मन्त्री र सांसद्को दशैंखर्च कोरोना कोषमा

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

चाडपर्व खर्चका रुपमा आएको बागमती प्रदेशको मन्त्रिपरिषद्का सदस्य र बागमती प्रदेशका नेकपाका प्रदेशसभा सदस्यको एक महिनाको रकम बागमती प्रदेश कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।हाम्रा महत्वपूर्ण चाडपर्वहरु शुरु भइसकेको अबस्थामा चाडपर्व खर्चका रुपमा आएकोे रकम बागमती प्रदेश कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको सामना गर्न प्रदेश सरकारका मन्त्रिपरिषद्का सबै सदस्य र नेकपाका तर्फबाट प्रदेशसभा सदस्यहरुको दशैंभत्ता कोरोना कोषमा जम्मा गरिने जानकारी दिनुभएको हो ।मुख्यमन्त्री पौडेलले देश हाल कोरोना संक्रमणका कारण महामारीको अबस्थामा रहेको भन्दै यस्तो अबस्थाको सामना सबैले मिलेर गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले काम गरिरहेको उहाँले जानकारी गराउनुभएको छ ।

प्रदेशसभामा सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ६६ जना र सो ६६ जनालाई ६० प्रतिशत मानी बाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ४४ जना गरी १ सय १० सदस्य हुने व्यबस्था छ । प्रदेशसभामा नेकपाको मात्र ८० प्रदेशसभा सदस्य छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले सांसद्हरुले पाएको दशैंभत्ता कोरोनाविरुद्ध सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय गरेपछि प्रदेशले पनि निर्णय गरेको हो । चर्को आलोचनाबीच नेकपा संसदीय दलको बैठकले दशैंभत्ता सरकारी कोषमा फिर्ता गर्ने निर्णय गरेको हो । प्रदेशमा नेपाली कांग्रेसले भने निर्णय गर्न बाँकी छ ।