एकद्वार प्रणालीबाट खानेपानी वितरण

0
Shares

अमृत अर्याल,स्याङजा ।

वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरभित्रका शहरी क्षेत्रहरुमा एकद्वार प्रणालीबाट खानेपानी वितरण थाल्ने बताउनुभएको छ । वालिङ ८ बसपार्कमा डिप बोरिङ लिफ्टिङ खानेपानीको उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले शहरी क्षेत्रमा रहेका खानेपानीका स्रोतहरुलाई एकीकृत र ब्यवस्थित गर्दै एकद्वार प्रणालीबाट वितरण थाल्ने बताउनुभएको हो ।

नगरपालिकाले शहरी क्षेत्र र ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै खानेपानी ऐन र कानून निर्माण गरेर कार्यान्वयनमा लैजाने तयारी भईरहेको उहाँले बताउनुभयो । “नगरपालिकाले नगरभित्रका विभिन्न छ ठाउँमा डिप बोरिङमार्फत सफलरुपमा खानेपानी निकालिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अझै तीन ठाउँमा डिप बोरिङमार्फत पानी निकाल्छौं र अबको कम्तिमा पनि ३० वर्षका लागि स्वच्छ र पर्याप्तरुपमा नगरबासीलाई खानेपानी उपलब्ध गराउँछौं ।”

वालिङ नगरपालिकाले निर्माण गरेको डिप बोरिङको ब्यवस्थापन वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गर्ने भएको छ । कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरबासीलाई स्वच्छ र पर्याप्तमात्रामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी नगरको भएको बताउँदै आफ्नो कर्तब्य पूरा गरेर छाड्ने बताउनुभयो । उहाँले वालिङमा पानीको स्रोतहरुको सही सदुपयोग गरी नगरबासीलाई खानेपानी पु¥याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा खानेपानी वितरणलाई ब्यवस्थित बनाउँदै लगिनेमा जोड दिनुभयो ।