प्रहरी दिवस : बलात्कारका घटनालाई गम्भीरतापूर्वक लिन आग्रह

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संगठित एवम् जघन्य अपराध, महिला तथा बालबालिकामाथि हुने अमानवीय कार्यप्रति शून्य सहनशीलता अपनाउनु जरुरी रहेको भन्दै सोहीअनुसार अगाडि बढ्न प्रहरीलाई सुझाउनुभएको छ ।

उहाँले भन्नुभएको छ– ‘पछिल्लो समय महिला तथा बालबालिकामाथि भइरहेका दुव्र्यवहार, हिंसा तथा बलात्कारका घटनालाई गम्भीरतापूर्वक लिँदै अपराधीलाई कानुनी कठघरामा ल्याउन सशक्तढंगबाट प्रस्तुत हुनुपर्छ ।’

‘व्याबसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नेपाल प्रहरीको पहिचान हो । यसबाट प्रहरीले आफूप्रति तेर्सिएका प्रश्नको जवाफ दिन सक्दछ,’ उहाँले भन्नुभयो । उहाँले अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भएको ६५ औं प्रहरी दिवसमा आयोजित कार्यक्रममा उहाँले विषम् परिस्थितिमा समेत प्रहरी संगठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको उल्लेख गर्नुभयो ।

‘त्यसो त प्रहरी बर्दीसहितका सुरक्षाकर्मी हुन् भने नागरिक बर्दीबिनाका सुरक्षाकर्मी हुन् । यसर्थ, नागरिक प्रहरीको साझेदारी र समन्वयमा समाजमा आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा थप सफलता हासिल गर्न सकिन्छ,’ उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–मुलुकलाई संकट परेको बेलामा भुकम्प, महामारी, बाढीपहिरो लगायत प्राकृतिक प्रकोप तथा दुघर्टनामा उद्धार र मानवीय सहायता कार्य, गम्भीर अपराध अनुसन्धानमा प्रहरीले प्राप्त गरेको सफलता, पछिल्लो समय कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा प्रहरीले निर्वाह गरेको भूमिकाबाट स्पष्ट हुन्छ कि सीमित स्रोतसाधनबीच नेपाल प्रहरी आर्जनले गरेको विश्वास यसको व्याबसायिकता, देश र जनताप्रतिको जिम्मेवारीबोध र उत्तरदायित्वको भावनाबाट निर्देशित हुनुको प्रतिफल हो ।

कतिपय घटनाहरुका सन्दर्भमा प्रहरीको भूमिका र व्याबसायिकताप्रति प्रश्न उठ्ने गरेको भन्दै उहाँले नागरिक समाजबाट उठ्ने गरेका यस्ता प्रश्नलाई प्रहरी संगठनले आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । यसका लागि प्रहरी साँच्चिकै जनताका रक्षक हुन् भन्ने अनुभूति हुने गरी काम गर्नु जरुरी रहेको उहाँले औंल्याउनुभयो ।

विश्वव्यापी फैलिएको कोरोना महामारीले विगत भन्दा फरक र अनपेक्षित अबस्था सिर्जना भएको र हिजोका दिनमा प्रहरी संगठनले निर्वाह गरेको भूमिकालाई फरकढंगले आबश्यक स्वास्थ्य सुरक्षा मापदण्ड ख्याल गर्दै पूरा गर्नुपर्ने भएको छ भने नागरिकलाई समेत महामारीविरुद्ध जुध्न विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तय गरेको सुरक्षात्मक उपाय अवलम्बन गर्न/गराउन प्रहरीले भूमिका निर्वाह गर्नुपरेको उहाँले सुझाव दिनुभयो ।

मुख्यमन्त्री पौडेलले कोभिड–१९ को महामारीमा प्रहरी परिचालनलाई व्यबस्थित बनाउन तथा संक्रमणबाट प्रहरीलाई सुरक्षित राख्ने उद्धेश्यले बागमती प्रदेश प्रहरी कार्यालयले तयार गरेको ‘विषम् परिस्थितिमा प्रहरी परिचालन सम्बन्धी मार्ग निर्देशन, २०७७’ लोकार्पण गर्नुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नेपाल प्रहरी समायोजन हुने क्रममा रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशअन्तर्गत् कार्यरत् उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा कार्यरत् प्रहरी निरीक्षक शान्ता वाइबालाई, उत्कृष्ट ट्राफिक व्यबस्थापनतर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत् प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेलाई र विपद् उद्धारकतर्फको पुरस्कार इलाका प्रहरी कार्यालय मेलम्ची, सिन्धुपाल्चोकमा कार्यरत् प्रहरी जवान गंगा केसीलाई प्रदान गरिएको थियो ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत् नेपाल प्रहरीसँगको समन्वयमा उत्कृष्ट भूमिका निर्वाह गर्ने हेटौंडा उपमहानगरपालिकालाई कदरपत्र प्रदान गरिएको थियो । प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने मकवानपुरको कैलाश गाउँपालिकाका बमबहादुर स्यांतानलाई कदरपत्र प्रदान गरिएको थियो भने पूर्वप्रहरी नायब निरीक्षक विश्व आलेलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

वर्तमान संक्रमण जोखिममा आमनागरिकलाई पुर्‍याएको सेवाको उच्च मूल्यांकन गर्दै जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाको सभाध्यक्षतामा भएको हो ।