सिन्धुलीका शक्तिपीठ र मन्दिरमा पुजाआजामा निषेधाज्ञा

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमलाई मध्यनजर राख्दैँ जिल्लाका शक्तिपीठ तथा मन्दिरहरुमा पुजाआजाका लागि निषेधाज्ञा जारी गरेको छ । शनिबारदेखि कात्तिक ९ गते राति १२ बजेसम्म नित्य पूजा बाहेक सर्वसाधारणलाई दर्शनका लागि निषेध गरेको हो ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जारी गर्नुभएको सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य÷गतिविधि गर्न निषेध गरिएको बताईएको छ । जिल्लाका शक्तिपीठ तथा मन्दिरहरुमा सर्वसाधारणको भीड अत्याधिक हुने भई कोरोना संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर उक्त निर्णय गरिएको हो ।

शुक्रबार जिल्ला सुरक्षा समितिले पनि जिल्लाका सबै पालिकामा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा घटस्थापना देखि नवमीको मध्य रात १२ बजेसम्म नित्य पूजा बाहेक दर्शनका लागि सर्वसाधारणलाई निषेध गर्न सिफारिस गरेको थियो । सोही बमोजिम जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३)तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप निषेधाज्ञा जारी गरिएको जनाएको छ ।