नेपालमा पनि मनाइयो विश्व सम्मान दिवस

70
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बालबालिका लक्षित कार्यक्रम विश्व सम्मान दिवस बुधबार, २१ अक्टोबारका दिन नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइयो ।ग्लोबल डिग्निटी नेपालका अनुसार मुलुकको विभिन्न स्थानमा रहेका बालबालिकालाई भच्र्युयल मिटिङका माध्यमले एकसाथ भेला गराएर उनीहरुका जन्मसिद्ध मानवअधिकार, सम्मानको हक र अन्य विविध विषयमा छलफल गरियो ।

किड्स अफ काठमाडौंको साझेदारी तथा सहयोगमा ग्लोबल डिग्निटीले अक्टोबर महिनाभर नेपालका विभिन्न भागमा अभिप्रेरक कार्यक्रमको आयोजना गरी बालबालिकामा सम्मान भाव जगाउने र आम बालबालिका सरह सीमान्तकृत बालबालिकाको पनि अधिकार हुने विषयमा अभिमुखीकरण गरिने एक प्रेस विज्ञप्ति जारी गरी बताइएको छ ।

ग्लोबल डिग्निटीका कार्यकारी निर्देशक सिन्थिया गुएरले भन्नुभएको छ, ‘कोभिड– १९ का कारण सन् २०२० अविस्मरणीय वर्ष हुनेछ । यस महामारीले समाजमा रहेको असमानता र अन्यायको यथार्थ तस्वीर सार्वजनिक गरेको छ । यसले हरेक मानवको मूल्य अनुभूत गराउँदै समानताको आवश्यकता देखाएको छ । सम्मान, प्रेम र एकताको आवश्यकतालाई कोभिड महामारीले पुष्टि गरिदिएको छ ।’

सम्मान दिवससम्बन्धी कार्यक्रममा एक–आपसमा बुझ्न अभिप्रेरित गर्ने, सहिष्णुता, प्रेम बढाउने र सद्भावयुक्त समाजको विकास गर्ने, जीवनको मूल्य बुझ्ने–बुझाउने काम हुन्छ । यी कार्यक्रम विद्यालय, युवा तथा समुदाय केन्द्र, शरणार्थी शिविर र कार्यस्थलहरुमा आयोजना गरिन्छन् ।

ग्लोबल डिग्निटी नेपालका कन्ट्री अध्यक्ष भूषण दाहालले यस वर्षभरि नै शैक्षिक संस्थाहरुमा सम्मान कार्यशाला गोष्ठीको आयोजना गरिएको र सम्मानित जीवन जिउने संस्कारको विकास गर्न सघाउ पुगेको बताउनुभएको छ । यस्ता कार्यक्रमहरु जोसुकैले जहाँसुकै आयोजना गर्नसक्ने र यसका लागि ग्लोबल डिग्निटी डट ओआरजीबाट स्रोत सामग्री प्राप्त गर्नसकिने पनि दाहालले जानकारी दिनुभएको छ ।