७३ (२२ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ र ३ सय ६५ वटा (२२ प्रतिशत) हिंसाको घटना परिवारका सदस्यवाट भएको छ । त्यसै गरी ४८ वटा (३ प्रतिशत) सेवा प्रदायकबाट, १ सय ११ वटा (७ प्रतिशत) अपरिचित व्यक्तिबाट, ७९ वटा (५ प्रतिशत) हिंसा प्रेमिबाट, त्यस्तै ३७ वटा (२ प्रतिशत) साथीबाट र १५ वटा (१ प्रतिशत) शिक्षकबाट हिंसा भएको पाईएको छ ।
बालिका तथा किशोरीमाथि भएका बलात्कारका घटना साथै महिला माथि हुने सबै प्रकारका हिंसाहरु मध्ये करिब ९० प्रतिशत घटना आफ्नै समुदाय, घर र परिवारभित्र भएको यो तथ्यांकले देखाउँछ ।
घ) आरोपित र उमेर

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ४ सय ७४ जना (२८ प्रतिशत) युवाहरु रहेका छन् । यसैगरी ३ सय ३० जना (२० प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका, ३ सय ६९ जना (२२ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका यवाहरु रहेका छन् भने २ सय ३१ जना (१४ प्रतिशत) उमेर समुह थाहा नभएका पुरुषहरु, १ सय ६९ जना (१० प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु, ७५ जना (४ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र ३७ जना (२ प्रतिशत) १६ वर्ष भन्दा मुनिका किशोर हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।

ङ) प्रभावितको जातियता

हिंसा प्रभावित महिला तथा बालिकाको जातियता हेर्दा ५ सय ५८ जना (३४ प्रतिशत) जनजाती, २ सय ९९ (१८ प्रतिशत) दलित, ४ सय २४ (२५ प्रतिशत) ब्राम्ह्ण÷क्षेत्री, १ सय ४० (८ प्रतिशत) तराइ गैरदलित र ३४ (२ प्रतिशत) मुस्लिम छन् भने २ सय १८ (१३ प्रतिशत) जना को जातिय विवरण खुलेको छैन ।
निष्कर्ष
महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुनी व्यवस्था तथा कानुनी समानता मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी कार्यान्वयन सँगै सामाजिक रुपान्तरण हुनु पनि उत्तिकै आवश्यक छ । जसका लागि ओरकले संयोजन गरेको “मौनता तोडौं” – बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानले निम्न अवस्थामा परिवर्तनले मात्र बलात्कार तथा महिला र बालिकामाथि हुने सबै प्रकारको विभेदको अन्त्य हुन सक्ने विश्वास लिएको छ ।
१. लिङ्ग,उमेर, जात, वर्गका कारण परिवार र समाजमा रहेको असमान शक्तिसम्बन्धमा परिवर्तन नहुँदासम्म शक्ति को आडमा गर्ने शोषण, दमन, हिंसा रहिरहने भएकोले सबैखाले विभेदको अन्त्य गरी शक्तिसम्बन्धमा रुपान्तरण गर्न जोड दिइयोस् ।
२. अपराधको ढाकछोप, अपराधीको संरक्षण गर्ने परिपाटीले अपराधीको मनोवल उच्च रहने तथा प्रभावितले सँधै पीडित हुनुपर्ने अवस्थाको को अन्त्य गर्दै कानुनको पूर्णरुपमा कार्यान्वयन गरी दण्डहीनताको अन्त्य गरियोस् ।

३. प्रभावितले मुद्दा दर्ता गर्न तथा न्याय प्राप्त गर्नका लागि समेत व्यहोर्नुपर्ने झण्झटिलो न्याय प्रणालीले गर्दा न्याय प्राप्त गर्नबाट वञ्चित हुनु परेको छ । तसर्थ बलात्कार जस्तो जघन्य अपराध र लैंगिक हिंसाका घटनाहरुलाई उच्च प्राथमिकतामा राख्दै द्रुत न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गरियोस् ।

४. विद्यमान कानुनको व्याख्याले पीडकलाई कारवाहीको रुपमा मात्र सिमित गरेकोले प्रभावितले आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितता सहितको न्यायको अनुभूती गर्ने वातावरण निर्माणका लागि न्यायलाई सामाजिक न्यायको अवधारणाको आधारमा व्याख्या गरियोस् ।

५. महिलाको शरीरलाई परिवार तथा समाजको इज्जतको सवालको रुपमा मात्रै हेर्ने हानिकारक सोचले महिलामाथि हुने सबै प्रकारका हिंसामा सामाजिक मौनताको संस्कृतिलाई निरन्तरता दिएको छ । यसका लागि विभेदित सामाजिक संरचनागत रुपान्तरण गरी हिंसा विरुद्ध विरुद्ध शुन्य सहनशीलता सुनिश्चित गरियोस् ।

६. बलात्कार जस्तो जघन्य अपराधका घटनालाई इज्जत र प्रतिष्ठाको विषय वनाई मेलमिलाप गराउने पीडित÷प्रभावित लाई लाञ्छना लगाउने, डर, धाक, धम्की दिने, बसोवास गरिरहेको स्थान छोड्न बाध्य वनाउने, कतिपय घटनामा उजुरी लिन आनाकानी गर्ने, पीडित र परिवारलाई राजनीतिक दबाव दिने, पीडक लाई संरक्षण गर्ने जस्ता कार्यहरुलाई अपराधीकरण गरी प्रभावितको लागि सुरक्षित, संवेदनशील, दीर्घकालिन र पहुँचयुक्त सहयोगी संयन्त्रको विकास गरियोस् ।

बलात्कार तथा लैङ्गिक हिंसाका बारेमा जनचेतना, ंिहसा नुहने वातावरण, प्रभावितको सामाजिक न्याय तथा कानुनी न्यायको अधिकार सुनिश्चितताकाको वातावरण निर्माणका लागि ओरेकको संयोजनमा विभिन्न संघसंस्थाको सहकार्यमा “मौनता तोडौं” – बलात्कार र लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका दिनमा १३ वटा जिल्लाबाट प्रदर्शन गर्दै सुरु भएको थियो । यो अभियान मानव अधिकार दिवस १० डिसेम्बरसम्म सञ्चालन भइरहेको छ । अभियानको अवधीमा धर्ना, राजनैतिक दल तथा सरकारी निकायलाई ध्यानाकर्षण, समुदायस्तरमा सचेतीकरण कार्यक्रम, परामर्श गोष्ठि तथा बहसहरु सञ्चालन हुने ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताउनुभयो ।